ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहेको बताए।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन (सिडेन) ले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मुलुकको विकासमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहेको बताए।
'विकास निर्माणमार्फत् समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहन्छ,' उनले भने।
मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए।
उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए।
ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा थुप्रै इन्जिनियरले रोजगार पाउने उल्लेख गरे।
बुढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सके पनि १७ हजार बढीले रोजगारी पाउने उनको भनाइ थियो।
उनले मुलुकको विकासका लागि इन्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए।
इन्जिनियर बिना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाइ छ।
ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेकोे बताए।