गत साता बिबिसीले विश्वभरिबाट 'सय प्रेरक र प्रभावशाली महिला' को नाम सार्वजनिक गर्यो।
यसमा नेपालकी शिलशिला आचार्य 'पर्यावरण र दिगो उद्यमी' को सूचीमा परिन्।
डेढ दशकदेखि वातावरणका क्षेत्रमा काम गर्दै आएकी शिलशिला यसरी 'प्रेरक र प्रभावशाली महिला' का रूपमा चिनिन पाउँदा आफू निकै उत्साहित भएको बताउँछिन्।
'यसलाई मैले एक व्यक्तिको सफलताभन्दा पनि राष्ट्रकै सफलताका रूपमा लिएकी छु,' शिलशिलाले भनिन्, 'वातावरणका क्षेत्रमा मैले गरेको काम विश्वले पनि हेरेको रहेछ भनेर खुसी लागेको छ।'
शिलशिला विगत पाँच वर्षदेखि 'अभनी भेन्चर्स' नामक कम्पनी चलाइरहेकी छन्। नकुहिने फोहोर प्रशोधन गर्ने यो कम्पनीमा हाल तीन सय जनाले काम गरिरहेका छन्। टोखामा रहेको कारखानामा उनीहरू फोहोर प्रशोधन गरी विभिन्न सामग्री बनाउँछन्।
'फोहोरमैला आफैमा समस्या होइन। हामीले नजानेर समस्या बनाएका हौं,' ३८ वर्षीया शिलशिलाले भनिन्, 'वातावरण र फोहोरमैलाका मुद्दामा हामी धेरै लड्यौं, संघीय सरकारदेखि स्थानीय तहसम्म पुग्यौं। तर प्रभावकारी ढंगले केही काम हुन सकेन। अब यो क्षेत्रमा युवालाई संलग्न गराउँदै छौं।'
शिलशिलाले वातावरणका क्षेत्रमा काम गर्नेबारे पहिल्यैदेखि सोचेकी होइनन्।
उनका आमाबुबाको सपना छोरीलाई डाक्टर बनाउने थियो। शिलशिलाले पनि यही नै सोचेकी थिइन्। सन् २००४ मा उनी एमबिबिएस तहको तयारी कक्षामा भर्ना भइन्। कक्षा चलिरहँदा किन हो, आफ्ना लागि डाक्टरबाहेक अर्को कुनै उपयुक्त क्षेत्र पनि छ कि भन्नेतिर उनको ध्यान गयो। चासो राखेर खोजी पनि गरिन्।
यही क्रममा जलवायु परिवर्तनको कुराले उनको ध्यान खिच्यो।
तयारी कक्षा सकेर करिब एक वर्षमा उनी एमबिबिएस प्रवेश परीक्षामा सहभागी भइन्।
'परीक्षा सफल भयो, सरकारी वृत्तिमा भर्ना पाउने भएँ। तर यतिन्जेलमा म चिकित्सा शिक्षा नपढ्ने र वातावरणका क्षेत्रमा काम गर्ने निष्कर्षमा पुगिसकेकी थिएँ,' उनले भनिन्, 'अठोट गरिसकेकाले आँट गरेर आमाबुबालाई भनेँ। चार वर्ष पढ्ने खर्च जुटाइदिनुहोस्, त्यसपछि आत्मनिर्भर हुन्छु भनेर आग्रह गरेँ। गाह्रै भयो तर मनाएरै छाडेँ।'
यसपछि शिलशिला डाक्टर बन्ने बाटो छाडेर वातावरण विषय पढ्न काठमाडौं विश्वविद्यालयमा भर्ना भइन्। चार वर्ष पढाइ पूरा गर्दा उनले विश्वविद्यालयमा दोस्रो उत्कृष्ट स्थान हासिल गरिन्। राष्ट्रपतिका हातबाट पदक पाइन्।
लगत्तै नर्वे सरकारको छात्रवृत्ति कार्यक्रममा एक नम्बरमा छनोट भइन्। विश्व वन्यजन्तु कोष, नेपाल कार्यक्रमबाट 'चन्द्र गुरूङ मेमोरियल फेलोसिप' पनि पाइन्।
उनी स्नातकोत्तर तहको पढाइका लागि नर्वे पुगिन्।
'एकदमै खुसीको पल थियो त्यो। मेहनत गरेर पढ्ने र स्वदेश फर्केपछि वातावरण क्षेत्रमा केही राम्रो गर्ने काम हुटहुटी थियो। त्यही सपना बोकेर नर्वे पुगेँ,' उनले भनिन्।
नर्वेको युनिभर्सिटी अफ बर्गनबाट 'जैविक विविधता र वातावरण व्यवस्थापन' विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गरेर उनी सन् २०११ मा फर्किन्। वातावरणलाई सामाजिक र आर्थिक क्षेत्रसँग जोडेर काम गर्ने, वातावरण संरक्षणमा मद्दत गर्ने उनको अठोट थियो।
त्यसै अनुसार 'भक्तपुर ग्रीन हाइवे अभियान' सुरू गरेको उनले बताइन्।
सन् २०१३ मा उनी वातावरण र उद्यमशीलताको क्षेत्रमा काम गर्ने संस्था 'हिमालयन क्लाइमेट इनिसिएटिभ' मा आबद्ध भइन्। सँगै 'हाम्री बहिनी' नामको संस्था खोलेर सामाजिक उद्यम सुरू गरिन्।
'व्यक्तिले मात्र काम गर्न सम्भव थिएन। जे काम गर्न पनि संस्था चाहिन्थ्यो। केही साथीहरू मिलेर संस्था खोल्यौं र त्यसैमार्फत काममा अघि बढ्यौं,' उनले भनिन्।
हाम्री बहिनीले प्लास्टिकको झोला विस्थापन गर्न विपन्न र निम्न आय भएका महिलालाई कपडाको झोला बनाउन लगायो। काठमाडौंका सुपरमार्केटहरूमा पुर्यायो।
'प्लास्टिकले वातावरण प्रदूषित बनाउँछ। फ्याँकिएका प्लास्टिक संकलन गरेर रिसाइकल गर्न महँगो पर्छ। प्लास्टिक नै विस्थापन गर्नुपर्छ भनेर हामीले कपडाको झोला बनाउने अभियान सुरू गर्यौं,' शिलशिलाले भनिन्, 'यसमा धेरै दिदीबहिनीले रोजगारी पाउनुभयो। हाम्रो उद्देश्य पनि प्लास्टिक झोलाको प्रयोग घटाउनु र दिदीबहिनीका लागि रोजगारी सिर्जना गर्नु थियो।'
यो अभियानमा भाटभटेनी सुपरमार्केटले राम्रो साथ दियो। कपडाको झोला बिक्री र प्रयोग बढ्यो। बिस्तारै हाम्रो बहिनीसँगै अन्य संघसंस्थाले पनि त्यस्तै झोला बनाउन थाले।
यसपछि शिलशिलाले फोहोरको क्षेत्रमा काम थालिन्। उनले सडकमा फ्याँकिएका प्लास्टिक बोतल संकलन गरेर रिसाइकल गरिन्। यो काम नेपालमा सम्भव नभएकाले संकलित बोतल भारत पठाउँथिन्। रिसाइकल भएर बनेको सामान यता ल्याउँथिन्।
दुई वर्ष यो काम गरेपछि उनले आफ्नै कम्पनी खोल्ने निधो गरिन्। कोरोना महामारीमा फोहोर व्यवस्थापन हुन नसकेको देखेर उनलाई फोहोर किनेर, प्रशोधन गरेर, नयाँ स्वरूपमा बेच्ने कम्पनी खोल्ने आइडिया आएको थियो।
'फोहोर व्यवस्थापनको काम कठिन हुन्छ तर रोजगारी सिर्जना र आम्दानीको सम्भावना राम्रो छ। यो क्षेत्र राम्ररी बुझ्न सक्दा धेरै काम गर्न सकिन्छ,' उनले भनिन्, 'मैले आफ्नो सबै योजना श्रीमान सुशील खड्कालाई सुनाएँ। हाम्रो सल्लाह मिल्यो र लगानी गर्यौं।'
यसरी अभनी भेन्चर्स सुरू भएको हो। कम्पनीको आर्थिक पाटो सुशीलले हेर्छन् भने वातावरणीय पाटो शिलशिलाको जिम्मामा छ।
कम्पनीले उद्यमीहरूसँग मिलेर काठमाडौंबाहेक अन्य सहरमा पनि काम गर्छ। यो कम्पनीका आठ वटा प्रशोधन केन्द्र छन् जहाँबाट सयौं टन फोहोर व्यवस्थापन हुन्छ।
'कम्पनीमा केही मेसिन छन् जसको मद्दतले कर्मचारीले कम मेहनतमा फोहोर वर्गीकरण गर्छन्। वार्षिक पाँच हजार टन फोहोर रिसाइकल हुन्छ,' शिलशिलाले भनिन्।
यसरी फोहोर व्यवस्थापनमा सरकारसँगै निजी क्षेत्र र युवापुस्ता आउनुपर्छ भन्ने उनको मान्यता छ।
'सबै सहर र स्थानीय तहमा त्यहाँकै उद्यमीले काम गरेर फोहोर व्यवस्थापन गर्न र त्यसैबाट आम्दानी गर्न सक्छन्,' उनी भन्छिन्, 'टोखामा हामीले गरेको काम एउटा उदाहरण हुनसक्छ। देशभर यस्तो काम भए वातावरण स्वच्छ हुन्छ। आम्दानी पनि हुन्छ।'