पत्रकार सुमन श्रेष्ठ गत मंसिरमा काठमाडौं जाँदै थिए। बुटवलबाट साँझ ७ बजे बस चढेका सुमन राति ९ बजेतिर दाउन्ने पुगे। दाउन्ने पुगेर बसका चालक र यात्रुहरूले खाना खान थाले।
घरबाटै खाना खाएर गएकाले अरू यात्रुले खाना खाँदा सुमन बसको सिटमै निदाए। खाना खाइवरी बस साढे नौ बजेतिर दाउन्नेबाट अगाडी बढ्यो। रात छिप्पिँदै गएपछि सुमनको निद्रा पनि गहिरो बन्दै गयो।
बसको सिटमै निदाएका सुमन बिहान ४ बजेतिर ब्युँझिए। बाहिर उज्यालो हुँदै थियो। उनलाई लागेको थियो अब काठमाडौं आसपास पुगियो होला। तर बाहिर एउटा पसलमा टाँगिएको बोर्ड देखेर उनी झस्किए। बोर्डमा पसलको नामसँगै दुम्किबास लेखिएको थियो। उनी चढेको बसलाई १०/१२ किलोमिटरको दुरी पार गर्न ६ घन्टा बढी समय लागेको थियो।
काँकरभिट्टाका रमेश कोइरालाले बस चलाउन थालेको २० वर्ष भयो। बा.प्र ०३–०१ ख २८६७ नं. को बस लिएर गत शुक्रबार दिउँसो ३ बजेतिर काँकरभिट्टाबाट बुटवलका लागि हिँडेका थिए।
अरूणखोला कटेर होङ्सी आइपुग्दा शनिबार बिहान सवा चार बजेको थियो। बुटवल आइपुग्दा भने रातिको साढे नौ बज्यो। काँकडभिट्टादेखि थुम्सीसम्म करिब पाँचसय २५ किलोमिटर दुरी १३ घन्टामा पार गरेका उनलाई थुम्सीदेखि बुटवलसम्मको ६५ किलोमिटर दुरी पार गर्न भने १७ घन्टा समय लाग्यो।
बुटवलका पुष्कर पन्त बुटवलदेखि काठमाडौं चल्ने बस चलाउँछन्। लु २ ख ४६४३ नम्बर को बस बिहीबार साँझ काठमाडौंबाट छुटेका उनी शुक्रबार बिहान साढे तिन बजे दुम्किबास आइपुगेका थिए। बुटवल आइपुग्दा भने दिउँसोको साढे १ बजेको थियो।
यी त प्रतिनिधि पात्र मात्र हुन्।
पछिल्लो समय विस्तारको क्रममा रहेको बुटवल– नारायणगढ सडकखण्डको करिब २० किलोमिटर दाउन्ने खण्डमा सवारी चालक र यात्रुहरूले सास्ती भोग्नु परिरहेको छ। सडक विस्तारका क्रममा सडकमा उड्ने धुलो र गाडीहरूको जामका कारण यात्रुहरूले दिनहुँ सास्ती पाइरहेका छन्।
एकातर्फ चर्को गर्मीमा पनि धुलाम्मे सडकमा गाडीका सिसा पूरै बन्द गरेर हिँड्दा अगाडिको सवारी र सडक नदेखिने अवस्था छ भने सडक निर्माणको क्रममा ठाउँ ठाउँमा काटिएका पहाड र कल्भर्ट तथा पुल निर्माणका कारण साँघुरो बनेको सडकमा घन्टौंसम्म सवारी जाम हुने गरेको छ।
साँघुरो सडकमा सामान बोकेका ट्रक र साना सवारीसाधनले अनावश्यक रूपमा ओभरटेक गर्दा सवारी आवागमन थप अव्यवस्थित बनेको छ। बुटवल राजमार्ग चौराहाबाट चितवन गैंडाकोटसम्मको ११३ किलोमिटर लामो यो सडकको स्तरोन्नतिको काम २०७५ साल चैतदेखि सुरू गरिएको थियो।
दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको बुटवल– नारायणगढ सडकको गैंडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ५ किलोमिटरमध्ये ५० किलोमिटर सडक एकतर्फी कालोपत्रे सकिएको छ।

दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५ किलोमिटर पनि आधा भन्दा बढी एकतर्फी कालोपत्रे भइसकेको छ। दाउन्नेदेखि बर्दघाट र देवदहदेखि बुटवलसम्मको भाग बाहेक अरू भागमा एकतर्फी कालोपत्रे भइसकेको छ।
तर अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्ने क्षेत्रको करिब २० किलोमिटर क्षेत्रमा सवारी चालक र यात्रुहरुले दैनिक सास्ती पाइरहेका छन्। अन्य क्षेत्रको सडक निर्माणलाई पछिल्लो समय तिव्रता दिइए पनि सबैभन्दा अप्ठ्यारो र जोखिम मानिएको दाउन्ने क्षेत्रमा भने बल्ल निर्माणको काम अगाडि बढाइएको छ। पहाडको भित्ता काट्ने, पर्खाल लगाउने तथा कल्भर्ट र पुल निर्माणका कामहरू भइरहँदा यात्रुहरूले दुःख पाइरहेका छन्।
डोजरले पहाड काटिरहँदा सवारी जाम भइरहेको छ। त्यहीमाथि दिउासै अन्धकार जस्तै बनेर उडिरहने धुलो र सडकमा परेका ठूलाठूला खाडलले यात्रा गरिनसक्नु छ। धुलोले अगाडिको सवारी नदेखिने अवस्थामा पनि निर्माण कम्पनीले सडकमा पानी हालेको छैन। मोटरसाइकलमा र पैदलयात्रा गर्नेहरूलाई सबैभन्दा सास्ती छ।
चालक पुस्कर पन्त दाउन्नेमा पुग्दा नेपालमा सरकार नै नभएको अनुभुती हुने बताउँछन्।
‘म २०५० सालदेखि गाडी लाइनमा हिँडेको हो, २०५२ सालदेखि आफैले गाडी चलाउँदै आएको छु। दाउन्नेमा पछिल्लो दुईतिन वर्षदेखि जति सास्ती भोग्नुपरेको छ, यस्तो सास्ती कहिल्यै भएन। दाउन्नेमा पुग्दा नेपालमा सरकार नै छैन की भन्ने लाग्छ,’ उनले पीडा पोखे।
‘सडक सहज भएको अवस्थामा बर्दघाटदेखि दुम्किबाससम्मको यात्रा आधा घन्टाको मात्रै हो तर, अहिले त्यही सडक पार गर्न १०/१२ घन्टा सम्म लाग्ने गरेको छ। एक किलोमिटर सडक पार गर्न एक घन्टा समय लाग्ने यस्तो पनि कहिँ हुन्छ,’ उनले आक्रोश पोखे।
ठाउँठाउँमा कल्भर्ट निर्माणको लागि बनाइएका डाईभर्सन र धुलाम्मे सडकका कारण अहिले बर्दघाटदेखि दुम्किबाससम्मको करिब २० किलोमिटर सडक पार गर्न सवारी साधनका चालक र यात्रुहरूलाई ठूलै युद्ध जिते बराबर हुने गरेको छ।
६ वर्षदेखि निर्माणको क्रममा रहेको सडकमा उड्ने धुलोले दिउँसै अन्धकार देखिने सडकमा परेका ठूलाठूला खाडलका कारण दुर्घटनाको उत्तिकै जोखिम छ। निर्माणाधीन सडकमा यात्रुवाहक बस, सामान बोकेका ट्रक र निजी साना सवारी साधन आलोपालो गरी सञ्चालन हुनुपर्नेमा एकैपटक सडकमा छोड्दा घन्टौंसम्म जाम हुने गरेको छ।
प्रहरी प्रशासन र सडकका कर्मचारीहरुको वेवास्ताले सडकमा घन्टौंसम्म जाम हुने गरेको उनले बताए। ‘निर्माणको क्रममा केही असहज हुन्छ तर पानी हालेर धुलो उड्न कम गराउन त सकिन्थ्यो,’ उनले भने।
तनावमुक्त भएर सवारी साधन सञ्चालन गर्नुपर्नेमा सडकका कारण सधैं तनावमा रहनुपर्ने उनले गुनासो गरे।
‘हिजो मात्रै घन्टौं जाममा पर्दै सास्ती भोगेर आएको त्यही सडकमा अहिले फेरी यात्रु लिएर जाँदै छु। मनमा धेरै कुरा खेलिरहेका छन्। गाडीभरि यात्रु बोकेर हिँड्ने हामीहरूलाई आफ्नो र गाडीको मात्र चिन्ता लिएर हुँदैन यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा कसरी पुर्याउने भन्ने चिन्ता पनि हुन्छ, चर्को गर्मी र धुलाम्मे सडकमा घन्टौं भोकै, प्यासै बसभित्र खाँदिएर बसेका यात्रुहरूको अनुहारमा देखिने चिन्ता र तनावले हामीलाई झनै पीडा दिन्छ,’ आइतबार साँझ बुटवल बसपार्कमा काठमाडौं जाने यात्रु चढाइरहेका उनले भने।
२५ वर्ष रमाइलो लागिरहेको सवारी चालक पेसा पछिल्लो ५ वर्षदेखि दाउन्ने खण्डमा भोग्दै आएको सास्तीले बेकार लाग्न थालेको उनले बताए।
‘पहिलेपहिले आफ्नो पेसा हो भनेर रमाइलो लाग्थ्यो अहिले किन यस्तो काम रोजिएछ भन्ने लाग्छ। सडकको अवस्थाले आजै छोड्न पाए हुन्थ्यो भन्ने लाग्छ तर, ३० वर्षसम्म गरेको काम छोडेर अरू कहाँ जाने भनेर छोड्न पनि सकिएको छैन,’ उनले निराश हुँदै सुनाए।
अरू क्षेत्रमा सवारी साधन र यात्रुहरूका सामान खानतलासी गर्ने प्रहरी प्रशासनको उपस्थिती पनि दाउन्ने क्षेत्रमा नदेखिने चालक र यात्रुहरूको गुनासो छ। बर्दघाट र दुम्किबासदेखि आलोपालोमा सवारी साधन छोडिदिने हो भने दाउन्ने क्षेत्रमा हुने जाम रोकिन्थ्यो तर मालवाहक साधन र यात्रुवाहक सवारीसाधन सबैलाई एकैपटक जान दिने र त्यसैमाथी साना सवारी साधनले ओभरटेक गर्न बीचबीचमा घुसाउने गर्दा पनि जाम हुने गरेको अर्का चालक रमेश कोइरालाले बताए।
‘दाउन्ने खण्डमा ओभरटेक गर्न नदिने हो भने पनि जाम हुने समस्या धेरै हदसम्म रोकिन्थ्यो तर त्यहाँ प्रहरी प्रशासनको उपस्थिती नै भएन,’ उनले भने।

सात–आठ घन्टा जाम भएर सडकमै बस्नुपर्दा यात्रुहरूको बिचल्ली हुने गरेको उनले बताए।
‘महिला केटाकेटीहरूको विचल्ली हुने गर्छ। बाहिर हेरौं धुलोले सिसा खोल्न सकिँदैन, चर्को गर्मी र धुलाम्मे बाटोमा घन्टौंसम्म बस्नुपर्दा धेरै समस्या हुने गरेको छ,’ उनले भने।
गाडीमा भएको पानीसमेत सकिएपछि अरू गाडीबाट मागेर यात्रुहरूलाई खान दिनुपरेको उनले बताए।
‘शनिबार जस्तो समस्या भोगियो २० वर्षको गाडी चलाएको अवधिमा कहिल्यै भोगिएको थिएन, १५ कार्टुन पानी गाडीमा राखेर ल्याइएको थियो। सबै सकिएपछि अरू गाडीबाट मागेर केटाकेटीलाई खुवाउनुपर्यो,’ उनले भने।
मोटरसाइकलका यात्रुलाई सबैभन्दा सास्ती हुने गरेको उनले बताए।
‘गाडीभित्र बसेकाहरू शिशा लगाएपछि धुलोबाट त जोगिन्छन् तर, मोटरसाइकलमा यात्रा गर्नेहरू धुलोले ढाकिएका हुन्छन्, चिन्नै सकिन्न,’ उनले भने।
दाउन्ने क्षेत्रमा यात्रा गर्नेहरुले भोग्नुपरेको सास्तीमा जति सरकार जिम्मेवार छ त्यति नै मानवअधिकारकर्मी र नागरिक समाज पनि जिम्मेवार रहेको उनले बताए। ‘फेसबुकमा सरकारलाई मात्र गाली गरेर हुन्छ? खोई नागरिक समाज बोलेको?
मानवअधिकारकर्मीहरू कता छन् यसबारेमा उनीहरू किन चुप छन्,’ उनले प्रश्न गरे।
काठमाडौं जान साँझ ६ बजे बुटवल बसपार्कमा पुगेकी बुटवल तामनगरकी अनिता गौतम भोली बिहान १० बजेसम्म काठमाडौं पुगिन्छ की पुगिँदैन भन्दै चालकसँग सोधिखोजी गर्दै थिइन्। जापानका लागि अन्तरवार्ता दिन काठमाडौं हिँडेकी उनलाई सोमबार बिहान १० बजे काठमाडौं पुग्नु थियो।
‘भोलि बिहान १० बजे अन्तरवार्ताको लागि समय लिएको छ, बिहान १० बजेसम्म बसमा पुगिएन भने जहाजमा भए पनि जानुपर्यो,’ उनी भन्दै थिइन्।
विगत सात वर्षदेखि बुटवलमा एम्बुलेन्स चलाउँदै आएका मनोज भण्डारी अहिले दाउन्ने खण्डमा भोगिरहेको जस्तो सास्ती अन्यत्र कहिल्यै नभोगेको बताउँछन्। सडकका कारण बिरामीहरूलाई समयमा अस्पताल पुर्याउन नसकिएको उनले बताए।
‘सडकका कारण धेरै समस्या हुने गरेको छ। धुलो र खाल्डाखुल्डी सडकका कारण समस्या त भएको थियो नै अहिले घन्टौंसम्म जाम हुँदा बिरामीहरु आत्तिएर एम्बुलेन्समै प्राण जाने हो की भन्ने चिन्ता हुन्छ,’ उनी भन्छन्।
सडकमा पाइने सास्तीका कारण बुटवलदेखि काठमाडौं जान एम्बुलेन्स चालकहरू समेत इच्छुक नहुने उनले बताए।
‘काठमाडौं जाने भनेपछि एम्बुलेन्स खाली छैैन भन्नुपर्ने अवस्था छ,’ उनले भने।
बलियो आय हुनेहरूलाई जहाज र हेलिकप्टरमा लैजाने गरिए पनि गरिबहरूको भने सडककै कारण बिचल्ली हुने गरेको उनी बताउँछन्।
बाटोको कारण कतिपय विरामीलाई बुटवलदेखि पाल्पाको रामपुर–गैंडाकोट भएर कालिगण्डकी कोरिडोरको बाटो लैजाने गरिएको उनले बताए। बुटवल नारायणगढ खण्ड भन्दा रामपुर गैंडाकोट भएर जाँदा झण्डै दोब्बर बढी दुरी पर्छ, भाडा पनि आठ–दस हजार महँगो पर्छ, विरामीको ज्यान भन्दा पैसा ठूलो होइन भनेर अहिले कालिगण्डकी कोरिडोर भएर पनि लैजान थालिएको छ,’ उनले भने।
निर्माणाधीन सडक खण्डको दाउन्नेखण्डमा सवारी साधनको अत्यधिक चापका कारण सडक बिस्तारमा कठिनाइ भएपछि सडक आयोजनाले सवारी आवागमन बन्द गरेर काम गर्ने भएको छ।
चैत २३ गते सरोकारवाला लगाएत पूर्वीनवलपरासी र पश्चिम नवलपरासी दुवै जिल्लाका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, आयोजनाअन्तर्गत दुवै खण्डका दुवै योजनाका योजना प्रमुख, परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखहरु समेतको संयुक्त बैठकले दाउन्ने खण्डमा आवश्यक मर्मत सम्भार गरी यातायातलाई सहज ढंगले सञ्चालन गर्न आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
दाउन्ने खण्डमा भित्ता काट्नुपर्ने भएकोले सवारी साधन सञ्चालन भईरहँदा काम गर्न समस्या भएको भन्दै वर्षाअगावै सम्पन्न गर्नका लागि केही दिनका लागि निश्चित समय तोकेर सडक बन्द गरेरै भएपनि काम गर्ने निर्णय गरेको हो।
सडक आयोजना कार्यालयका अनुसार चैत २७ गतेदेखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
आउने वर्षाअगाडि नै दाउन्ने खण्डको यात्रालाई पनि सहज बनाउन केही दिन दिउँसो र केही दिन रातको समयमा आवागमन बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको आयोजनाले जनाएको छ।
नवलपरासी पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले कुल १९ दिन सवारी साधन बन्द गरेर सडक विस्तार गर्नका लागि गृह मन्त्रालयमा अनुमति माग गरिएको बताए।

सडक आयोजनाको पश्चिम खण्डका प्रमुख शशांक मिश्रले अरू क्षेत्रमा केही दिनभित्रै एकतर्फी रूपमा कालोपत्रे सकिने भएकोले दाउन्ने खण्डमा केन्द्रित भएको बताए। ‘दाउन्ने खण्डको आवागमनलाई पनि वर्षाअगावै सहज बनाउन दुवैतर्फको ध्यान त्यहीँ केन्द्रित गरेका छौं,’ उनले भने।
२०१८ सालमा तत्कालीन राजा महेन्द्रले निर्माणको शिलान्यास गरेको पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको स्तरोन्नतिका लागि २०७५ साल चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शिलान्यास गरेका थिए।
सडक विभाग र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बीच २०७५ माघ २४ गते सम्झौता हुँदा साढे तीन वर्षमा अर्थात् २०७९ साउन २२ सम्म सडक विस्तारको काम सम्पन्न गर्ने सर्त थियो।
विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले हालसम्ममा दुईपटक म्याद थप गराएको छ। सम्झौताको म्याद सकिएपछि पहिलोपटक एकवर्ष थपेर २०८० भदौ १२ सम्म पुर्याइएको थियो। थप अवधिमा ३० प्रतिशत जति मात्र काम भएपछि दोस्रोपटक ११ महिना थपेर २०८१ साउन ८ गतेसम्म पुर्याइएको छ। यस अवधिमा पनि काम पूरा नहुने पक्का भएको छ।
कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत रहेको यस आयोजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण अनुदान रहेको छ। कुल लागतमा नेपाल सरकारले १५ प्रतिशत व्यहोर्नुपर्छ। एसियाली विकास बैंकले ३२ वर्षका लागि साढे एक प्रतिशत व्याजमा ऋण दिएको हो।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो सडकखण्डमा सहरी क्षेत्रमा ६ लेन, जंगल क्षेत्रमा ४ लेन र दाउन्ने खण्डमा तीन लेनमा बनिरहेको छ। सडकमा वन्यजन्तु वारपार गर्न ओभरपाससहित पूर्वी खण्डमा १२ वटा ठूला र २२ वटा साना तथा पश्चिम खण्डमा ९ वटा ठूला र २१ वटा साना पुल बन्दै छन्।