कलेजो कसरी बिग्रिन्छ, जोगाउन के गर्ने?


कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ।

यसका काम अनेकौं हुन्छन्। यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो।

हामीले खाएको खाना कलेजोमा जान्छ र सुगर तथा पोषिलो तत्व बढेको हुन्छ। नखाएका बेलाका लागि पनि यसले ‘व्यालेन्स’ गरिराखेर व्यवस्थापन गर्छ।

केही हानिकारक कुरा खाइएमा त्यसलाई फाल्ने काम पनि कलेजोले गर्छ। हामीले खाएका औषधी कलेजोमा गएर मेटाबोलाइज हुन्छन्।

हाम्रो रगतमा हेमोग्लोविन हुन्छ जसले अक्सिजन लिन्छ। यसलाई रातो बनाउने काम रक्तकोषिकाले गर्छन् जो १ सय २० दिनमा मर्छन्। रक्तकोषिकाहरु मरेपछि हेमोग्लोविन पहेंलो पदार्थमा परिणत हुन्छ। यसलाई ‘कन्जुकेट’ गरेर फाल्ने काम कलेजोले गर्छ।

कलेजोको समस्याः
कलेजो एउटा सिंगो अलग प्रकारको अंग हो। यसमा बिभिन्न समस्या आउन सक्छ, कुनै पनि कारणले बिग्रिन सक्छ।
कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ। यो अल्पकालिन र दीर्घकालिन दुवै हुन सक्छ। कुनै विशेष कारणवश् सात दिनदेखि दस दिनमा समस्या आएमा त्यो अल्पकालिन हुन्छ।

उदाहरणका रुपमा, एकै दिनमा कसैले धेरै पारासिटामोल खाए त्यसले कलेजोमा हानी गर्छ। त्यो बेलामा कलेजो बिग्रिन सक्छ जो उपचार पछि निको हुन्छ। छ महिनाभन्दा बढी नरहनेलाई अल्पकालिन हेपाटाइटिस भनिन्छ।

हेपाटाइटिस ‘ए’ र ‘इ’ सरुवा हुन्छन् जसलाई जण्डीस पनि भनिन्छ। यो पानीबाट सर्छ जसले कलेजो संक्रमण गर्छ। एकदेखि तीन महिनासम्ममा आफंै हराएर जाने पानीबाट सर्ने हेपाटाइटिस हो।

हेपाटाइटिस ‘बि’ र ‘सी’ले भने लामो समय दुःख दिन्छन्। किटाणु शरीरमा रहेसम्म यसले कलेजो बिगार्ने काम गरिरहन्छ। यसलाई दीर्घकालिन हेपाटाइटिस भनिन्छ।

अल्पकालिन हेपटाइटिस (जण्डिस) मा खान मन नलाग्ने, वाकवाक लाग्ने हुन्छ। दीर्घकालिनमा यस्तो लक्षण देखिदैंन। यसले त धमीराले काठ खाएझैं विस्तारै हानी गर्छ। खोक्रो बनाइसकेपनि दसौं वर्षसम्म थाहा नहुन सक्छ। कलेजो कडा हुँदै जान्छ भने कालान्तरमा क्यान्सर वा कलेजो फेल हुन सक्छ।

हिजोआज कलेजोमा बोसो जम्ने समस्या देखिन थालेको छ। यो बोसोले कलेजोलाई बिस्तारै–बिस्तारै हानी गर्छ। यसले १५–२० वर्षमा कलेजो फेल गराउने वा क्यान्सर हुने सम्भावना बढ्छ। दैनिक वा लामो समयसम्म अत्यधिक रक्सी सेवन गरेमा हेपाटाइटिस हुन्छ।

उपचारः
कलेजो बिग्रेको कारण अनुसार यसको उपचार गर्नुपर्छ। रक्सी वा कुनै औषधिका कारण कलेजो खराब भएको भए पहिले ती कुरा खान बन्द गर्नुपर्छ। राम्रो खाना र आराम भयो भने बिस्तारै समस्या कम हुँदै जान्छ।

हेपटाइटिस ‘ए’ र ‘इ’ तीन महिनाभित्र सामान्य हुँदै जाने भए पनि यो समयमा राम्रो आहार लिनुपर्छ। सुरुमा केही औषधि खान परे पनि पछि पर्दैन।

दीर्घकालीन हेपाटाइटिसमा पनि कारण पत्ता लगाई उपचार गरिनुपर्छ। कारण रक्सी भए बन्द गरेर वा कलेजोमा बोसो जमेको भए तौल घटाएर उपचार गर्नुपर्छ। बोसो जमेको भए चिल्लो कम खाने, व्यायाम गर्ने र आवश्यक परेमा औषधि पनि खानुपर्छ।

लापरबाही गरे के हुन्छ?
हेपाटाइटीस हुँदा लापरबाही गर्नुहुँदैन। अल्पकालिन खालेमा जथाभावी जडीबुटी औषधी खाने वा अनावश्यकरुपमा खाना बार्ने गरेमा निको हुन समय लाग्छ।

कहिलेकाँही जडीबुटीले पनि कलेजो खराब गर्न सक्छ। त्यसैले जन्डिस हुँदा कलेजो बिग्रिने धेरै हुन्छन्। यस्तो बेलामा खाना बार्ने पनि होइन बरु राम्रो र पोषिलो खानुपर्छ।

कलेजो बिग्रिएको बेला यसलाई चाहिने पोषण नभए झनै समस्या समाधान हुँदैन। जथाभावी औषधि खाने वा हेलचेक्र्याँइ गरेमा कलेजो सुन्निने, रगत नै वान्ता हुने लगायतका समस्या आउँछन्। त्यो अवस्थामा कलेजोले काम गर्न छाडेको हुन्छ।
तर, यस्तो अवस्थामा पुग्न कलेजो बिग्रेदेखि १५–२० वर्ष लाग्छ। जसको उपचार भनेको कलेजो फेर्नु हो।

त्यसैले यहाँसम्म पुग्नुअगावै जाँच गराउनुपर्छ। समयमै कलेजोको समस्या पहिचान र उपचार गर्न सकियो भने यसलाई जोगाउन सकिन्छ।

कसरी थाहा पाउने?
समान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन। कलेजो बिगार्ने कीटाणु बिस्तारै सक्रिय हुन्छन्। तर कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण भने देखिन्छन्।

कलेजोले कामै नगर्ने भएपछि भने जन्डीस बढ्ने, रगत वान्ता हुने, पेट सुन्निने र त्यहाँ पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् जुन दीर्घकालिन हेपाटाइटिसका लक्षण हुन्।

अल्पकालिन हेपाटाइटिसमा भने केही दिन खाना अरुचि हुने र पेटको माथिल्लो भागमा दुख्ने हुन्छ। यो दुई–तीन हप्तामा विस्तारै सुधार हुँदै जान्छ। यसमा लक्षण चाँडो देखिन्छ र निको पनि चाँडो नै हुन्छ।

कलेजो कसरी जोगाउने?
कलेजोको समस्या हुन नदिन अत्यधिक रक्सी खानु हुँदैन। कहिलेकाँही खाने गरेपनि लतका हिसाबमा दैनिक र धेरै भने खानु हुँदैन।

बेलाबखत हेपाटाइटिस ‘बि’ जाँच्नुपर्छ। सामान्य मानिसमा पनि यो हुनसक्छ। यो सर्ने सम्भावना १५ वर्ष मुनिकालाई बढी हुन्छ भने गर्भवती वा दूध खुवाउने आमाबाट बच्चालाई पनि सर्छ।

नेपाल सरकारले हेपाटाइटिस ‘बि’ को भ्याक्सिन दिने गरेको छ। त्यसैले अबका पुस्ताका बच्चालाई यसको सम्भावना निकै कम छ। यो खोप नलगाउनेले भने एकपटक परीक्षण गर्नु राम्रो हुन्छ।

हेपाटाइटिस ‘सी’को कुरा गर्दा यो सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ताबाट सर्छ। जथाभावी सुई लगाउने वा ट्याटु खोप्ने गर्दा सर्न सक्छ। शरीरमा अरुको रगत चढाउँदा पनि परीक्षण गरेर मात्र गर्नुपर्छ।

कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ।

त्यस्तै डाक्टरको सल्लाह बिना औषधि कहिल्यै खानु हुँदैन र पानी सकेसम्म उमालेर वा राम्ररी शुद्धीकरण गरेर मात्र खानाले पनि यसबाट बच्न सकिन्छ।

प्रस्तुतीः सन्जीब बगाले

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.