'दिगो विकासको आधार' भन्ने नारासहित अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन इन्डोनेसियामा सुरू भएको छ।
इन्डोनेसियाको राजधानी बालीमा कात्तिक १४ गतेदेखि १६ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपालसहित विश्वभरका ऊर्जा उत्पादकहरूको सहभागिता छ।
सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको प्रतिनिधित्व गर्दै इप्पान उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल र व्यवस्थापक सुम्निमा उपाध्याय सहभागी छन्। त्यस्तै इप्पानका सल्लाहकारद्वय भानु पोखरेल र सुशिल पोखरेल पनि सहभागी छन्।
ऊर्जा मन्त्रालयबाट सहसचिव नवीनराज सिंह, नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रवल अधिकारी र जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम लगायतको पनि सहभागीता छ।
कार्यक्रमको उद्घाटन शत्रमा आइएचएका अध्यक्ष तथा अष्ट्रेलियाका पूर्वराष्ट्रपति माल्कोल्म टर्नबुल र इन्डोनेसियाका ऊर्जा तथा खनिज मन्त्री अरिफिन तस्रिफ लगायतले मन्तव्य राखे। कार्यक्रमका वक्ताहरूले सन् २०५० सम्म जलविद्युत उत्पादनलाई दोब्बर बनाइने बताएका छन्।
वक्ताहरूले ग्लोबल वार्मिङ रियालिटी भएको भन्दै फोसेल फ्युलको खपत घटाउनुपर्नेमा पनि जोड दिएका छन्।
नेपाल हरित तथा नवीकरणीय ऊर्जाको गन्तव्य मुलुक रहेको भन्दै हरित ऊर्जाका आयोजनामा विदेशी लगानी भित्र्याउने विषयमा इप्पान प्रतिनिधि मण्डलले विभिन्न देशका ऊर्जा उत्पादकहरूसँग छलफल गर्नेछन्।