पूर्वी नेपालमा हुने विद्युत आपूर्तिलाई गुणस्तरीय र भरपर्दो तुल्याउने र आन्तरिक माग पूरा भएपछि भारतीय बजारमा बेच्नुपरे यहीँबाट वितरण गर्ने लक्ष्यसहित निर्मित इनरूवा सवस्टेसनबाट विद्युत वितरण सुरू भएको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरूवा सवस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन्। प्रधानमन्त्रीले उद्घाटनको औपचारिकता पूरा गरेसँगै पूर्वकै ठूलामध्येको एक इनरूवा सवस्टेसन चालु भएको हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित यो सबस्टेसन पूर्वको विद्युत वितरणका लागि बहुप्रतिक्षित संरचना हो।
‘यो ठूलो सवस्टेसन हो,’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘४०० बाई २२० बाई १३२ को यो सवस्टेसनले पूर्वको विद्युत आपूर्ति र वितरणलाई गुणस्तरीय र भरपर्दो तुल्याउनेछ।’
प्रवक्ता भट्टराईका अनुसार पूर्वी नेपालमा विद्युतका अरू ठूला–ठ्रूला पावर हाउसहरू छन्। अब सबैतिरबाट विद्युतीय शक्ति इनरूवा नै आउनेछ।
‘त्यहीँबाट पूर्वी नेपालको सबैतिर पावर सप्लाई हुनेछ,’ उनले भने।
प्राधिकरणका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोर, कटहरी–रंगेली औद्योगिक करिडोरहरूमा विद्युतको माग धेरै छ। त्यसबाहेक इनरूवा र आसपासका क्षेत्र, सिरहा, राजविराज लगायतका क्षेत्रमा पनि उद्योगधन्दा र बस्ती बढ्ने क्रममा छ।
‘यसरी माग चारैतिरबाट अधिक भइरहेका बेला सानो सवस्टेसनले भार थेग्न सक्दैन,’ प्रवक्ता भट्टराईले भने, ‘त्यसैले इनरूवा सवस्टेसनबाट सबैतिर विद्युत वितरण हुनेछ।’
इनरूवाबाट विद्युत सुनसरीको दुहबी सवस्टेसन, सुनसरीको बर्जुमा निर्माणाधीन सवस्टेसनमा बिजुली पठाइने प्राधिकरणको भनाइ छ। यसबाहेक लहान, रूपनी लगायतका स्थानमा पनि यहीँबाट वितरण सुरू भएको छ।
‘इनरूवा सवस्टेसन सञ्चालन भएपछि पूर्वमा २४ सै घन्टा भरपर्दो विद्युत आपूर्ति गर्न समस्या हुनेछैन,’ प्रवक्ता भट्टराईले भने,‘यो सवस्टेसन मुख्यतः त्यही उद्देश्यले सञ्चालनमा ल्याइएको हो।’
उनका अनुसार आन्तरिक आपूर्तिले पुग्ने अवस्था भएपछि उहीँबाट भारतको बिहार पठाउने लक्ष्य पनि प्राधिकरणको छ।
‘तर, पहिलो लक्ष्य चाहिँ पूर्वमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति नै हो,’ उनले भने।
प्रधानमन्त्रीले उद्घाटन गरेको कार्यक्रममा प्राधिकरणले दिएको जानकारी अनुसार यो सवस्टेसनमा ४ सय केभी क्षमताको विद्युत विभिन्न माध्यमबाट आउनेछ। त्यसलाई २२० केभीमा झारिनेछ। त्यसमा पनि कयौं स्थानबाट पावरहरू जोडिनेछ।
‘यदि उद्योगधन्दाहरूले विद्युत लिए त्यहीँबाट वितरण गर्छौं,’ प्रवक्ता भट्टराईले भने, ‘इनरूवाबाट दुहबीमा र निर्माणाधीन बर्जुमा १३२ केभी क्षमतामा वितरण गर्छौं।’
उनका अनुसार इनरूवामा २०० केभी क्षमताको लाइन कोशी करिडोरबाट आउनेछ। साथै ढल्केबरबाट पनि विद्युत जोडिनेछ।
‘भारतमा बेच्नुपर्यो भने हामी ४०० केभीकै भोल्टेजबाट बेच्छौं,’ उनले भने, ‘पूर्वको आवश्यकता अनुसार सबैतिरबाट आउने र वितरण गर्ने काम अब यहीँबाट हुनेछ।’
इनरूवा सवस्टेसन उद्घाटका क्रममा प्रधानमन्त्री प्रचण्डले एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गरिने र त्यस्तो सुनौलो दिन छिट्टै आउने उल्लेख गरे।
लिखित मन्तव्य प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ। घर र बस्तीमा बत्ती बाल्नमात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्।’
प्रधानमन्त्री प्रचण्डले विद्युत बेचेरै विदेशी मुद्रा आर्जन गर्ने तहमा मुलुक पुगेको पनि बताए।
‘नदीबाट विद्युत उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको छ,’ उनले भने, ‘वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो।’
तस्बिरहरूः प्रधानमन्त्री प्रचण्डको सचिवालय