धादिङमा एक पालिकामा सडक बनाउन विनियोजन गरेको बजेट अर्कै पालिकामा लगेर काम गरेको पाइएको छ।
संघीय सरकारले धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मा सडक कालोपत्र गर्न बजेट विनियोजन गरे पनि उक्त सडक कालोपत्र भएन।
बरू त्यो बजेट सिद्धलेक गाउँपालिका वडा नम्बर ६ मा सडक स्तरउन्नति गर्न थालियो। सडक स्तरउन्नति गर्न ठेक्का लागेर करिब २० प्रतिशत काम भइसकेपछि यो घटना बाहिरिएको हो।
यो सडक स्तरउन्नतिको ठेक्का सडक डिभिजन नुवाकोटले लगाएको हो। एक ठाउँका लागि आएको बजेट अर्कै ठाउँमा कसरी पुग्यो त? यसबारे कार्यालयका सूचना अधिकारी अमृतप्रसाद यादवले विभागबाट 'इम्प्रुमभमेन्ट अफ दारेगौँडा-ठूलोचौर-एक्लेपिपल-तल्लो हटिया सडक' भनेर योजना आएकोमा गाउँपालिकाको नाम नखुलेकोले त्रुटि भएको बताए।
सिद्धलेक र ज्वालामुखी दुइटै गाउँपालिकामा दारेगौँडा भन्ने ठाउँ छ। सोधखोज गर्दा उक्त सडक सिद्धलेक-६ मै पर्ने भनेर त्यहाँका वडाध्यक्षहरूले लिखित इस्टिमेट पठाएपछि त्यहीँ काम भएको यादव बताउँछन्।
'दारेगौँडा खोज्दै जाँदा सिद्धलेक-६ नम्बरमा छ भनेर वडाको मान्छेले सिफारिस नै गरेको रहेछ। त्यसै अनुसारको सर्वे र डिजाइन भयो। ठेक्का लाग्यो, एग्रिमेन्ट भएर कामै सुरू भयो। त्यसपछि मात्रै ज्वालामुखी-२ का वडाध्यक्षले हाम्रोमा काम गर्न आएको छैन भन्नुभयो। त्यसपछि मात्रै थाहा भयो काम गर्नुपर्ने ज्वालामुखीमा रहेछ,' यादवले भने।
उनकाअनुसार इस्टिमेट, डिजाइन, र टेण्डर सिद्धलेककै सडकका लागि भनेर भएको थियो। सडक स्तरोन्तिका लागि १ करोड विनियोजन भएकोमा सिद्धलेकको दारेगौँडास्थित ७०० मिटर सडक कालोपत्रेको काम सुरू भइसकेको छ।
सडक कालोपत्रे गर्न गत असोजमै ५३ लाखमा ठेक्का लागेको थियो। धादिङकै तीनकन्या कन्स्ट्रक्सनले ठेक्का पाएर काम सुरू गरेको छ।
अहिले योजना नै अर्को पालिकाको सडकको निम्ति भएको थाहा पाएपछि काम रोकिएको तीनकन्याका सञ्चालक बालकृष्ण श्रेष्ठले बताए।
'टेण्डर आह्वान सिद्धलेककै सडकका लागि भएको थियो। हामीले त्यही सडकका लागि भनेर टेण्डर पनि हालेका हौं। ठेक्का लागेर काम सुरू भइसकेको थियो। अर्कै ठाउँको रहेछ भनेर डिभिजन सडकले रोक्न भनेपछि अहिले रोकेका छौं,' श्रेष्ठले भने।
ज्वालामुखी-२ का वडाध्यक्ष राजु लोप्पाले काम अर्कै पालिकामा भएको भन्ने थाहा पाएपछि आफूले सडक डिभिजन कार्यालयलाई जानकारी गराएको बताए।
यद्यपि सडकको ठेक्का प्रक्रिया सुरू हुनुभन्दा अगाडि सडक डिभिजिनकै एकजना इन्जिनियरसँग बुझ्दा प्रक्रियामा गएको भन्ने जबाफ पाएको बताए।
'प्रक्रियामा गइसक्यो भनिसक्दा पनि काम नभएपछि पुनः सम्पर्क गर्दा काम भइरहेको भन्ने जानकारी पाएँ। तर हाम्रोमा काम नै भएको थिएन। बुझ्दा यताको योजनामा सिद्धलेकमा काम भएको रहेछ। त्यसपछि सडक डिभिजन कार्यालय नुवाकोट नै पुगेर बुझेँ,' उनले भने।
सडक डिभिजनका इन्जिनियरले सर्वे र इस्टिमेट गर्नुभन्दा अगाडि नै आफूसँग कुराकानी गरेकाले ठाउँ गलत हुन पुग्यो भन्नु गैरजिम्मेवार रहेको वडाध्यक्ष लोप्पाले बताए। यसबारेमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ।
सडक डिभिजनका सूचना अधिकारी यादवले ठेक्कामा 'डुप्लिकेसन' भएको भन्ने जानकारी सडक विभागलाई गरिएको र कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई गाउँपालिकाका अध्यक्षसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दिए।