नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताएका छन्।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताए।
'कात्तिक ८ गते लाइन काटेका थियौं। भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्देशन दिएको छ। अब १५ दिनभित्र बक्यौता उठाउन लाग्छौं। १५ दिनभित्र उहाँहरूले सरकारको निर्देशनअनुसार बक्यौता तिर्नुपर्छ। नतिरे हामी कानुनी प्रक्रियामा जान्छौँ,' उनले भने।
'जनतालाई अध्यारोमा राखेर उद्योगमा प्रयोग भएको बिजुलीको बक्यौता कानुनसम्मत जुनसुकै हालतमा उठाउँछु,' उनले थपे।
लाइन काट्ने र जोड्नेतिर नलागी यसको समाधानतिर लाग्ने भनिरहँदा त्यसो हुन नसकेको उनले उल्लेख गरे।
समाधानको अन्तिम चरणमा रहेको बेला सरकारले फेरि जोड्न निर्देशन दिएको गुनासो उनले गरे।