ग्वार्को ओभरपास तोकिएको समयमा पूरा नहुने भएको छ।
भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवप्रसाद शर्माले आगामी फागुनसम्म सकिने काम डिजाइनमा त्रुटि भएका कारण नसकिने बताएका छन्।
उनकाअनुसार आगामी असारसम्म निर्माण सक्ने गरी काम भइरहेको छ।
'त्यहाँ कालोमाटो भएका कारण सोचेजस्तो भएन, डिजाइन परिवर्तन गर्नुपर्यो जसले गर्दा फागुनमा सक्नुपर्ने यो नसकिने भएको छ। काम सकिन असारसम्म लाग्ने भएको छ,' संसदको विकास तथा पूर्वाधार समितिमा जवाफ दिँदै सचिव शर्माले भने।
समितिमा यो फ्लाइओभर निर्माण समयमा नसकिने अवस्था रहेकाले प्रश्न उठेको थियो। समितिले बुधबार यो आयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम पनि तय गरेको थियो। तर अनुगमन कार्यक्रम भने स्थगित भयो।
यसअघि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ठेकेदारलाई ओभरहेड ब्रिज राख्न स्लोप (भिरालो) पारेर उचाई बनाउने ठाउँमा पुर्ने माटोले सम्पूर्ण भार धान्छ की धान्दैन भनेर सोधेको प्रश्नमा ठेकेदारले स्पष्ट जवाफ नदिएपछि केही समय मुख्य काम रोकिएको थियो।
केन्द्रकाअनुसार ओभरहेड ब्रिज राख्नका लागि १० मिटर उचाई बनाएर स्लोप राखिन्छ। यही स्लोपबाट गाडीहरू गुडेर ब्रिजसम्म जान्छन्। गाडी गुड्दा स्लोपको ग्राउन्डले कतिसम्म भार कसरी धान्छ भन्ने स्पष्ट जवाफ केन्द्रले मागेको थियो। त्यसमा चित्त बुझ्दो जवाफ नआएपछि डिजाइन नै परिवर्तन गर्नुपरेको थियो।
सुरूको सैद्धान्तिक डिजाइनअनुसार निर्माण सुरू गर्दा व्यवहारिक कठिनाइ देखिएपछि ठेकेदार कम्पनीले डिजाइन परिवर्तन गर्नुपरेको केन्द्रको भनाइ छ।
केन्द्रकाअनुसार यहाँको माटो कमजोर भएका कारण पिलरको फाउन्डेसन(जग) जमिनमुनी ३४ मिटर गाड्नु पर्ने थियो। ३४ मिटर तल गाड्नलाई जमिनमुनी केसिङ (ढलान गर्दा राख्ने फर्मा जस्तो) राख्नुपर्छ। यस्तो केसिङ राख्नका लागि आवश्यक उपकरण नेपालदेखि भारतसम्म पनि नपाइएकाले डिजाइन नै परिवर्तन गर्नु परेको हो।
डिजाइन गर्नुअघि आवश्यक उपकरणबारे ख्याल नपुर्याउनु कमजोरी देखिएको थियो। इपिसी मोडल भएकाले केन्द्रले सबै ठेकेदारकै जिम्मामा छाेडिदिएको जनाएको छ।
यो आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको ठेक्का हो। इपिसी मोडल भनेको ठेकेदार आफैंले डिजाइन गर्ने उसैले निर्माण गर्ने हो। निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ।
इपिसी मोडल भएका कारण विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुनुपर्छ। अहिले फेरि अर्को डिजाइन स्वीकृत भएर काम भइरहेको छ।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो।
निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य हो। तर डिजाइनमै त्रुटि भएर निर्माण रोकिँदा फागुनमा नसकिने भएको हो।
यो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहन्छ। चक्रपथ सडकको फास्ट ट्र्याकमा यस्तो स्लोप रहन्छ।
ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फको चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी, बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने छ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो।
स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचको लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास सरकारको छ।
ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने उल्लेख गरिएको छ।
सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो ओभरपास १७ करोड ६ लाख रूपैयाँमा ठेक्का लागेको हो।