नागरिक लगानी कोषमा १ खर्ब बढी मौजदात


नागरिक लगानी कोषका विभिन्न कोषहरुमा हुने मौजदात अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढेको छ। २८ औं वाषिकोत्सवको अवसरमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरलेलले दिएको जानकारीअनुसार कोषले चालु वर्षको यो अवधिमा १ खर्ब १ अर्ब ४६ करोड रुपैयाँ संकलन गरेको छ।

विभिन्न ११ प्रकारका स्किमहरु चलाएको कोषले पछिल्लो समय दक्षिण कोरियामा कार्यरत नेपालीहरुबाट पनि बचत संकलन गराइरहेको पोखरेलले जानकारी दिए।

कोषले हाल अवकाश कोष, सावधिक बीमा कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजनाजस्ता स्किम चलाइरहेको छ।

२०४८ साल चैतमा स्थापना भएको कोषले हालसम्म सरकारी, सार्वजनिक र निजी क्षेत्रका विभिन्न ४८ हजार बढी कार्यालयका ६ लाखभन्दा बढीबाट बचत संकलन गरिरहेको छ। उसले नेपालका सबै जिल्लामा सेवा संचालन गरिरहेको छ।

हाल संचालनमा रहेका कोषहरुमा सुधार गर्ने र आगामी दिनहरुमा बढी बचत संकलन गर्न रचनात्मक कोषहरु ल्याउँदै जाने कार्यकारी निर्देशक पोखेरलको भनाइ छ।

‘हामीले विगतका कतिपय कमजोरीलाई सुधार गर्दै आइरहेका छौं’उनले भने,‘दीर्घकालिन बचत संकलन र लगानीका लागि रणनीतिक रुपमा नयाँ स्किमहरु पनि चाँडै ल्याउने छौं।’

विदेशबाटै नेपालीलाई लगाानी गर्न उत्प्रेरणा दिनको लागि विप्रेषण बचत सुरु गरिएको र यसलाई विस्तार गर्ने उनको भनाइ छ।

त्यस्तै बचतलाई दीर्घकालिन बनाएर ठुला आयोजनाहरुमा दीर्घकालिन लगाानी गर्ने र त्यसको लागि कोष सक्षम रहेको पोखरेलले जानकारी दिए।
‘हामी ठुला तथा मझौला आयोजनामा क्यापिटल इन्टेसिभको पूर्ति गर्न तयार छौं त्यसको लागि विदेशी साझेदार र नेपाली निकायहरुसँग सँगै गएर नेतृत्व लिन पनि तयार छौं’ वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा उनले भने।

ठुलो कारोबार गर्ने निकाय भएर पनि आफ्नै भवन नभउको कोषले आफ्नै जमिनमा व्यवसायिक भवन बनाउने योजना पनि बनाएको छ।

नागरिक लगानी काेषमा  वित्तीय स‌ंस्थाहरुकाे २०, सर्बसाधारणकाे २०, विमा संस्थानकाे २७, नेपाल सरकारकाे १० र नेपाल स्टक एक्स्चेन्जकाे १० प्रतशित सेयर स्वामित्व छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.