संसारमा अटिजम र एटेन्सन डिफिसिट हाइपर एक्टिभ सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बालबच्चाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको देखिन्छ।
यस्ता लक्षण भएका बालबच्चा आफ्नै सुरमा रमाउने, मानव अन्तर्क्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्याउनु कहिले आक्रमक रूपमा प्रस्तुत हुने र कहिलेकाहिँ जबर्जस्ती प्रतिकार गर्ने गर्छन्।
बालबालिकामा अटिजम र एडिएचएस जस्ता विकृति के कारणबाट हुन्छ? भन्ने कुरा विज्ञानले आजसम्म पनि पत्ता लगाउन सकेको छैन। खानामा सुधार, केही थेरापी र व्यायाम अपनाउन सल्लाह र सुझाव दिने गरेको पाइन्छ।
खाद्य र हिलिङ फुडको अवधारणा अनुसार खानामा हुने गडबडी प्रमुख कारण रहँदा शरीरलाई हानिकारक हुने जीवाणु वा केमिकल आन्द्रामा पुग्ने गर्छ।
उक्त समयमा एकातर्फ आन्द्रामा रहेका पाचन प्रक्रियामा सहयोग पुर्याउने जीवाणुहरूको नियमित कार्य प्रक्रियामा अवरोध पैदा हुन गई शरीरले उचित पोषण तत्व पाइरहेको हुँदैन।
अर्कोतर्फ आन्द्रामा रहेको हानिकारक जीवाणुसँग लड्ने क्रममा सङ्क्रमणको लागि प्रतिरोध क्षमता घटिरहेको हुन्छ। बच्चा निष्क्रिय र हल्का बिरामी पनि पर्न जान्छ।
बच्चा निष्क्रिय र हल्का बिरामी रहेको अवस्थामा कुनै पनि प्रकारको रोग प्रतिरोधात्मक खोप दिइँदा त्यसले बच्चामा अटिजम र एडिएचएस जस्ता विकृतिको विकास हुने सम्भावना बढ्ने खोपविरूद्ध कार्यमा संलग्न अभियान्ताको रूपमा काम गर्ने चिकित्सक दाबी गर्छन्।
कतिपयले मम्प, मिजल्स र रुबेला खोप यसमा वास्तवमै अलि बडी जिम्मेवार रहेको शङ्का गर्छन्। उक्त दाबा हालसम्म स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन।
महिला गर्भवती भएको १६ औं दिन आसपासमा एम्ब्रोइनिक तन्तुबाट न्यूरल प्लेट बनी मानिसको स्नायु प्रणाली विकास हुन थालेको भेटिने गरेको बताउँछ न्यूरो-साइन्स। त्यसको २-४ दिनभित्रै न्यूरल ग्रोभको स्पष्ट स्केच विकास हुँदै २१ सौं दिन पुग्दा नपुग्दा न्यूरल ग्रोभ न्यूरल प्लेटसँग जोडिँदै न्यूरल ट्युब बनिसक्छ। न्यूरल ट्युबको अगाडिको भागबाट टाउकोमा हुने अगाडिको, बीचको र पछाडिको मस्तिष्क बन्छ भने बाँकी मेरुदण्डभित्रको स्पिनल कर्ड बन्ने गर्छ। मात्र ७ हप्ता पुग्दा/नपुग्दा मस्तिष्कको तीनै भागको तीव्र विभाजन हुने क्रम सुरू हुने र सशक्त स्नायु प्रणालीको विस्तारको अभियान सुरू हुने गर्छ।
महिला गर्भवती हुनु अगाडि गर्भाशयमा रहेको डिम्बको स्वस्थ (मदर जिनेटिक कोड), पुरुष विर्यको तन्दुरुस्ती (फादर जिनेटिक कोड), गर्भधारण हुने क्रमको महिला- पुरुषको मनोवैज्ञानिक हालत, गर्भवती हुँदै गरेकी महिलाको शारीरिक र मानसिक स्वस्थ अवस्था आदिले गर्भाधारणपछि बसेको गर्भको हराभरापनलाई प्रभावित गर्छ। गर्भवती बनिसकेकी महिलाको कोखमा रहेको गर्भको सन्तुलित र सुरक्षित विकासमा भने गर्भवती महिलाले लिने चिन्ता, स्वासप्रस्वास, पानी, खाना, जीवन पद्धति, वरिपरिको वातावरण र त्यसले पुर्याएको मानसिक र शारीरिक स्वस्थ तथा तन्दुरुस्तीमा निर्भर गर्छ।
एक अनुमानमा बालबालिकामा स्नायु प्रणाली विकास हुने क्रममा प्रत्येक मिनेट कम्तीमा २ लाख ५० हजार न्यूरोनको केसिका बन्ने गर्छ। बच्चा जन्मेको २ वर्षसम्म यो तीव्र विकास क्रम जारी रहन्छ। यही २ वर्षभित्र मानिसको जीवन भर हुने दिमागको वृद्धिको ८०% वृद्धि हुने गर्छ। प्रत्येक सेकेन्ड सेकेन्डमा बन्ने न्यूरोनको स्वस्थ र तन्दुरुस्ती त्यो न्यूरोनको विभाजन भएर बन्ने अन्य न्यूरोनको सुरक्षित भविष्यको निर्णायक हुने गर्छ।
गर्भवती महिलाको मानसिक र शारीरिक स्वस्थ तथा तन्दुरुस्तीले उक्त न्यूरोन विभाजनलाई पूर्ण रूपमै प्रभावित गर्ने गर्छ।
समग्रमा एक गर्भवती महिलाबाट स्वस्थ बच्चा पैदा हुन माथि उल्लिखित धेरै अवस्था र परिस्थितिले साथ दिनुपर्ने हुन्छ। महिलामा गर्भ रहेको दिनबाट बच्चा दुई वर्षको हुँदासम्मको समय बच्चाको जीवन भरको सन्तुलित स्वास्थ्य र मनोवैज्ञानिक विकासको लागि अत्यन्त चुनौतीपूर्ण एवम् महत्त्वपूर्ण रहन्छ। २ वर्षभित्रै ८० प्रतिशत दिमागको वृद्धि हुने चक्रमा पहिलो ३ वर्ष बाल बालिकाहरूमा अटिजमको सङ्क्रमण अत्यधिक धेरै हुन जाने भेटिएको छ।
बच्चा अवस्थामा मानिसमा विकास हुने अटिजम कुनै रोग हैन। यो त केबल हालसम्म प्रस्ट रूपमा बुझ्न नसकिएको कारणबाट स्नायु प्रणालीको विकासको क्रममा दिमागको सन्तुलित विकास हुन नसक्दाको अवस्था हो। यस्तो अवस्था जसमा बच्चामा देखिनुपर्ने तल उल्लेख गरिए अनुरूपको आशातित सामान्य आचरणभन्दा फरक बानी व्यवहार र गतिविधिहरू विकास हुँदै गरेको महशुस हुन्छ। सामान्य रूपमा उक्त उमेरका बालबालिकामा देखिनुपर्ने मनोवैज्ञानिक वृत्तिविकास नभइरहेको अनुभव गराउँछ।
यद्यपी वेदान्तमा अटिजमबारे सिधै केही कतै लेखेको भेटिँदैन। वेदान्तमा उल्लेख गरिए अनुरूप अटिजम मनोवैज्ञानिक वृत्तिविकाससँग सम्बन्धित मानसिक दुर्बलता दिने विकृति अन्तर्गत पर्दछ।
मनोवैज्ञानिक वृत्तिविकाससँग सम्बन्धित मानसिक दुर्बलतालाई केही हदसम्म वेदान्तले आनुवंशिक अथवा शुक्रकीटको दोष हुनसक्ने भनेको छ।
मानसिक दुर्बलता विकास हुनुको मुख्य दोष आनुवंशिक दोषभन्दा जन्म पूर्व र जन्म पश्चात् बच्चामा स्नायु प्रणालीको विकासको क्रममा पुग्न गएको कमीकमजोरी तथा क्षति मुख्य रहने मान्दछ वेदान्त।
सास फेरिने हावा, पानी, खानामा हुने पोषण तत्त्व, आन्द्रामा हुने गडबडी, विषादी, भिटामिन- मिनिरल - लवण जस्ता सूक्ष्म तत्वको कमी, गलत प्रकृतिका खोप, औषधि, मनोवैज्ञानिक असन्तुष्टि, स्ट्रेस, दूषित वातावरण आदि विषयहरू बच्चामा स्नायु प्रणालीको विकासको क्रममा नकारात्मक प्रभाव दिने तत्वहरू हुन भन्नेमा वेदान्त पनि सहमत छ।
अटिजम भएका बालबच्चाहरूमा प्राय: तल उल्लेख गरिएजस्ता प्रकृतिका दुर्बलताहरू देखिने गर्छन् :
क) सामाजिक गतिविधिमा देखिने दुर्बलता:
१) शब्द र साङ्केतिक रूपमा इसारा गरेर समेत भावना आदान प्रदानमा समस्या देखिनु वा चुस्त नहुनु
२) एकाघरका परिवारका सदस्य र हेरचाह गर्ने व्यक्तिहरूसँग समेत सामाजिक र भावनात्मक रूपमा संसर्गमा आउने, जिस्कने, खेल्ने आदि गर्न नसक्ने
३) एक्लै अरूलाई वास्तै नगरी कहिले कुनै एकै स्थानमा लामो समय एक्लै रहेर र कहिले जता मन लग्यो उतै दौडने आदि गरी एक्लै खेल्ने
४) आँखामा आँखा जुधाएर कुराकानी वा भावनात्मक आदान प्रदान नगर्ने ।
ख) बोलीचालीमा देखिने दुर्बलता:
१) बोली ढिलो फुट्ने। सामान्य बच्चाहरू बोलचाल गर्ने उमेर पुगेपछि वा समय घुर्की सक्दा पनि बोलचाल सुरू नगर्ने
२) बोलीचालीको भाषामा भनेको कुराको अर्थ सजिलै बुझी नहाल्ने। भनेको शब्द नबुज्ने वा बुझ्ने शक्ति विकास नभएको
३) छिटो छिटो बोल्ने लेख्ने त गर्ने तर के बोलेको हो वा लेखेको हो बुझ्न नसकिने ।
ग) व्यक्तिगत गतिविधिमा देखिने दुर्बलता:
१) कान नसुन्ने बहिरो जस्तो व्यवहार देखाउने
२) अकारण वा सानो कुरामा पनि झट्टै झिँजो- झ्याउ मान्ने, उत्तेजित हुने, रिसाउने, संवेदनशील बनिदिने र अप्राकृतिक प्रतिक्रिया दिने आदि
३) दैनिक रूपमा सानो सानो कुरामा, आफूले चाहेजस्तो नहुँदा तुरुन्तै निराश र बेखुसी बन्ने। आफ्नै बाआमाको समेत सहयोग नमाग्ने र नलिने
४) अलिबढीनै चञ्चल, नतिजा के होला भन्ने वास्तानै नगरी बिनासोच विचार वा अत्यन्त कम सोच विचारमा आफूले देखेको वा चाहेको काम गरिहाल्ने
५) सामान्य शारीरिक गतिविधिभन्दा फरक आफ्नै शरीरलाई नै आघात हुन पनि सक्ने गरी हात बटार्ने, पन्जाहरू तलमाथि गर्ने, थपडी मार्ने, हल्लाउने, टाउकोले भित्तामा ठोक्ने, खुट्टाको औंलाले मात्र हिँड्ने जस्ता गतिविधि देखाउने।
घ) मनोवैज्ञानिक अवस्था / दिमागी हालत:
१) दिमागभित्र रहने रसायनहरूको एक रूपबाट अर्कोमा परिवर्तन हुने प्रक्रियामा नर्वस सेलमा उत्पन्न हुने शारीरिक करेन्टको प्रवाह कहिले जरुरी भन्दा धेरै उत्पन्न भई उत्तेजित गरिदिने, त कहिले रोकिएर अरू न्यूरोनलाई खबरहरू आदानप्रदान गर्ने प्रक्रियामै बाधा पुराईदिने अप्ठ्यारो परिस्थिति पैदा हुने। बच्चाले कुन अवस्थामा कस्तो व्यवहार गर्ला भनी अन्दाज गर्न नसकिने हुन्छ। जस्तै कुनै पनि कुरा कहिले चाहिने भन्दा बढी शक्ति लगाएर समात्ने। कहिले समात्न भन्दा पनि कुनै सहभागिता नै नदेखाउने आदि
२) केही बच्चा बच्चीहरू बढी प्रतिभावान देखिने गरेको छ
३) आफ्नो सुरक्षा, हेरचाह र दैनिकी सुचारु गर्न जरुरी मानिने बोलीचाली, भावनाको आदानप्रदान आदि क्षमतामा पहिचान गर्न सकिने मात्रामै कमी देखिनु। उक्त कमी कमजोरी जन्मेको समय देखि वा सानो रहँदा हो कि जस्तो लाग्ने र पछि उक्त क्षमता विकासमा वास्तवमै ढिलाइ हुनु वा सामान्य भन्दा फरक प्रकृतिको हुनु। यस्तो अवस्थामा ५०-७० प्रतिशत बच्चाको मेडिकल आइक्यू स्कोर ७०-७५ भन्दा कम देखिने र मेडिकल रूपमा डाक्टरले "मेन्टल्ली रिटार्ड" भनी पहिचना गर्ने गरेको पाइन्छ।
४) डिसअर्डर सुरू भएको प्रथम वर्षमा बच्चाको निद्रा बिथोलिने गरेको भेटिन्छ।
२०१८ को जुनमा अमेरिकन सरकारले आफ्नो अर्गोंने नेसनल ल्याबमा २७ हजार वटा ग्राफिक प्रोसेसर प्रयोग गरी लिन प्याक मापदण्डमा १४३.५ पेन्टाफ्लप्स क्षमताको “समिट” नामक संसारकै सबभन्दा शक्तिशाली सुपर कम्प्युटरको स्थापित गराउन सफल भयो। संसारकै आजसम्मको ठूलो सुपर कम्प्युटरभन्दा पनि १० गुना बढी क्षमता रहेको मानिसको दिमागका कणहरू न त कलर कोडेड तारहरूले एक आपसमा जोडिएका हुन्छन्, न त तार जस्तो कुन तन्तु कता जोडिएको छ तेती सजिलै यकिन गर्ने सकिने अवस्था रहन्छ। दिमागका ससाना तन्तुहरू तिनै तार जस्तो कुनै प्याटर्नमा मिले जस्तो गरी बसेको भान त हामीलाई पर्छ । तर, तारका सट्टा त्यहाँ त केसिका र न्यूरोनहरू हुने गर्छन्।
यस्तै कम्प्लेक्स परिबन्दका कारण स्नायु प्रणालीको विकासको क्रममा दिमागको सन्तुलित विकास र सञ्चालनमा अवरोध पुग्ने गरी विकास हुन जाने विकृतिको निवारणको उपचारको लागि अहिलेसम्म कुनै औषधि विकास गर्न सकिएको छैन। रोगको निदानमा हैन रोगले दिने प्रतिकूल अवस्थाको नियन्त्रणको लागि दिइने ओखती पनि जीवन भरिनै खानुपर्ने अवस्थाका हुने गरेका छन्। मेन्टल विकृति निवारणमा एक समस्याको निदानमा लिइने ड्रगहरूले अर्को विकृति निम्ताउने र जीवनलाई अरू जटिलतामा धकेलिदिने बाटोमा अघि बढिरहेछ पश्चिमा औषधि विज्ञान।
उल्लिखित सबै जटिलताका बीच पछिल्लो समयमा आएर उजागर भएको तथ्यहरूले के बताउँछ भने तपाईं जुनसुकै ड्रग लिनुस् वा खानुस्, त्यसले तपाईंले कसरी सोच्नु हुन्छ र के महशुस गर्नु हुन्छ भन्ने कुरामा प्रभाव पारिदिन्छ। स्वास्थ्य मानिसको दिमाग र शरीरका सम्पूर्ण गतिविधि सामान्य रूपमा चलाउन समर्पित हालसम्म पहिचान भएका १०० भन्दा धेरै किसिमका न्यूरो-ट्रान्स-मिटरहरूले आपसमा गर्ने सूचनाको प्रशोधन र सञ्चारको भूमिकामा जटिलता थपिदिन्छ। अन्तत: तपाईंको न्यूरोनले गर्ने व्यवहारलाई नै दीर्घकालमा नकारात्मक असर गर्ने गर्छ।
शरीरले आफू अनुरूप काम गर्न बाह्य तत्वले प्रत्यक्ष वा परोक्षरूपमा असर गरिरहेको हुन्छ। शरीरले उपयुक्त वातावरण पाएमा रोगसँग जुध्ने प्रतिरोधात्मक क्षमता बलियो हुन जान्छ।
शरीरको बाहिरी छाला, म्यूकस, सिलिया जस्ता सुरक्षा कवच तोडी शरीरको रगतसम्म पुग्न सफल विषादी र मुलत: कीटाणुहरूलाई रगतमा रहेको सेतो केसिका फेगोसाइटले खाइदिएर तिनीहरूबाट हुनसक्ने जोखिम बाट बचाउने गर्छ। रगतबाहेक फेगोसाइटले फोक्सो, कलेजो, आन्द्राजस्ता भागहरूमा रहेर शरीरको प्रतिरक्षा गर्ने गर्छ।
सेतो रगतको केसिकामा फेगोसाइटबाहेक ‘नेचुरल किलर सेल’ हुने गर्छ। जब शरीरमा भाइरसको सङ्क्रमण हुन्छ तब नेचुरल किलर सेलले ‘इन्टरफ़ेरोन’ नामक केमिकल पैदागरी भाइरसलाई निष्क्रिय पारिदिन्छ।
शरीरमा चोटपटक लाग्दा वा अन्य सङ्क्रमण हुँदा सङ्क्रमणविरूद्ध लड्न स्पेसल प्रोटिन बनाएर, रगतको बहाव बढाएर उक्त स्थानसम्म फेगोसाइटहरू पुर्याएर किटाणुहरू मार्ने र उत्पन्न भएका विषादीहरू शरीर बाहिर फाल्न इनफ्लामेसन जस्ता प्रक्रियाहरू अवलम्बन गरी आफूले आफ्नै स्व-हिलिङ प्रक्रिया नियमित रूपमा सञ्चालन गरिरहेको हुन्छ।
शरीरमा इनफ्लामेसन प्रक्रियाहरू सुचारु रहँदा शरीर प्राय: दुख्ने, सुन्नने, रातो हुने, तातो हुने आदि गर्छ। त्यसैले ज्वरो आउनुलाई शरीरले आफूमा भइरहेको सङ्क्रमणविरूद्धको प्रतिरक्षाको लडाइँ लडिरहेको अवस्थाको रूपमा बुझिन्छ।
हामीले बिमारी हुँदा प्रयोग गर्ने ओखतीहरू शरीरको आफ्नै हिलिङ शक्तिलाई टेवा दिने नियतले बनेका हुन्छन्।
उदाहरणको लागि हामीले प्रयोग गर्ने कतिपय खोप एउटा अति पुरानो तर शरीरलाई रोग लाग्नबाट बचाउने प्रभावकारी तरिका छ। जसले हाम्रो शरीरको प्रतिरोध क्षमता बनाई राख्न मद्दत गर्छ। हात भाँचिदा लगाइने प्लास्टरले भाँचिएको भाग समिपमा राखिदिन्छ ताकी शरीरको आफ्नै हिलिङ प्रक्रियाबाट टुटेको हाड जोडिन्छ, तन्तु, नशा आदि पुन: उकासिन्छ। दुखेको बेला आफैं निको हुने समयमा खाइने पेन किलरहरूले पीडा सहने शक्ति दिन्छ।
जब तपाईंको औंलामा काटिएर सानो घाउ बन्छ, रगत बग्छ, जम्छ, अनि केही समयपछि आफैं निको हुन्छ। हाम्रो शरीरले प्रत्येक सेकेन्डमा लगभग २.५ मिलियन रातो रगतको सेल र लगभग २ लाख ५० हजार जति सेतो रगतको सेल बनाउँछ। शरीरको एउटा निउरोनले प्रति सेकेन्ड लगभग ८३३ सम्म इम्पल्सेसहरु सञ्चार गर्ने गरेको बुजिन्छ भने हाम्रो कलेजोले ६५७ किसिमका कार्यहरू एकैसाथ गरिरहेको तथ्य जानकारीमा आएको छ।हाम्रो जानकारीमा रहेर वा नरहेर हाम्रा शरीरका सबै नै गतिविधिमा स्नायु प्रणालीको भूमिका रहने गर्छ।
मनोबैज्ञानिक विकृतिहरूमा स्नायु प्रणालीमा संलग्न केसीका बाट केसीकामा हुने सिगनलिंग वा सूचना सञ्चार प्रक्रियामा गडबडी हुने गर्दछ। अनुमान गरिए अनुसार १०० ट्रीलियन केसिकाहरु बिच सञ्चार सम्पादनको लागि केसीकाले विशेष केमिकल बनाएर सिगनल उत्पन्न गरी नजिकको केसीका लाई प्रभावमा लिन्छ। अर्को केसीकाले स्पेसल रिसेप्टर मार्फत प्राप्त गरेको उक्त सिगनल अर्कोलाई पुन उस्तै प्रक्रियाबाट अर्को केसीकामा पुराउने क्रम अन्त सम्म दोहरिन्छ।
सम्पूर्ण शरीरभरि सूचना सञ्चार प्रक्रिया पुरा गर्न कम्तीमा ११ हजार सिगनलिङ्ग फेक्टर र तिनका स्पेसल रिसेप्टर रहने अनुमान छ। शरीरको आफ्नै हिलिङ्ग प्रक्रियाले शरीरको आफ्नै सिगनलिङ्ग सिस्टमको आफ्नै काम गर्ने ठर्रा वा प्रक्रियामा व्यवस्थापन, सञ्चालन, मर्मत संहार र पुनर्ताजकी गर्ने गर्छ।
शरीरको सिगनलिङ्ग प्रक्रिया कुनै कारणवश काम नगर्ने अवस्था आउँदा हामी मनोबैज्ञानिक असन्तुलनको सिकार हुने सम्भावना धेरै हुन्छ। कारण बस काम नगर्ने अवस्था आउँदा शरीरको हिलिङ्ग प्रक्रिया बारे पूर्ण जानकारी नभई रहेको हालको अवस्थामा कुनै पनि बाहिरबाट दिइने ड्रगले उत्पन्न गर्ने सिगनलले प्राकृतिक रूपमा शरीरले शरीरलाई हिलिङ्ग गर्ने प्रक्रियामा सहयोग गर्ने अति न्यून सम्भावना रहने हुन्छ। कुनै कुनै ड्रगहरू तत्कालीन रूपमा उपयोगी देखिएता पनि तिनीहरूले शरीर दुखेको बेला आफैं निको हुने समयमा खाइने पेनकिलरहरुले दर्द सहने शक्ति दिए जस्तो केही आनन्द दिने तर जिन्दगी भर ओखती लिई रहनु पर्ने र ओखतीकै कारण अन्य रोग वा विकृति जन्मने प्रक्रियाबाट गुज्रनु पर्ने हालको अवस्था हो।
स्नायु प्रणालीको विकासको क्रममा आउने विकृतिहरूमा विविध कम्प्लेक्सनका बीच आउने विकृतिहरूबाट सके पूर्ण रूपमै मुक्त हुन र नसके त्यसका कारण शरीरमा पर्न जाने नकारात्मक प्रभावहरूलाई कम गर्न हाम्रो शरीरको आफैंले आफैंलाई उपचार गरी तन्दुरुस्त बनाउन सक्ने अविश्वसनीय तागतको सदुपयोग गर्नु बाहेकको विकल्प हाल हामीसँग उपलब्ध छैन। जसको लागि मानव शरीरलाई लामो समयसम्म जीवित, स्वास्थ्य र गुणस्तरीय जीवन पद्धतिमा कायम राख्न सहयोगी हुने प्राकृतिक नियमको सिद्धान्त, तरिका र जीवन शैली अपनाउनु जरुरी हुन्छ। जुन विकल्प आयुर्वेद र योग सँग छ।
अटिजम जस्ता स्नायु प्रणालीमा आउने निर्बलताका समस्या देखिनुमा विविध कारण हुनसक्ने देखिन्छ। सामान्य रूपमाभन्दा समाजमा अवस्थित विभिन्न कुरीतिको पछि लागेर नयाँ दुलही वा बुहारीले यो गर्न नहुने, यो गर्नुपर्ने भन्ने लामो फेहरिस्त लादिने प्रचलनले गर्भ रहनु भन्दा अगाडिको तरुण महिलामा दिएको मानसिक र सामाजिक दमन र मुख्यतः मनोवैज्ञानिक अत्याचार धेरै अर्थमा कारक बन्न गएको छ। आफ्नै हाडनाता, एकै पूर्बजहरूका सन्तान बीच, सगोत्री, आफ्नै साँगुरो जात खोजी-खोजी गरिने विवाह आदिले निम्ताउने सीमित घेराभित्रको जीन क्रस हुने परिस्थिति पनि मानसिक निर्बलताका सहयोगी मानिन्छ।
सम्भोगको समयमा महिला-पुरुष बीच हुनुपर्ने सहमतिको अनिवार्यता महशुस नगरिनु, विवाहित लोग्ने-स्वास्नीको नाममा स्वैच्छिक बलात्कार दोहोरिनु आदि जस्ता गतिविधिले महिलाको आत्मा सम्मानमा पुग्ने ठेस, यौन असन्तुष्टि र मनभित्र गहिरोसँग गाडेर बसेको चरम हैरानी र निराशा मैथुनको उत्कृष्ट उपहारको रूपमा आउने नयाँ शिशुमा नकारात्मक सोचको जरा बसाल्ने मनोविज्ञान निर्माणमा प्रत्यक्ष सरोकार राख्ने अनुमान गरिन्छ।
महिला गर्भवती बनेको चौथो महिनामै गर्भको हुर्कंदो बिउको केन्द्र मुटुमा कन्ससनेसको विकास हुने गर्छ। उक्त समयमा पेटमा बढ्दै गरेको भ्रूणले आफूलाई जरुरी पोषण तत्त्व आमाको चाहनाबाट प्रकट गर्ने गर्दछ।
विभिन्न चलन र सामाजिक मान्यताका आडमा गर्भवती समयमा आमाको कुनै विशेष खानपानको इच्छा पूरा नहुनु बढ्दो भ्रूणको वृद्धि विकासमा अवरोधक रहने गर्दछ। त्यसो त गर्भवती आमाको स्वस्थलाई प्रतिकूल वातावरण दिने सबै प्रकारका तनाव / स्ट्रेस, शारीरिक तथा यौनिक हिंसा आदिले बच्चाको मनोवैज्ञानिक फिजियोलोजी बिथोलिनेसम्मको वातावरण बन्न जान्छ।
चार महिना कटिसकेको गर्भवती आमाको धूम्रपान गर्ने, अत्यधिक रक्सी सेवन गर्ने, धेरै सुत्ने र हल्का हिँडडुल नगर्ने बानीले बच्चामा कमजोर आइक्यू , कमसल स्मरण शक्ति र जरुरत भन्दा फरक सक्रियता वा हाइपर-एक्टिवपन थपिदिन्छ।
आयुर्वेदमा बच्चा जन्मने क्रममा हुने प्रश्रव वेदनामा प्राकृतिक रूपमा हुने भन्दा ज्यादा शक्ति प्रयोग हुनु, योनिद्वाराबाट नानी-बाबु बाहिरिने क्रममा बच्चाको मुखमा रहेको र्याल आदि तत्काल सफा गरी साल-नालबाट हटाइ केन्द्रीय स्नायु प्रणाली र स्वासप्रस्वास सुचारु गर्ने आदि क्रममा गडबडी हुँदा स्वासप्रस्वासमा हुने अवरोधका कारण बच्चाले भोग्ने उकुसमुकुस वा सोफोकेसन अटिजम हुने प्रबल कारण मान्ने गरिन्छ।
संस्कृतको शब्द अग्नि लाई आयुर्वेदमा 'डाइजेष्टिब फायर' को रूपमा लिइन्छ। खानाका रूपमा हामीले खाएको पदार्थ र शरीरले वातावरणबाट प्राप्त अन्य पदार्थहरू (हावा, मिनिरल, पानी, अमृत तत्त्व, विषादी, प्रदूषण, रेडिएसन आदि) मध्ये जुन-जुन शरीरको लागि उपयोगी हुन्छ। तिनीहरूलाई संश्लेष्ण र शोषण प्रक्रियाबाट शरीरलाई उपलब्ध गराउने र उपयोग नहुने पदार्थ शरीरबाट बाहिर फाल्ने प्रक्रियालाई डाइजेष्टिब फायर वा अग्नि भनिन्छ। उच्च पाचन शक्ति भएको शरीरलाई उत्कृष्ट डाइजेष्टिब फायर बोकेको शरीर मान्ने गरिन्छ।
अग्नि अन्तरगत तापक्रम, प्रकाश, एउटा पदार्थ्बाट अर्को पदार्थ बन्ने (जस्तै कार्बोहाइड्रेट बाट चिनी बन्ने), एक रूपबाट अर्को रूपमा परिवर्तन (चिनी शक्तिमा बदलिने) आदि सबै प्रक्रिया पर्दछ। जब हाम्रो शरीरभित्र पुगेका खाना तथा अन्य पदार्थहरू राम्ररी पच्न सक्दैन र तिनीहरूका कारण शरीरभित्र शरीरलाई हानिकारक तत्त्व वा विषादी पैदा हुन्छ। जसलाई अम (अमन) भनिन्छ।
तन्दुरुस्त शरीरको अग्नि शरीरलाई उपयोगी पदार्थहरू मात्र शरीरभित्र अवशोषण गराउन, अनुकूल तामा परिवर्तन गर्न, टुक्राउन, पचाउन, सकारात्मक अनुभूति दिलाउन, केसिकामा शक्ति पैदा गराउन, मनोवैज्ञानिक सन्तुष्टि दिलाउन र उक्त प्रक्रियाहरूमा निस्कने अनावश्यक पदार्थ (अम) र नकारात्मक अनुभूति बाट शरीरलाई मुक्ति दिलाउन सक्षम हुन्छ भन्ने मान्यता राख्छ आयुर्वेद।
सबल अग्निको अभावमा अटिजम भएको बच्चाको शरीर आफूभित्र विषादी छिर्ने प्रक्रिया रोक्न र आन्तरिक पाचन प्रक्रियामा उत्पन्न हुने विषादीयुक्त पदार्थको डिटक्सिफाई गर्ने क्षमता गुमाउन पुग्छ र स्नायु प्रणालीको दुर्बलताको सिकार बनिरहेको हुन्छ भन्ने मान्यता हो। यस अर्थमा अटिजम भएको बच्चाको निर्बल अग्निलाई सबल अग्निमा परिवर्तन गरी अवस्था सुधार मात्र हैन पूर्ण रूपमा निवारणनै गर्न सकिन्छ भन्ने धारणा राख्छ आयुर्वेद।
आयुर्वेद अन्तरगत अटिजमको उपचार पद्धतिमा शरीरको आन्तरिक प्रणालीबाट विषादीयुक्त पदार्थ हटाउने, केसिकाहरूमा आवश्यक पोषण पूर्ति गरी केन्द्रीय स्नायु प्रणालीको कायाकल्प अभिवृद्धि गर्ने प्रक्रियामा नै विशेष जोड दिइन्छ। आन्तरिक प्रणालीबाट विषादीयुक्त पदार्थ हटाउने उपचार पद्धतिमा गुदद्वारमा उपयुक्त तरल पदार्थ हाल्ने (एनीमा), घिउ-तेल मसाज (ओलिएसन), निधारमा गरम तेलको धारा बगाउने (शिरोधारा), नाकमा थोपा हाल्ने (नेजल ड्रप) आदि जस्ता प्रविधिको सहारा लिइन्छ।
दिमागी हालतलाई सन्तुलित, आनन्दित र शान्त बनाउन विशेष योग र ध्यान जस्तै स्वासप्रस्वास टेक्निक, विविध आसन, आनन्ददायी ध्यानका (मुद्रा) तरिकाहरू बनाइएको छ।
केन्द्रीय स्नायु प्रणालीको कायाकल्प अभिवृद्धि गर्ने नियतका साथ सुरक्षित चिकित्सा प्रणाली विकास गरिएको छ। तर पनि ओखती सेवन र अन्य सुधार प्रक्रियाबाट अटिजमको पूर्ण निदानका लागि लामो समयको हस्तक्षेपकारी नियमित सुधार प्रक्रियाको जरुरत महशुस गरिएको छ।
रिसर्चबाट प्रमाणित भई आए अनुरूप ब्रहमी (Bacopa monnieri) जसलाई मेध-जिरी पनि भनिन्छ, ब्रेन ग्रोथ प्रमोटर र नर्बस टोनिकको रूपमा उपयोग गरिन्छ । केन्द्रीय स्नायु प्रणाली सुधार गर्न स्मरण शक्ति वर्द्धकको रूपमा मन्दुकापरनी (Centella asiatica) जसलाई पेन्नि वोर्थ, गोटू कोंला, घोड़ टाप्रे, ब्रहाम्बुटि पनि भनिन्छ।
नेपालीमा शंखपुष्पी भनिने (Convolvulus pluricaulis) स्मरण शक्ति विकासमा गर्ने र सामाजिक घुलमिलता बढाउन सहयोगी हुने ठानी प्रयोग हुन्छ। गुडूची वा गुर्जो (Tinospora cordifolia) लाई तनाव शिथिल पार्ने एन्टी-स्ट्रेस टनिक र मेमोरी इन्हेन्सरको रूपमा प्रयोग गरिन्छ।
मनोवैज्ञानिक र दिमागी समस्याहरूलाई मानसिक रोग भन्दै आयुर्वेदका आचार्यहरूले महकाल्यानाका घ्रितम, सरस्वती अरिष्टम, ब्रह्मी घ्रितम, ब्राह्मी वटी, रुद्राक्ष चुरनम जस्ता आयुर्वेदिक औषधि दिने गर्छन्।
उनीहरूका अनुसार अटिजम जस्तो कमप्लेक्सनमा पहिले बच्चाको पाचन शक्ति बढाउन जरुरी छ। त्यस्तै बच्चाको अति चञ्चलेपन घटाउन विशेष प्रकारको हर्बल तेलको मसाज अनि तन्तुलाई शक्ति बर्दक बनाउन छुटै आयुर्वेदिक तेल मसाजको जरुरी हुने मानिन्छ।
आयुर्वेदले शरीरमा केसिकाको तहमा पुगी शरीरका अंगप्रत्यांगको व्यवस्थापन, पुनर्स्थापना गरी नियमित कार्यलाई सुचारु गर्दै ब्रेन र नर्बस सिस्टम बीचको सन्तुलन कायम गर्न प्रभावकारी हुने हर्बल र मेडिसिनल प्लान्टबाट बन्ने ब्रेन टोनिक वा दोष निवारण गर्ने प्रकृतिका खाद्य पदार्थको सिफारिस गर्ने गर्छ।
समग्रमा अटिजम जस्ता मनोवैज्ञानिक जटिलता र समाजमा व्याप्त नकारात्मक सोच जस्ता बैरीहरूबाट समाजलाई मुक्त गर्न चाहिने मुख्य उपचार भनेको समाजमा रहेको घरेलु हिंसा, महिला भेदभाव, दमन, अत्याचार हटाउँदै नितान्त निजी र सामाजिक जीवनका गतिविधिबाट महिलाको आत्मसम्मानमा आउने आँचबाट मुक्ति दिलाउन समाजलाई सचेत गराउन आवश्यक छ।
दोस्रोमा विविध खाले तनावहरूबाट मुक्ति पाउने उपायको अवलम्बन गर्नु र अन्तमा सचेत आहारविहार, वैज्ञानिक विवाह, सहभागिता मूलक स्वीकृत सम्भोग, स्वास्थ्य जीवन पद्धति, समयानुकूल स्वस्थमा ख्याल र हेरचाह आदिको मुख्य भूमिका रहन जान्छ।
(घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन्।)