सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको छ।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सकेर सोमबार चार्ज गरिएको छ।
मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो र इनरूवा दोस्रो ठूलो सबस्टेसन हो। इनरूवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरू छन्।
जसको क्षमता ९४५ एमभिए छ। इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सकिएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत आदान–प्रदान हुन सक्नेछ। इनरूवा–ढल्केबर प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा पर्ने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यातका लागि इनरूवा सबस्टेसन मेरुदण्ड भएको बताए।
'सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिनेछ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ। यही सबस्टेसनबाट भारतसँगको विद्युत व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ', घिसिङले भने।
पूर्व–पश्चिम विद्युत आपूर्ति गर्न र भारतर्फ थप विद्युत प्रवाह तथा क्षेत्रीय विद्युत व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको उनको भनाइ छ। मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरूलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सबस्टेसनमा जोडिने छ।
कोशी करिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सकिसकेको छ। वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ। यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ। अरूण हब–इनरूवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ।
आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको बताए। वर्खाको समयमा तराईमा हुने डुवान, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरू आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो।
२०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणहरूमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे।
आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौंडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ।
इनरुवा र हेटौंडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत एक करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ छ।
सबस्टेसन निर्माण सुपरीवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो।