नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशतर्फ निर्यात सुरू भएको छ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुलकबिर खानले भर्चुअल विधिमार्फत् संयुक्त रूपमा स्विच अन गरी विद्युत निर्यात सुरू भएको छ।
नेपाल र भारतबीच मात्र विद्युत व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत तेस्रो देशमा विस्तार भएको छ।
नेपालमा उत्पादित विद्युत भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत पुग्नेछ।
त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारणलाइन मार्फत् भारत–बंगलादेशबीच बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ।
नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत निर्यात मध्यान्ह साढे १२ बजेबाट सुरू भएको हो। यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ। त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत निर्यात सुरू हुनेछ।
भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो।
केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाहरूबाट उत्पादित ४० मेगावाट विद्युत सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो।
यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरू समेत हुन्।
विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेश लाई बिक्री गर्नेछ।
नेपाल–बंगलादेशबीच विद्युत व्यापार डलरमा हुनेछ। प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रूपैयाँ ६२ पैसा) पाउने छ।
नेपालले विद्युत बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो।
भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँमा हुँदै आएको छ।
प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रूपैयाँ) पाउने छ।
बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ।
मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिन लगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने छ।
नेपालबाट ४० मेगावाट विद्युत भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत बिक्री सम्झौता भएको थियो।
सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाएको थियो। भारतको केन्द्रीय विद्युत प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत निर्यात सुरू गरिएको हो।
कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बंगलादेश, भारत र नेपालका निकायहरू बीचको त्रिपक्षीय सम्झौता अनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो।
प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युतको दर सहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो। प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो।