सूर्यविनायक–रत्नपार्क 'द्रुत बस सेवा' ३ असोजदेखि सञ्चालन हुने भएको छ।
संविधान दिवसका दिनदेखि 'द्रुत बस सेवा' सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।
सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग 'द्रुत बस सेवा'का विषयमा छलफल गरेका थिए।
'छलफलपछि ३ असोजमा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरियो,' मन्त्री ज्वालाले भने।
द्रुत बस असोज १ गतेदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो। तर संविधान दिवसका दिनदेखि सुरू गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन्।
द्रुत बस सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका छन्।
'अन्य काम सवै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो भदौ २६गतेदेखि सुरू गर्छौ,' उनले भने।
विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरू हुने भएको हो।
त्यसैगरी, यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ।
'द्रुत बस सेवा'का लागि आवश्यक पर्ने २५ वटा बसहरू तयारी अबस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।
व्यवसायीहरूसँग सहकार्य गरी उनीहरूकै बसहरू सञ्चालन गर्न लागिएको हो। करिब ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने छन्।
बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस अवधारणा ल्याएका हुन्।
यातायात विभागका महानिर्देशकको सरूवा भएपछि 'द्रुत बस'का विषयमा केही आशंकाहरू उब्जिएका थिए। ‘अब आशंका पाल्नु पर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ,’ मन्त्री ज्वालाले भने।
अहिले बिहान र साँझ कार्यालयमा 'द्रुत बस' सञ्चालन हुने भएको छ। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ।