९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) सकिएको छ।
तनहुँको भानु र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी पाँच वर्षभित्र निर्माण सकिने प्रवर्द्धक कम्पनी एमए पावर प्रालीले जनाएको छ।
पिपिएमा केही समयअघि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरिसकेका छन्।
आयोजनाको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद–बिक्री गर्ने सम्झौता भएको छ।
आयोजनाबाट हिउँदमा १८४.६७ गिगावाट आवर र वर्षायाममा ३७७.९३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ।
आयोजनाबाट २०८६ वैशाख २२ गते व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाकारी दिए।
आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआइए) अन्तिम चरणमा छ।
वित्तीय व्यवस्थापनका लागि नेपालीसँगै विदेशी लगानीकर्ताहरूसँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए।
एमए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको निर्माणमा हात हाल्ने पनि आचार्यले जानकारी दिए।