सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा लामो समयदेखि किचलो भइरहेको थियो।
अध्यक्ष पदमा करिब १९ जनाको आवेदन परेको भए पनि छानिएका पाँच जनामध्ये तीन जना अनुपिस्थत रहँदै आएपछि यो प्रक्रिया लामो समयदेखि अड्किँदै आएको थियो।
पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेको थियो।
अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेपछि सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
नयाँ प्रक्रिया सुरू नगर्न अदालतले आदेश दिएपछि पुरानै प्रक्रियालाई निरन्तरता दिने प्रयास गरिएको थियो।
सरकारले बोर्ड अध्यक्ष छान्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो।
करिब एक वर्षदेखि धितोपत्र बोर्डको अध्यक्षको पद रिक्त छ।