नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा विद्युत आपूर्ति नहुँदा उद्योगीहरूले लोडसेडिङको हल्ला चलाएको आरोप लगाएका छन्।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै लोडसेडिङ बल्झियोस् भनेर चाहने 'नेगेटिभिटीमा' रमाउने जमातले नै लोडसेडिङको हल्ला फैलाएको बताए।
अहिले लोडसेडिङ नभएर केही आयोजनामा आएको प्राविधिक समस्याका कारण केही घण्टा जलविद्युत वितरणमा समस्या भएको उनको भनाइ छ।
उनले माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने बित्तिकै विद्युत वितरणमा देखिएको समस्या समाधान हुने दाबी गरे।
उनले उद्योगीहरूले व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको पनि उनले बताए। 'तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ,' उनले भने।
जनतालाई अँध्यारोमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको बक्यौता रकम तिर्न पनि उद्योगीहरूलाई आग्रह गरे।
व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए।