आगलागीका कारण मातातीर्थमा रोकिएको विद्युत आपूर्ति पुनः सुरू भएको छ।
नेपाल विद्युत प्राधिकरणको मातातीर्थ सबस्टेसन अन्तर्गतको ११ केभी फिडर लाइनको विद्युत आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो आगलागी हुँदा विद्युत आपूर्ति रोकिएको थियो।
उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको आपूर्ति प्रभावित भएको थियो।
अधिकांश क्षेत्रमा आइतबारदेखि नै विद्युत आपूर्ति सुरू गरिएको प्राधिकरणले जनाएको छ।
भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
उनका अनुसार ब्रेकर प्यानलको स्विच सञ्चालन गर्ने क्रममा 'स्पार्क' भई आगलागी भएको हो। जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्ने उनको भनाइ छ।
बुढानिलकण्ठ र चपली सबस्टेसनबाट आवश्यक स्विचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले जानकारी दिए।
उनका अनुसार तत्कालका लागि स्युचाटार सबस्टेसनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत सेवा पुनः सञ्चालनमा आइसकेको छ।
'केही गलत सूचना बाहिरिएको छ, अधिकांश क्षेत्रमा हिजै आपूर्ति बहाल भइसकेको हो। चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी छ, जुन आजभित्रै व्यवस्थापन गरिनेछ,' कार्यकारी निर्देशक शाक्यले भने।
यस घटनाले काठमाडौं उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता माथि पनि प्रश्न उठेको उनको भनाइ छ।
भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको देखिएको शाक्यले बताए।
शाक्यले प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई भविष्यमा यस्ता समस्या पुनः नदोहोरिने गरी आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे।