नेपाल विद्युत प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत् विद्युत आपूर्ति दिन सुरू गरेको छ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरूलाई सोही प्रणालीमार्फत् विद्युत आपूर्ति दिन सुरू गरिएको छ।
पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत आपूर्ति दिइएको हो।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरू हटाइएको छ। तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरूपता हटी उक्त क्षेत्र सुन्दर देखिएको प्राधिकरणले जनाएको छ।
सुरूमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणाली मात्र भूमिगत गर्ने व्यवस्था भएता पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुहरूले गुजुल्टिएको तारले कुरूप बनेको सहर देख्न नपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्वारसम्म विस्तार गरिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमशः विद्युत आपूर्ति दिन र ओभरहेड संरचनाहरू हटाउन निर्देशन दिए।
घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्ट लगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेका थिए।
महानगरपालिका, सडक कार्यालय लगायत निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सकेर भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिन प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए।
पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरूमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरूमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको उल्लेख छ।
हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताए। लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अब त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिइने प्रमुख सुवेदीले बताए।
विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन्।
हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको चालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने विश्वास लिइएको छ।
हावाहुरी, पानी, चट्याङ इत्यादिको कारणले विद्युत प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरू भएको हो।
आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लिमिटेड भारतसँग एक करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।
पोखरा क्षेत्रको काम आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ।