माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रूपमा बिजुली उत्पादन सुरू भएको छ।
४५६ मेगावाटको तामाकोशीमा गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएको थियो। क्षतिग्रस्त संरचनाहरूको आंशिक मर्मत गरी ८८ दिनपछि मंगलबार बेलुकाबाट पुनः विद्युत उत्पादन सुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
हाल यहाँबाट १२० मेगावाट विद्युत उत्पादन भइरहेको छ।
अविरल वर्षाका कारण तामाकोशीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको थियो। असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा क्षति पुगेको थियो।
जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर सञ्चालक समितिका अध्यक्षसमेत रहेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मर्मत गरी तालिकाभन्दा एक दिनअघि नै विद्युत उत्पादन सुरू गर्न सफल भएको बताए।
‘देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो,' उनले भने, 'अब आंशिक रूपमा विद्युत उत्पादन सुरू भएसँगै भारतबाट गरिने विद्युत आयात सन्तुलन कायम गरी पिक समयको विद्युत आपूर्तिमा सहजता हुनेछ।'
कम्पनीका सिइओ मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञ समूहबाट विद्युतगृह सञ्चालन गर्न प्राप्त सुझावहरूलाई समेटेर मर्मत सम्भारका उपायहरू अबलम्बन गरिएकफो बताए। कार्ययोजनाका साथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगमनबाट तोकिएको दिनभन्दा अगाडि नै विद्युत उत्पादन गर्न सफल पनि उनले बताए।
बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मत खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ। कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रूपैयाँको प्रारम्भिक बीमा दाबी गरेको थियो। कम्पनी र बिमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रूपमा हाल क्षतिको यकिन मूल्यांकन भइरहेको छ। उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुने विद्युत प्राधिकरणले जनाएको छ।