२५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले मंसिर पहिलो सातासम्म परीक्षण उत्पादन सुरू गर्ने भएको छ।
आयोजनाका अनुसार परीक्षण उत्पादन सुरू भएको १५ दिनपछि व्यवसायिक उत्पादन सुरू हुनेछ।
यो आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको छ। हाल आयोजनाको काम ९५ प्रतिशत सकिएको छ। बाँकी काम पनि दुई महिनाभित्र पूरा हुने आयोजनाको भनाइ छ।
आयोजना पाँच अर्ब लागतमा भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले निर्माण गरेको हो। हाल विद्युत गृहमा उपकरण जडानको काम भइरहेको छ। सिभिलतर्फ हेडबक्स तथा पाइपलाइन जडान लगायत काम सकिसकेको छ।
अब हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका केही काम बाँकी छन्। यी काम पनि अन्तिम चरणमा रहेको आयोजनाले उल्लेख गरेको छ।
प्रसारण लाइनमा १४ टावर रहने छन्। जसमा ११ वटा टावरको काम सकिएको छ। बाँकी तीन वटाको काम भइरहेको छ।
यो आयोजना २०७७ साउनदेखि सुरू भएको हो। यो आयोजनाबाट १२.५ मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ।
उत्पादित बिजुली विद्युतगृहसँगैको स्विचआर्डबाट प्रसारण लाइनमार्फत् लाहाचोकमा विद्युत प्राधिकरणले निर्माण गरेको एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गरिनेछ।