यहीँ मंसिर १० गतेदेखि सुर्खेत विमानस्थलमा उडान बन्द हुने भएको छ। धावनमार्ग (रनवे) मर्मतका लागि २५ दिनसम्म विमानस्थलमा हुने सबै उडानहरु बन्द गर्न लागिएको हो।
धावनमार्ग मर्मतका लागि मंगलबार ईञ्जिनियरको टोली सुर्खेत आउन लागेको नागरिक उड्यन प्राधिकरण सुर्खेतले जनाएको छ।
अहिले गरिने मर्मत नियमित मर्मत कार्यअन्तर्गत भएको प्राधिकरणले जनाएको छ।
सुर्खेतबाट साविकको कर्णालीका जिल्लामा हुने उडानसमेत प्रभावित हुने भएका छन्।
यस्तै काठमाडौंबाट सुर्खेतका लागि हुने सिँधा हवाई उडान पनि प्रभावित हुने भएको छ। यसका लागि बुद्ध एअरले नेपालगञ्जमा अतिरिक्त उडान गर्न लागेको छ।
काठमाडौं–सुर्खेत बुद्ध एअरको एक मात्र जहाजले उडान भर्दै आएको छ।
‘धावनमार्ग बन्द हुने भएपछि हामीले सुर्खेतलाई लक्षित गरेर नेपालगञ्जमा एउटा उडान थप गरेका छौं,’ बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले भने, ‘हरेक दिन पाँच बजेपछि नेपालगञ्ज एउटा थप उडान हुनेछ।’
बुद्ध एअरका पाँच वटा जहाजले काठमाडौं–नेपालगञ्ज उडान भर्दै आएका छन्। सुर्खेत विमानस्थलको धावनमार्ग बन्द हुने भएपछि अब नेपालगञ्जमा बुद्ध एअरले छैठौं जहाज पनि पठाउने भएको छ।
जहाज उडान तथा अवतरण नभए पनि सुर्खेत विमानस्थलमा हेलिकप्टर भने नियमित अवतरण गर्न सक्नेछन्।