वि.स. २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको नक्सालको बाल मन्दिरको पुनर्निर्माण प्रक्रिया ०७६ मा मात्रै सुरू भयो।
त्यतिबेला रविना कन्स्ट्रक्सनले ५२ करोड ५४ लाखमा पुनर्निर्माणका लागि ठेक्का लिएको पाँच वर्ष बितिसक्दा पनि काम सकेको छैन।
पाँच वर्षमा पटकपटक गरी २५ महिना त म्याद नै थप गरिएको छ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का आयोजना उपनिर्देशक अविनाश श्रीवास्तवका अनुसार उक्त कम्पनीसँग २०७६ कात्तिक २० गते सम्झौता गरेको थियो।
रेट्रोफिटिङ र फिनिसिङ कामका लागि २ वर्षको समय दिइएको थियो। पाँच वर्ष बितिसक्दा करिब ७१ प्रतिशतमात्रै काम सकिएको हो।
निर्माण कम्पनीले अगाडिको भाग मात्रै बनाएको जस्तो देखाएका छाडेको नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन्।
‘काम अगाडि मात्रै अलिकति देखिएको हो। भित्रपट्टि हेर्ने हो भने म आउँदा जस्तो थियो त्यस्तै छ। कसरी काम गरेको हो थाहा भएन,’ उनले भनिन्।
भवन नबन्दा बालबालिकाहरू चुहिने छानोमुनि टहरामा बस्न बाध्य भएको उनले बताइन्।
‘हामीले पनि पटकपटक काम सक्न ताकेता गर्यौं। सुरूमा मौखिक रूपमा भन्यौं, नभए पनि चिठ्ठी नै लेख्यौं तर पनि भएन,’ उनले भनिन्, ‘बालबच्चाहरू टहरामा बस्छन्। भान्सा चुहिन्छ, बर्खा आउन लागेकाले अब अर्को चिन्ता पनि थपिएको छ।’
आयोजनालाई चिठ्ठी पठाएपछि कम्पनीलाई पनि ताकेता गरेको जानकारी आफूहरूले थाहा पाएको उनले बताइन्।
सम्झौता भएयता काम ७१ प्रतिशत मात्रै सकिएको उपनिर्देशक श्रीवास्तवले बताए।
उनका अनुसार निर्माणका लागि पछिल्लोपटक थपिएको म्याद आउँदो चैत ३० गते सकिँदैछ। काम नरोकिएको तर अत्यन्त ढिलासुस्ती भएको उनले बताए।
‘अगाडिका र भित्री केही कामहरू भएका छन्। स्ट्रक्चरको काम सकिए पनि फिनिसिङका कामहरू बाँकी नै छन्,’ उनले भने, ‘बाल मन्दिरबाट पनि पटकपटक ताकेता आएको छ। हामीले पनि कम्पनीलाई पटकपटक भनेका छौं।’
यसरी ढिला गरे अबका दिनमा कम्पनीलाई म्याद दिने वा नदिने भन्ने विषय पनि अन्योल रहेको उपनिर्देशक श्रीवास्तवले बताए।
‘केही काम मात्रै बाँकी रहेको पनि पनि एउटा कुरा हुन्थ्यो। तर धेरै कामहरू बाँकी रहेको हुँदा म्याद के हुन्छ भन्न सकिने अवस्था भएन,’ उनले भने।
तस्बिरहरू:
-1738917342.jpg)
-1738917341.jpg)
-1738917341.jpg)
-1738917341.jpg)
-1738917340.jpg)
-1738917340.jpg)