धुलो र धुँवाले फोक्सोमा कति असर गर्‍यो? ‘क्लिनिक वन’ ले निःशूल्क जाँचिदिन्छ


‘इन्भारोमेन्ट पर्फमेन्स इन्डेक्स’ (ईपाआई) को पछिल्लो प्रतिवदेन अनुसार वायु प्रदुषणको अवस्था खराब हुने देशहरुको सुचीमा नेपाल पाँचौ स्थानमा पर्छ।

वल्र्ड इकोनोमिक फोरमसँगको सहकार्यमा वेले र कोलम्बिया विश्वविद्यालयले १८० देशको वातावरणीय अवस्थाको अनुसन्धान गरेर तयार पारेको सो प्रतिवेदनमा नेपाल १७६औँ स्थानमा परेको हो। तर काठमाडौं उपत्यकाको वायुप्रदुषणको अवस्था यती मै सिमित छैन।

सरकारले सामान्य जीवनयापनका लागि ४० माइक्रोग्राम प्रति मिटर क्युबको मापदण्ड तोकेको छ। तर विज्ञहरुका अनुसार उपत्यकाको वायु प्रदुषणको दर १४२ माइक्रोग्राम प्रति मिटर क्युबसम्म पुग्ने गरेको छ। अर्थात तोकिएको मापदण्डभन्दा झण्डै चार गुणा बढी प्रदुषण काठमाडौंमा हुने गरेको छ।

यो स्वास फेर्न २४ सै घण्टा अनुपयुक्त तथा धुम्रपानभन्दा बढी हानीकारक रहेको चिकित्सक मनोज कुमार यादवको भनाई छ। उपत्यकामा भत्काइएका सडक तथा बढ्दो सवारीसाधन, धुलो तथा धुँवाको प्रमूख कारक रहेको यादव बताउँछन्।

यादवका अनुसार धुँवा र धुलोले फोक्सोमा तत्कालै असर गर्छ। यसले स्वस्थ व्यक्तिलाई श्वास फेर्न गाह्रो बनाउने, इरिटेसन गराउने, घाँटीको एलर्जी गराउने गर्छ।

त्यसबाहेक यसले मुटु तथा दमको बिरामीको फोक्सोमा प्रभाव पारी निसासिने, छाति थिचेजस्तो हुने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखापर्छन।

त्यस्तै धुलोमा केमिकल कार्बनमोनोअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोसक्स हुने भएकाले आँखा र छालामा एलजी हुने, फोक्सो बिग्रदै जाने र मुटुलाई असर गरी क्यान्सरसम्मको खतरा हुन सक्ने यादव बताउँछन्।

यसको मारमा सबैभन्दा बढी ट्राफिक प्रहरी, सडक छेउछाउ काम गर्ने व्यक्ति तथा पैदल यात्रु पर्ने गरेका छन्। यिनै मानिसलाई लक्षित गरेर जावलाखेलको नोरख्याङ कम्पलेक्सस्थित ‘क्लिनिक वन’ ले निःशूल्क फोक्सो परिक्षणको अफर ल्याएको छ।

क्लिनिकले चिकित्सकिय भाषामा ‘पलमन्री फङसन टेष्ट’ (पिएफटी) भनिने फोक्सोको अवस्था बारे निःशूल्क परिक्षण गर्ने भएको हो।

क्लिनिकका सञ्चालक मनोज पराजुलीले राजधानीको वायुप्रदुषण उच्च रहेको तथा यसले मानिसको स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै समाजप्रतिको दायित्वबोध सहित अफर ल्याइएको बताए।

‘काठमाडौंको धुँवा धुलोले हामी सबैलाई आक्रान्त बनाएको छ। तर यसले स्वास्थ्यमा पुर्याएको असरका बारेमा मानिस खासै चिन्तित भएको देखिँदैन, यसबारे आधिकारि खोज भएको पनि देखिँदैन्’ पराजुलीले भने, ‘त्यसैले हामीले सेवाग्राहीलाई लाभ र रिसर्च पनि होस भनेर यस्तो अफर ल्याएका हौं।’

पराजुलीले सडक छेउछाउ काम गर्ने ट्राफिक प्रहरी तथा नियमित स्वस्थ्य परिक्षण गराउन नजाने, कम आय भएका मानिसका लागि अफर लक्षित गरिएको बताए। यद्यपी उनले परिक्षण निःशूल्क भएकाले जोकसैले पनि क्लिनिक आएर जाँच गराउन सक्ने जनाए।

‘२०६९ सालमा काठमाडौंमा श्वासप्रश्वास सम्बन्धी समस्या भएका विरामी संख्या १६ हजार थियो’, पराजुलीले स्वास्थ्य मन्त्रालयको तथ्यांक देखाउँदै भने, ‘तर २०७३ मा त्यो दोब्बर भएर २८ हजार ५०० पुगेको थियो। यो तथ्यांकले धुँवा र धुलोले कति छिटो श्वासप्रश्वासका रोग बढाउँदैछ भन्ने देखाउँछ।’

उनले हालसम्म करिब १०० जनाको परिक्षण गराइसकेका छौँ, जसमा अधिकांशको फोक्सोमा समस्या देखापरेको भन्दै स्वस्थ मानिसले समेत वर्षमा एक पटकमात्र भएपनि पिएफटीको परिक्षण गराउनुपर्ने बताए।

उनले यस्तो परिक्षण गर्दा अन्य समयमा ७ सयदेखि तीन हजारसम्म पर्ने भन्दै अफरको सक्दो लाभ उठाउन समेत अनुरोध गरे। यस अफर एक महिनासम्म चल्ने पराजुलीले जानकारी दिए।

उनले पिएफटीबाहेक परामर्शलाई समेत निःशूल्क बनाइएको तथा क्लिनिकको फार्मेसीबाट औषधी खरिद गर्दा बिना शूल्क होम डेलीभरीको सुविधा दिइएको बताए। सस्तो शूल्कमा भरपर्दो सेवा प्रदान गरिरहेको भन्दै पराजुलीले सबै खाले जाँचको लागि क्लिनिक वन उत्कृष्ट विकल्प भएको दाबी गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.