भारत बिहारको बथनाहाबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सञ्चालन हुने वाचासहित बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको छ।
कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साही बनेका छन्। रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने बताउँदै उद्योगीहरूले यसको बिनाशर्त नियमितताको माग पनि गरेका छन्। बथनाहाबाट एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर लामो छ।
विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर केहीबेर अघि कार्गो रेल विराटनगर आइपुगेको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको हो।
दुवै देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेल सेवाको संयुक्त रूपमा थालनी गरेका हुन्।
औद्योगिक कच्चा पदार्थ बोकेर रेल विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) आइपुग्दा नेपाली पक्षले भव्य स्वागत गरेको छ। स्थानीय उद्योगी व्यवसायी, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूले स्वागत गरेका हुन्।
‘हामीले लामो समयदेखि कार्गो रेल सेवा सञ्चालनको माग गर्दै आएका थियौं’, मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका उद्योगी नविन रिजालले भने ‘हाम्रो माग बल्ल पूरा भएको छ। अब यसको नियमितता हुनुपर्छ भन्ने हाम्रो माग छ।’
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका रिजालका अनुसार रेलबाट औद्योगिक सामान ढुवानी हुन थालेपछि अहिलेको भन्दा ढुवानी खर्च आधाभन्दा सस्तो पर्नेछ।
‘अहिले हामीले औद्योगिक कच्चा पदार्थ प्रतिकेजी सातदेखि आठ रुपैयाँसम्ममा ढुवानी गरिरहेका छौं’, रिजालले भने, ‘रेल सेवाबाट सामान ल्याउँदा प्रतिकेजी अढाई रुपैयाँ मात्रै पर्छ।’
रेल सेवाबाट सामान ढुवानी हुँदा अहिलेभन्दा छिटो हुने पनि उनको भनाइ छ।
‘अहिले हाम्रो सामान कोलकाताबाट तीन चार दिन लगाएर मात्रै विराटनगर आइपुग्छ’, उनले भने ‘तर, अब कोलकाताबाट एकै दिनमा सामान विराटनगर आइपुग्छ। यो सेवाले हामीलाई ठूलो राहत मिल्नेछ।’
विराटनगरस्थित रानी भन्सार नाकाबाट दैनिक सरदर ३ सय ट्रक नेपाल आउने गरेको छ। जसमा झण्डै ४ हजार ५ सय टन मालवस्तु हुन्छ।
‘त्यसमध्ये ८० प्रतिशत मालवस्तु भारतबाट र २० प्रतिशत मालवस्तु तेस्रो मुलुकबाट आउने गरेको छ’, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयस पोखरेलले भने, ‘कार्गो रेल नियमित सञ्चालन हुँदा तेस्रो देशबाट आउने शतप्रतिशत र भारतीय बजारबाट आउनेमध्ये ६० प्रतिशतभन्दा धेरै सामान रेलबाटै आउने हाम्रो अनुमान छ।’
भारतको बथनाहfबाट मोरङको विराटनगरस्थित आइसिपीको कष्टम यार्डसम्म कार्गो रेल ल्याउने लामो प्रतिक्षा बिहीबार समाप्त भए पनि अहिलेभन्दा पनि अझै वरसम्म रेल ल्याउने नेपाली सपना भने मुआब्जा विवादले अलपत्र नै छ।
रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि विराटनगरको दक्षिणी विन्दुमा आइपुगेको रेल त्यहाँभन्दा ८ किलोमिटर उत्तर कटहरीसम्म सञ्चालन गरिने तयारी छ। यद्यपि बाँकी आठ किलोमिटर क्षेत्रमा रेलको लिक निर्माण कार्य जारी छ।
बथनाहा – कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ।
कटहरीमा लगभग ६ विगाहा जमिनको मुआब्जा विवादले काम रोकिएको छ। यदि यो विवाद मिलेर रेल कटहरीसम्म आइपुग्ने हो भने ढुवानी खर्च अझै घट्ने र झण्डै आठ किलोमिटर दूरी छोटो हुने उद्योगीहरूको भनाइ छ।
बिहारको बथनाहाबाट मोरङको कटहरीसम्मको रेलको लिक निर्माण कार्य २०६८ मा सुरू भएको थियो।
रेलको लिक निर्माण कार्यको प्रारम्भिक लक्ष्य अनुसार सबै काम २०७३ मै सकिनुपर्ने थियो।
यद्यपि कटहरीको मुआब्जा विवाद हल हुन नसक्दा यो काम अहिलेसम्म अपुरै छ। त्यसबेला बनेको मुआब्जा निर्धारण समितिले कटहरीका जग्गाधनीहरूलाई रेलको लिकमा पर्ने जग्गाको मूल्य प्रतिकट्ठा २ लाख तोकेको थियो। मुआब्जाको दर ज्यादै कम्ती भएको भन्दै जग्गाधनी सर्वसाधारणले विरोध जनाएका थिए।
मुआब्जाको दर हेरफेर हुनुपर्ने मागसहित अदालत पुगेका सर्वसाधारणलाई अदालतले राहतकारी फैसला गर्दै प्रतिकट्ठा ८ लाख रुपैयाँका दरले मुआब्जा दिन भनेको थियो। सरकारले अदालतको फैसला अनुसार मुआब्जा दिनै नचाहेको भन्दै कटहरीका जग्गाधनीहरू फेरि सर्वोच्च पुगेका छन्। यही विवादले कटहरी क्षेत्रमा लिक बिछ्याउने काम अघि बढ्न सकेको छैन।
बथनाहा रेल–वे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको दूरीमा पहिलो पटक २०७६ कात्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो। यो रेलको लिकको २०७६ सालमै सफल परीक्षण भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए।
रेल सेवा नहुँदा बथनाहासम्म आएको रेल कार्गोको लोड/अनलोड गरी फेरि ट्रकमा लोड गरी भन्सारसम्म ल्याउनु पर्ने र जाँचपास गरी गन्तव्यतर्फ लैजानु पर्ने बाध्यता थियो। अब यो झन्झट पनि अन्त्य भएको छ।