नेपाल उद्योग तथा व्यवसाय महासंघको राष्ट्रिय विस्तारित बैठक नौ बुँदे नवलपुर–चितवन घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ।
पुस १२ र १३ गते गैंडाकोटमा बसेको विस्तारित भेलाले वर्तमान समयमा उद्योग क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारलाई आग्रह गरेको छ।
केन्द्रीय भेलाका संयोजक डा. तिलचन्द्र भट्टराईले भृकुटीका कागज कारखानालगायत बन्द भएका देशका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पुनः सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गरिएको बताए।
व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत व्यवसाय सञ्चालन गर्न चाहे पनि विरोधाभासपूर्ण ऐन, कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले यो समस्याको समाधान गर्नुपर्ने भट्टराईले बताए।
राष्ट्रिय पुँजी निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना सार्थक बनाउन नेपालका आर्थिक समृद्धिका प्रमुख स्रोतहरू कृषि, पर्यटन, जलस्रोत, आइटी, खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गर्नुपर्ने उनले बताए।
घोषणापत्रमा नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाटधाम, नारायणी नदी, त्रिवेणीधामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
महत्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहोरजन्य पदार्थ बिसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रको रूपमा विकास गर्न माग गरिएको छ। त्यस्तै, कोरोला नाकासहित गण्डकी करिडोरलाई व्यवस्थित गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको भट्टराईले बताए।
भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको केरुङ रसुवागढी हुँदै माडी ठोरीसम्मको द्रूत मार्ग निर्माण गरी यो क्षेत्रलाई आन्तरिक र बाह्य व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाउन घोषणापत्रमार्फत अपिल गरिएको छ।
दुई ठूला प्रमुख राजनीतिक दलहरू सहभागी भई निर्माण भएको सरकारले छोटो समयमा नै आर्थिक क्षेत्रमा देखिएको अन्योलग्रस्त अवस्थालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने गरी आशाका किरणहरू प्रवाह गर्न थालेकोप्रति उद्योगी व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। अझै पनि लगानीको वातावरण निर्माण नभइसकेको भन्दै राष्ट्रिय भेलाले आर्थिक गतिविधिमा अवरोध ल्याउने विरोधाभासपूर्ण ऐन कानुन र नियमावली संशोधन गर्दै व्यवसायमैत्री कर प्रशासन ल्याउन माग गरेको छ।
दुई दिनसम्म चलेको भेलाले उद्योगी व्यवसायीहरुका वर्तमानका चुनौतीहरूलाई सामना गर्दै अवसरको रुपमा विकास गर्नसक्ने चुस्त दुरूस्त संगठन निर्माण गर्न विधान परिमार्जन गरेको महासंघका संयोजक भागिरथ सापकोटाले बताए। देशभरबाट करिब तीन सय ५० प्रतिनिधि सहभागी भएको भेलाको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए।