गत असोजको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालन ल्याइएको छ।
बाढीका कारण यो राजमार्गको विभिन्न स्थानमा १२ किलोमिटर सडकमा क्षति पुगेको सडक विभागले जनाएको छ। ९ किलोमिटर पूर्णरूपमा क्षतिग्रस्त छ।
यतिबेला क्षति पुगेको बर्दिबासदेखि नेपालथोक खण्डमा खोला बगरबाट बाटो बनाएर सञ्चालनमा ल्याइएको छ। अस्थायी रूपमा सञ्चालन ल्याइएको उक्त राजमार्ग पानी पर्ने बित्तिकै अवरूद्ध हुन्छ। पानी नपर्दा पनि साँघुरोबाटोमा सवारीको अत्यधिक चाप हुँदा यात्रुहरू घण्टौं जामको सास्ती खेपिरहेका छन्।
पूर्वी नेपालको 'लाइफलाइन' का रूपमा रहेको छोटो दूरीको यो सडक अब फेरि पहिलेको जस्तै कहिले बन्ला यतिबेला धेरैलाई चासो छ। यस विषयमा हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरूसँग सोधेका छौं।
अधिकारीहरूले तत्काल यो सडक पहिलेकै अवस्थामा फर्काउन नसकिने बताएका छन्। विभागले आगामी वर्षातको समयका लागि यो सडकको विकल्प खोजिरहेको विभागले जनाएको छ।
यो सडक कसरी र कहिलेदेखि पुनर्निर्माण थाल्ने स्रोत के हो? समेत कुनै टुंगो नलागेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताए।
'हामी आफैं भए पनि पुनर्निर्माण त गर्नुपर्यो। जतिसक्दो छिटो पुनर्निर्माण गर्न छलफल गरिरहेका छौं। पुनर्निर्माणका लागि समय कति लाग्छ। लागत कति लाग्छ अध्ययन गर्छौं,' ढकालले भने।
मन्त्रालयले प्रारम्भिक अनुमान गर्दै यो सडक पुनर्निर्माणका लागि लगभग ८ अर्ब लाग्नसक्ने बताइरहेको छ। पहिलेकै अवस्थामा फर्काउन लगभग दुई वर्ष लाग्ने उल्लेख गरिएको छ।
अधिकारीहरू सरकार आफैंले बनाउन परे स्रोत जुटाउने अवस्था नरहेको बताउँछन्। जसले गर्दा सरकारले यो सडक पुनर्निर्माणका लागि जापानको मुख ताकिरहेको छ। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जापानसँग बिपी राजमार्ग पुनर्निर्माणका लागि आग्रह गरेका थिए।
उनले नेपालका लागि जापानी राजदूत किकुता युताकालाई बालुवाटार बोलाएर बाढी पहिरोका कारण राजमार्गमा निकै क्षति भएका कारण पुनर्निर्माणमा जापानले सहयोग गरिदिनुपर्ने आग्रह गरेका थिए। यसअघि २०७२ सालमा भुकम्पले क्षति पुर्यााएका बेला पनि पुनर्निर्माणका लागि जापानले अनुदान सहयोग गरेको थियो। त्यसबेला सहयोग गरेका कारण फेरि पनि सहयोग गर्नेमा अधिकारीहरू आशावादी छन्।
यो सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १९ वर्ष लगाएर निर्माण सकेको थियो। १५८ किलोमिटर लम्बाइको यो राजमार्गको निर्माण सकेर २०७१ सालको अन्तिममा सरकारलाई हस्तान्तरण गरेको थियो।
हस्तान्तरण गरेको केही समयमै २०७२ साल वैशाखको विनाशकारी भुकम्पले क्षतविक्षत बनायो। त्यसबेला मर्मतका लागि पनि जापान सरकारले एक अर्ब ८५ करोड अनुदान सहयोग गरेको थियो।
अहिले सहयोग गर्छ वा गर्दैन भन्ने विषयमा जापानले केही बोलेको छैन। सहयोग गर्छ कि भन्ने अपेक्षा गरिएको सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले बताए।
'जापानले सहयोग गर्छ कि भन्ने कुरा मात्रै भएको हो। गर्ने वा नगर्ने केही निर्णय भएको छैन। अहिले भत्किएको सडक सर्सर्ती हेरेर जापानको टोली फर्किसकेको छ। लगानी गर्ने वा नगर्नेबारे डिसेम्बरसम्ममा जानकारी गराउँछौं भन्ने प्रतिक्रिया आएको छ,' उनले भने।
यो सडक पुनर्निर्माण गर्दा पहिलेकै डिजाइनमा गर्ने हो वा विकल्प खोज्ने भन्ने विषयमा पनि छलफल भइरहेको विभागले जनाएको छ। यो सडक जापानले भित्तो नकाटी पर्खाल लगाएर बनाएको थियो।
अब बनाउँदा सोझै पर्खाल लगाएर पुनर्निर्माण गरिहाल्ने योजनामा नरहेको विभागले जनाएको छ। कसरी बनाउँदा दीगो र सुरक्षित हुन्छ भन्नेबारे थप अध्ययन हुने उल्लेख गरिएको छ।
अहिले भत्किएको ठाउँमा दुई लेनको पुल बनाउने, खोला छेउको पहाडको भित्ता काट्ने वा पहिलेजस्तै खोलाछेउबाट पर्खाल लगाएर सडक बनाउने भन्ने तीन विषयमा छलफल भइरहेको विभागले जनाएको छ।
जाइकाले आर्थिक वर्ष २०५३–५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ५८ किमी सडक) निर्माण थालेको थियो।
त्यसबेला निर्माण गर्दा प्रतिकिलोमिटर ३५ करोड रूपैयाँ लागत लागेको थियो। त्यसबेला यो पूरै सडक निर्माण गर्दा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन (जापानी येन) लागत लागेको थियो।