भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले लामो दुरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा आयोजित सडक सुरक्षासम्बन्धी छलफल कार्यक्रममा बोल्दै लामो दुरीमा चल्ने यातायातका सवारी साधनमा दुई जना चालक राख्ने व्यवस्था प्रभावकारी कार्यान्वयन गराउन जोड दिए।
चाडपर्वको समयमा धेरै यात्रुहरू सडकमार्ग प्रयोग गरी आवतजावत गर्ने हुँदा सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनले औंल्याए।
छलफलमा सडक सुरक्षाका विज्ञ डा.पार्थमणि पराजुली, सरोकुमार प्रधान लगायतले सडक सुरक्षा परिषदलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।
नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभाग लगायत विभिन्न निकायका अधिकारीहरूले सडक सुरक्षाका लागि भई रहेका प्रयास र योजनाबारे कुरा राखेका थिए।