सडक डिभिजन काठमाडौंले सडक तथा पुल निर्माण कार्यको प्रगति नभएको र लामो समय ताकेता गर्दा पनि सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै ५७ वटा निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ।
उक्त अवधिमा चित्तबुझ्दो जबाफ नदिए ठेक्का तोड्ने प्रक्रियामा जाने सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले सेतोपाटीलाई जानकारी दिए।
‘सडक/पुल निर्माण कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतीत हुँदा पनि कार्य प्रगतिमा सुधार नभएको सन्दर्भमा पटक–पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पेश भएको संशोधित कार्यतालिका वमोजिम कार्य नभएको, कार्य सम्पन्न गर्ने तर्फ तदारूकता नदेखाएको, साथै ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नभएको र लामो समयसम्म ठेक्का अलपत्र अवस्थामा रहेको हुंदा ठेक्का सम्झौताको प्रावधान अनुसार ठेक्का अन्त्य किन नगर्ने? भनी स्पष्टीकरण सोधेका हौं,’ उनले भने।
ठेक्का अन्त्य गर्नु नपर्ने कुनै यथोचित कारण भए १५ दिनभित्र स्पष्टीकरण सहित आधिकारिक प्रतिनिधि स्वयं यस कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको उनले बताए।
‘अन्यथा ठेक्का सम्झौताका शर्तहरू तथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गर्ने तर्फ कारबाही अगाडि बढाइने छ,’ उनले भने।
स्पष्टीकरण सोधिएका निर्माण कम्पनीमा पूर्ण विनायक/सफल जेभी, शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि. कश्यप निर्माण सेवा पिविएसटि निर्माण सेवा, दि कन्चनजंगा/ गोल्डेनगुड/पिएसज.भी थोदुङ/कविर विनायक जेभी, सिएम कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप प्रा लि पप्पु/डाँफे जेभी, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रालि, सूर्य जीबन कन्स्ट्रक्सन प्रालि निश्मन इन्टरनेशनल प्रालि लुम्बिनी/ पिएस/गोल्डेन गुड जेभी, नयाँयुग निर्माण सेवा केदार निर्माण सेवा जय दुर्गामाता बिल्डर्स उग्रवज्र निर्माण सेवा सम्झना निर्माण सेवा रहेका छन्।
त्यस्तै के एण्ड जे कन्सट्रक्सन प्रालि, महाकाली भिमसेन निर्माण सेवा, सम्झना निर्माण सेवा पन्थ कन्स्ट्रक्सन प्रालि, ओम महासरस्वती कन्स्ट्रक्सन, बिएसडि कन्स्ट्रक्सन ओमकार विल्डर्स जागृत निर्माण सेवा, बिरुवा/ रानीबन जेभी, राजधानी कन्स्ट्रक्सन लगायत छन्।
