काठमाडौंको पूर्वीभेग स्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण भइरहेको छ।
यो सवस्टेसनबाट तामाकोशी, सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको बिजुली काठमाडौं उपत्यका ल्याइनेछ।
ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माण भइरहेको हो।
यो सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सक्ने लक्ष्य राखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
यो सबस्टेसन एक वर्षअघि निर्माण सुरू भएको हो। हाल पूर्ण क्षमतामा निर्माण काम भइरहेको प्राधिकरणको भनाइ छ।
करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि सबैभन्दा ठूलो हब हुने पनि प्राधिकरणले उल्लेख गरेको छ।
खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरण रहने भवन लगायतका सिभिल संरचनाको निर्माण करिब ४० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।
सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएस, कन्ट्रोल प्यानल लगायत उपकरणहरूको आपूर्ति करिब ८० प्रतिशत भइसकेको उल्लेख छ। यही आयोजना अन्तर्गत खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन्।
तामाकोशी–काठमाडौं प्रसारणलाइन आयोजना अन्तर्गत २२०/१३२ र १३२/११ केभीका सबस्टेसनको सिभिल संरचनाको निर्माण ५० प्रतिशत सकिएको छ। उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भइसकेको छ।
प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरेका छन्।
उनले जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सक्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारणलाइन आयोजना अन्तर्गत रामेछाप नयाँखिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारणलाइन लप्सीफेदी सबस्टेसनमा जोडिने छ।
प्रसारणलाइन आयोजना अन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा गरिएको छ। करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी भएको आयोजनाले जनाएको छ।
त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये दुइटाको मात्र निर्माण बाँकी भएको उल्लेख छ। ती टावर लप्सीफेदी क्षेत्रमै पर्दछन्। करिब ४२ किलोमिटर तार तानिएको उल्लेख छ।
तामाकोशी–काठमाडौं प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए।
आयोजना अन्तर्गत बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सकिएको छ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सकिएपछि विद्युतलाई लप्सी फेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्तापश्चिम) सुनवल नगरपालिका स्थित नयाँबुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिने प्राधिकरणले बताएको छ।
सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को 'विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना'मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो।
लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारणलाइन निर्माणमा भएको अवरोध भने अझै हट्न सकेको छैन। जग्गाधनीले अवरोध गर्दा ७ वर्षदेखि निर्माण प्रभावित छ।
चाँगुनारायण १३२ केभी सवस्टेसन निर्माण सकिएर पनि विद्युत आपूर्तिको स्रोत नहुँदा सञ्चालनमा आउन सकेको छैन।
उक्त सबस्टेसनबाट विद्युत आपूर्ति सुरू भयो भने मुख्य गरी काठमाडौंको पूर्वीभेगमा विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास लिइएको छ।