कमलादीको सडक भासिएको एक महिनाभन्दा बढी भयो।
साउन २५ गते भासिएको सडक मर्मत गर्न एक महिनापछि भदौ २९ गतेमात्रै ठेक्का लागेको छ।
सडक मर्मत गर्न काठमाडौंकै डिजी प्रकाश कन्स्ट्रक्सनले ठेक्का पाएको र कम्पनीलाई आशयपत्रको चिठ्ठी गइसकेको छ। ठेकेदार कम्पनीलाई सात दिनभित्र ठेक्का सम्झौता गर्न आउनू भनेको आज चार दिन पुगेको छ।
त्यहाँ चार मिटर लम्बाईको बक्स कल्भर्ट बनाउने भनिएको छ।
मर्मत गर्ने ठेक्का निश्चित भएर सम्झौता हुन बाँकी रहँदा कमलादीको सडक थप भासिँदै गइरहेको छ।
भासिएको सडकमुनि टुकुचा बगिरहेको छ। वर्षाको समयमा टुकुचामा पानीको वहाब बढ्दा सडकमा पनी जम्दा थप भासिएको सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।
‘पानी परिरहेको छ। खोलामा पानीको वहाब बढ्दा तलबाट थप खोतलिने र सडकमा पनि भल बग्दा थप भत्किएको हो,’ जोशीले भने।
यो पनिः भासिएको महिना दिनसम्म किन बनाइएन कमलादीको सडक?
सडक थप भासिएपनि ठेक्का लागिसकेकाले लागतमा तलमाथि नहुने उनले बताए।
‘खोलाको दायाँबायाँ जहाँ पहिल्यै पर्खाल थियो। त्यहाँबाटै दुईतिरबाट पर्खाल लगाएर उठाउने र माथिबाट स्ल्याब हाल्ने हो। पर्खालभन्दा पर सडक पुर्ने हो,’ सूचना अधिकारी जोशीले भने, ‘त्यसकारण जति भासिएपनि लागतमा फरक पर्दैन।’
कलभर्ट बनाउन डिजी प्रकाश कन्स्ट्रक्सनले ४९ लाख ६३ हजार ६९४.९ रूपैयाँ लागतको टेण्डर हालेको थियो। पछि १८ प्रतिशत कम गरेर 'मोडिफाइड टेण्डर' हालेको थियो।
पढ्नुस्ः विभागले आफै किन बनाएन कमलादीमा भासिएको सडक, कहिले बनिसक्छ?
त्यसअनुसार ४१ लाख हाराहारी लागत तोकेर हालेकोमा उसैलाई टेण्डर परेको हो। अब डिभिजनले आकलन गरेको लागतभन्दा २० प्रतिशत कम लागतमा ठेकेदार कम्पनीले सडक मर्मत गर्नेछ।
सूचना अधिकारी जोशीले निर्माण सुरू भएपछि सकिन कम्तिमा तीन महिना समय लाग्ने बताएका छन्।
तस्बिरहरूः