‘पैसाको अभावमा ग्रिनसिटी अस्पतालमा कसैको पनि उपचार रोकिँदैन’


काठमाडौं‌को धापासीमा रहेको ग्रिनसिटी अस्पतालले विशेषज्ञ चिकित्सकिय सहितका विभिन्न उपचार सेवाहरु दिँदै आएको छ। २०६९ सालमा स्थापना भएको एक सय शैयाको उक्त अस्पतालले नेपाल सरकारले तोेकेको शुल्कमा विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको बताएको छ। त्यस्तै विपन्न, गरिबहरुलाई महंगो पर्ने शल्याक्रिया निशुल्क पनि गर्ने गरेको छ। आजसम्म १३ जना त्यस्ता बिरामीहरुको ओपन हर्ट सर्जरी निशुल्क गरिएको अस्पतालले जानकारी दिएको छ। देशका विभिन्न स्थानमा गएर स्वास्थ शिविर पनि गर्दै आएको उक्त अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनसँग सेतोपाटीले गरेको कुराकानीको अंशः

ग्रिनसिटी अस्पतालबाट कस्ताकस्ता सेवाहरु पाइन्छ?

नेपालमा हुने सबै उपचार सेवाहरु यहाँबाट पाइन्छ। मानिसको सबै शरीर प्रायः दुई अंगबाट चलेको हुन्छ। तर, मुटु एउटा हुन्छ। त्यसको पनि यहाँबाट सर्जरी हुन्छ। भनेपछि यहाँबाट हामीले सबै सेवा दिन्छौं।

अस्पताल खोल्ने तपाईंको सोच कसरी आयो?

हामीले अस्पताल खोलेको पाँच वर्ष भयो। नेपालमा राम्रो अस्पताल बनाउन सकियो भने नेपालबाट बाहिर जाने पैसा केही कम हुन्थ्यो भन्ने हो। नेपालबाट बाहिर जाने पैसामा बढी एउटा उपचार र अर्को शिक्षामा हो। त्यो कुरा अहिलेसम्म सरकारले बुझेको छैन। अहिले पनि नेपालका ५१ प्रतिशत बिरामीहरु भारतमा उपचार गर्न जान्छन्। त्यसैले हामीले यो उपचारको लागि बाहिर जाने पैसा नेपालमै रोक्नुपर्छ भनेर अस्पताल स्थापना गरेका हौं।

सबैले उपचार पाउनको लागि के हुनुपर्छ?

मैले अस्पताल खोल्नुभन्दा पहिले र खोलिसकेपछि पनि विश्वका विभिन्न मुलुकुहरुमा गएँ, त्यहाँका अस्पतालको अध्ययन गरें। र, त्यहाँ हुने उपचार पद्धति र त्यसको भुक्तानी प्रणालीसमेतको मैले अध्ययन गरे तर त्यहाँ बिरामी उपचार गरेर फर्केपछि बिल उसको घरमा पुग्छ पैसा उसले तिर्नुपनि पर्दैन।

तर यहाँ निजी क्षेत्रमा खोलेका अस्पतालले लगानी गरेका हुन्छौं, बैंकको ब्याज तिुर्नपर्छ, घरको भाडा तिर्नुपर्छ, स्टाफलाई तलब पनि यहीँबाट दिनुपर्छ। तर, नेपाल सरकारले दश प्रतिशत निशुल्क उपचार गर्नुपर्छ भनेको छ। त्यसको कुनै मापदण्ड वा किटानी पनि छैन। कस्तो रोगलाई गर्ने? कस्तो विरामीलाई गर्ने? भनेर तोकिएको छैन। त्यही पनि अस्पष्ट छ। हामीले निश्चित मापदण्ड छुट्टिनुपरो भनेका छौं।

फेरि अर्को कुरा, अस्पतालले मात्र बिरामीलाई बचाउने र मान्छेको गरिबीको एकमात्र कारण उपचार र उपचारकै कारण गरिब हुने पनि होइन। फेरि, विभिन्न प्रकारका कर त अस्पतालले पनि तिरेका छन् अनि सरकारले यो क्षेत्रलाई कर नै नतिरेको जस्तोगरी पक्षपात गरेजस्तो हामीलाई महसुस भएको छ। यही कारण निजी क्षेत्रका अस्पतालहरु त्यो दश प्रतिशत पनि गर्न मानिरहेका छैनन्। अहिले नेपालमा सय बेडभन्दा बढीका अस्पताल जम्मा २६ वटा मात्र छन्। हामीले गर्न खोजेको कुरा र सरकारले भनेको कुरामा कुनै तालमेल भएको छैन।

तपाईहरुले नि:शुल्क उपचार कसरी गर्नुहुन्छ? पहिचान कसरी गर्नुहुन्छ?

यसमा बिरामीहरु अस्पताल आएपछि त्यो मान्छे वास्तविक गरिब हो, जसको केही पनि छैन भन्ने प्रमाणित भएमा। जस्तो ओखलढुंगाकै पोखारा गाविसबाट आएका लिला बिक, लोकमाया बिककै कुरा गरौं। उनीहरुको घरमा म पुगेको छु। उनीहरुको घरमा वास्तवमै गरिबी छ। त्यस्तै पत्रपत्रिकामा आएका खबर पनि हाम्रा आधार हुन्छन्। १३ वर्षसम्म पेटमा दिशा बोकेर बस्दा उसको गरिबी र रोगको बारेमा कसैको आँखा पुगेन। मैले देखे र उपचार पनि सफल भयो। त्यो उपचारमा सहयोगी हुँदा मलाई जीवनकै सबैभन्दा राम्रो काम गरेको अनुभव भएको थियो। र, म त्यस्तै गरिबहरुको उपचार अझै गर्न चाहन्छु। कुनै पनि बिरामी जो पैसाको अभावमा उपचार गर्न सकिरहेको छैन भने हाम्रो अस्पतालमा उसको उपचार रोकिँदैन। त्यो कुरा हामीले यसअघि पनि गरिसकेका छौं।

समग्रमा, हामीले उपचारको लागि आउने तर पैसाको अभाव छ भनेर प्रमाणित भएमा हाम्रोबाट हुने उपचार निशुल्क गर्छौं। आफैं खबर पाएर त्यहीँ गएर हेरेर पनि ल्याउँछौं र त्यसरी आउँदा कुरुवालाई समेत खान बस्नको व्यवस्था हामीले गर्छौं। त्यस्तै, शिविरको क्रममा भेटिएमा पनि हामी यहाँ ल्याएर उपचार गराउछौं। चार लाखभन्दा बढी खर्च लाग्ने मुटुको अप्रेशन पनि हामी निशुल्क गराउछौं।

स्वास्थ्य शिविर कसरी र कहाँकहाँ राख्नुहुन्छ?

गएको केही समय अगाडिमात्र पनि ग्लोबल फाउन्डेशनबाट आएको ६० जना डाक्टरको टिमले दैलेखमा सात दिनसम्म शिविर गरेका थियौं। जहाँ ३३ जना महिलाको पाठेघरको उपचार गरेका थियौं। त्यसक्रममा विशेषज्ञ डाक्टरहरुको टिम गएर निशुल्क औषधी उपचार हामी दिन्छौं। यस्तो शिविर हामी प्राय महिनामा दुईवटा सम्म गर्छौै।

सामान्य शुल्क कस्तो छ?

हामीले शिक्षण अस्पताल महाराजगञ्जको प्राइभेट क्लिनिकमा जस्तो शुल्क छ, हाम्रोमा पनि त्यही छ। सरकारले तोकेको भन्दा कुनै पनि शुल्क बढी लिदैनौं।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.