नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव, र सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताए।
उनले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताए।
'हाम्रा मागहरु पूरा नभएको अवस्थामा माघ १८ गतेदेखि हामीले काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्रीको निवास अगाडि धर्ना दिने र त्यसबाट पनि हाम्रो मागहरु सम्बोधन भएनन् भने माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका र पश्चिम नाका ठप्प पार्ने हाम्रो योजना छ,' अध्यक्ष सिंहले भने।
यसअघि महासंघ बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना मागहरु पूरा नभए माघ २० गते प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिने बताएको थियो।
अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी पश्चिम नाका ठप्प पार्ने चेतावनी दिए।
ज्ञापन पत्र बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूले सडकमा आउने नगरेरमागहरु सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे। (न्युज एजेन्सी नेपाल)