भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गर्ने भएका छन्। लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले ५ आयोजनामा निर्माण गरिरहेको छ।
नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्ने उनको सचिवालयले जनाएको छ। काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भनेजति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन।
‘मन्त्रीले १८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय गर्नुभएको छ’ मन्त्रीका नीजि सचिव रामहरी शर्माले भने ‘छलफलपछि मन्त्रीज्यू आफै स्थलगत भ्रमणमा पनि जाने कार्यक्रम तय भएको छ।’
नेपाली सेनाले काठमाडौं–तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ। यी सवै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाएको सहसचिव अर्जुन थापाले बताए।
काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ। डिपीआर संशोधनपछि लागत मुल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ। टनेल थपिदा बाटोको लम्वाई पनि कम भएको छ।
मन्त्री ज्वालाले सडक विभागअन्तर्गत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागु गरेका छन्। तर नेपाली सेनाले आयोजना गरेका आयोजनाको तालिका बनेको छैन। तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ।