देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरूवा खण्ड सञ्चालनमा आएको छ।
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरूवा सबस्टेसनसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो।
ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको हो।
ढल्केबर–इनरूवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत प्रसारण सुरू भएको छ।
यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत आयात–निर्यात हुँदै आएको थियो। अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरू गरिएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरूवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रूपमा कोशी प्रदेशका तराईका जिल्लाहरूमा विद्युत आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन सहयोग पुग्ने बताए।
त्यस्तै, नेपाल–भारतबीचको विद्युत व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको उनले उल्लेख गरे।
प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत प्रवाह गर्न सक्छ।
प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।
अहिले दुई देशबीचको विद्युत आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ। उनले कोशी करिडोर हुँदै इनरूवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर ल्याएर भारततर्फ निर्यात गर्न सकिने पनि बताए।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरूवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो।
प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरूवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ। हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ।