ऊर्जामन्त्री दिपकबहादुर खड्काले फेरि पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका छन्।
उनले तपाईंलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेका हुन्।
पत्रमा भनिएको छ, 'यसअघि तपाईंले पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्त बुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईंबीच गत माघ ५ गते भएको कार्य सम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधन सहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने?'
२४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न मन्त्री खड्काले पत्राचार गरेका छन्।
'१२ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोलीनेताको हैसियतमा त्यसतर्फ जाँदा कुन निकायको स्वीकृति लिएर जानुभएको हो? नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ को विषयसंख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषदमा पेस गर्नुपर्ने विषयमा तपाईंले अर्थ मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गर्नुभएको हो?' पत्रमा भनिएको छ।