नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमबार वृक्षरोपण गरेको छ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवा अन्तर्गतका विद्युत उत्पादनगृहरूमा कार्यारत कर्मचारीहरूले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षरोपण गरेका हुन्।
कार्यालयहरुले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेका छन्।
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्नेछ।
प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुमा कार्यरत कर्मचारीहरूले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत केन्द्र परिसरमा बिरुवा रोपेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपण कार्यक्रमको सुरूआत गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरूले विभिन्न प्रजातिका तीन सयभन्दा बढी बिरुवा रोपेका छन्। नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा त्यसकै रोपिएका हुन्।
कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्पूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिए। वातावरण संरक्षण र विकासलाई एक अर्कार्को विरोधीको रुपमा चित्रण हुने गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले वृक्षरोपणले दुई विषय एक अपासका विरोध हैनन् भन्ने सकारात्मक सन्देश जाने बताए।
सचिव घिमिरेले वृक्षरोपण गरिएका बिरुवाहरूलाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गरे। कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत आयोजनाहरूको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताए।