खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित सम्बन्धित कार्यालयबाट कर्णालीमा वितरण गर्नेगरी साउन १५ देखि भदौ १५ को बीचमा बासमती चामल सुर्खेत पठायो।
त्यो अवधिमा १ हजार ९ सय ९० क्विन्टल बासमती चामल सुर्खेत आइपुग्यो।
अहिलेसम्म त्यसमध्येको १५ क्विन्टल चालम बिक्री भइसकेको छ। अब १ हजार ९ सय ७५ क्विन्टल सुर्खेतस्थित डिपोमा स्टक छ। उक्त स्टक रहेको चामललाई तत्कालका लागि बिक्री गर्न रोक लगाइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालयबाट सुर्खेत पठाइएको उक्त चामल खानयोग्य नभएको विषय सञ्चार माध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले वितरण गर्न रोक लगाएका हुन्।
खाद्य कम्पनीको थापाथलीमा रहेको चामल गोदामका कर्मचारीको लापरबाहीले गोदाम नम्बर २४ र ३० मा राखिएको ४८७ मेट्रिक टन बासमती चामल कुहिएको समाचार सञ्चार माध्यममा आएको थियो।
पछिल्लो पटक त्यसमध्येको केही चामल कर्णालीमा पठाइएको विषय पनि सञ्चार माध्यममा आएको थियो।
‘मिडियामा कुहिएको बासमती चामल सुर्खेत पठाएको भनेर आएको थियो, त्यस अनुसार हामी खाद्य व्यापार कम्पनीको सुर्खेत कार्यालयमा हेर्न गएका थियौं,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिडन कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले भने, ‘हामीले झट्ट हेर्दा त त्यस्तो बिग्रिएकोजस्तो देखिएन, तर काठमाडौंमा बिग्रिएको भनिएको गोदामहरूमा त्यो चामल छ कि छैन भनेर अनुगमन गर्ने बेलासम्मका लागि उताबाट आएको त्यो चामल वितरणमा रोक लगाएका छौं।’
गोदाममा थन्किएर खानयोग्य नभएको चामल यता आएको समाचार आएपछि सुर्खेतको गोदाममा रहेको उक्त चामल बिक्री गर्न रोक लगाइएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।
‘रिपोलिसिङ गरी सुर्खेत पठाएको भन्ने कुरा सही हो वा होइन भन्ने यकिन गर्न हामीले गुण नियन्त्रण कार्यालयलाई भनेका छौं, उहाँहरूको समन्वयमा माथिबाट यसको यकिन नभएसम्मका लागि त्यो चामल बिक्री हुँदैन,’ महतले भने।
यस विषयमा अनगुनम गरी जानकारी पठाउन बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई लेखी पठाएको सुर्खेतस्थित गुण नियन्त्रण कार्यालयका प्रमुख थापाले बताए।
२४ र ३० नम्बर गोदाममा बिग्रिएर थन्किएको चामल अहिले त्यहाँ छ वा छैन भन्नेबारे अनुगमन गरी विभागले जानकारी पठाउने उनले बताए।
विभागबाट यस बारेमा जानकारी कुर्ने भन्दै गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले गोदामबाट स्याम्पल भने उठाएको छैन।
‘बिग्रिएको वा कुहिएको चामल धुलो पर्छ, हामीले हेर्दा त्यो चामल त्यस्तो देखिएन। सामान्य टुक्रिएको चामल त सबैमा पाइन्छ,’ थापाले भने, ‘हामीले अहिले तत्कालका लागि त्यो चामलको स्याम्पल उठाएका छैनौं, यदि उताबाट स्टक रहेको चामल हो भनेर जवाफ आयो भने हामीले त्यसपछि स्याम्पल उठाएरै परीक्षण गर्नुपर्ने हुन्छ।’
काठमाडौंको गोदाममा रहेको बासमती चामल बिग्रिएपछि कर्मचारीको मिलेमतोमा त्यसलाई रिपोलिसिङ गरी सुर्खेत पठाएको विषय सञ्चार माध्यममा आएको छ।
‘सुर्खेतमा पठाएको त्यो चामलको बारेमा अख्तियारले पनि छानबिन गरिरहेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि खान नमिल्ने भनेको कुरा आएपछि हामीले यहाँका सरोकारवाला निकायलाई भनेका हौं,’ उपभोक्ता हित संरक्षण मञ्च कर्णाली प्रदेशका कोषाध्यक्ष विन्दूलाल रेग्मीले भने, ‘हामीले हेर्दा नराम्रो पनि भेटिएन, तर बोरामा दुई/चार किलो राम्रो चामल मिलायो भने त्यो खासै थाहा नहुने रहेछ।’
काठमाडौंको गोदाममा बिग्रिएको भनिएको चामलको परिमाण त्यही गोदाममै छ वा घटेको छ भन्ने बारेमा उपभोक्ता संरक्षण मञ्चले पनि अनुसन्धान गर्ने उनले बताए। त्यसको लागि मञ्चको केन्द्रीय कमिटीसँग पनि सहयोग मागिएको रेग्मीले बताए।
चाडवाडका बेला धेरै खपत हुने खाद्यान्नमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी खेलवाड गरिएको समाचार बाहिर आएकाले यसमा सत्य छानबिन हुनुपर्ने उनले बताए।
अन्य बेला तराईका जिल्लाहरू वीरगञ्ज, लहान, धनगढी, नेपालगञ्ज, बर्दिया लगायतका ठाउँबाट सुर्खेत चामल ल्याउने गरिएकोमा यो पटक काठमाडौंबाट आएपछि पनि यसमा शंका गर्ने बाटो बनेको छ।
यसअघि कर्णालीका लागि भनेर बासमती चामल आउथेन। अरुवा मोटो, जिरा मन्सुली जस्ता चामल कर्णालीका लागि तराईका जिल्लाबाट आउने गरेको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख माधव मिश्रले काठमाडौंबाट कुहिएको चामल फेरि रिपोलिसिङ गरेर आएको कुरा सही नभएको बताएका छन्।
‘कर्मचारीको मिलेमतोमा खानयोग्य नभएको चामल कर्णालीमा पठाएको विषय उठेको छ, कर्मचारीको मिलेमतो हो भनेर त भन्न सकिन्न,’ उनले भने, ‘चामलकै विषयमा पनि खान लायक छैन भन्ने छ, हामीले कार्यालयको भान्सामा पनि त्यही चामल पकाएर खाने गरेका छौं। त्यस्तो खानै लायक नभएको होइन।’
अहिले काठमाडौंबाट सुर्खेतमा बासमती चामल ल्याउन सुर्खेत कार्यालयबाटै माग गरिएको मिश्रले बताए। अब कर्णालीमा पनि सस्तो मूल्यमा बासमती चामल दिऔं भन्ने उद्देश्यले काठमाडौंबाट मगाइएको उनले बताए।
‘हाम्रो ट्रकहरू बर्दियाबाट गहुँ लिएर काठमाडौं जान्छन्, काठमाडौं गएका ट्रकहरू रित्तै फर्काउनुभन्दा सुर्खेतका लागि बासमती चामल पठाइदिऔं भनेर त्यही बेला ती ट्रकमा हालिएको हो,’ मिश्रले भने, ‘अर्को कुरा हामी हौसिएर अब कर्णालीमा पनि बासमती वितरण गर्नुपर्छ भनेर मागेको भएर नै उताबाट हामीलाई यो चामल पठाइएको हो।'
अहिले आएको चामलको विषयमा नकारात्मक कुरा उठेकाले केही दिनसम्म छानबिन गर्दा बिक्री रोकिएको उनले बताए।
१ हजार ९७५ क्विन्टल बासमती चामल बिक्री गर्न रोकिएपछि खाद्य व्यापार कम्पनीको कर्णाली प्रादेशिक कम्पनीमा अन्य चामल मौज्दात रहेकाले तत्काल अभाव भने नहुने उनले बताए।