जेन-जी फेसन
राम्रो ब्रान्डका स्टाइलिस जुत्तालाई फेसनका रूपमा लिन थालेको त हाम्रो बा पुस्ता वा अझ त्योभन्दा अगाडिदेखि हो। हामी 'जेन-जी' (नयाँ पुस्ता) लाई भने जुत्ता मात्र होइन, जुत्ताभित्र लगाउने मोजा पनि ट्रेन्डी चाहिन्छ, स्टाइलिस चाहिन्छ, फेसनेबल चाहिन्छ।
तपाईंहरूलाई लाग्यो होला — मोजा किन ट्रेन्डी चाहियो?
जति ट्रेन्डी भए पनि आखिर जुत्ताभित्रै लगाउने त हो! प्यान्टले छोप्ने त हो! कसैको आँखामा नपर्ने र परे पनि धेरैले ध्यान नदिने मोजा जस्तोसुकै लाए पनि के मतलब!
हाम्रो पुस्तालाई यो मञ्जुर छैन।
हाम्रो निम्ति मोजा भनेको जुत्ताभित्र लगाउने चिज मात्र होइन। अरूले नदेख्ने गरी लगाउने चिज पनि होइन।
केही समयअघिसम्म गोलीगाँठोभन्दा माथि नआउने छोटो मोजा बढी चल्तीमा थियो, जसलाई 'एंकल सक्स' भनिन्छ। यसको चलन हराइसकेको छैन। अहिले पनि धेरैले यस्तै मोजा लगाउँछन्। तर त्यो सँगसँगै आजभोलि गोलीगाँठोभन्दा माथिसम्म वा घुँडाभन्दा अलि तलसम्म आउने लामो मोजा ट्रेन्डिङमा छ, जसलाई 'क्रिउ सक्स' भनिन्छ।
हुन त क्रिउ मोजा पनि नयाँ होइन। हाम्रै घरपरिवारमा पुरानो फोटो एल्बम हेर्ने हो भने सबैले क्रिउ मोजा लगाएको देखिन्छ। जहाँसम्म लगाउने स्टाइल छ, त्यसमा भने जेन-जीका किशोर-किशोरीले नवीनता भित्र्याएका छन्।
उनीहरू पहिलेजस्तो आफ्नो मोजा जुत्ताभित्र लुकाउँदैनन्। प्यान्टले छोप्दा पनि छोप्दैनन्। बरू प्यान्ट नै मोजाभित्र घुसार्छन्। वा, प्यान्टको मोता मुजा मारेर घुँडाभन्दा तलसम्म सार्छन्। यसो गर्दा मोजा सबैले छर्लंग देख्छन्। यो जेन-जीको नयाँ फेसन हो।
यही फेसनका कारण हिजोआज टिकटक र इन्स्टाग्रामतिर एउटा भनाइ प्रचलित छ — अब कसैले पनि आफ्नो उमेर लुकाउनुपर्दैन, मोजा लगाउने स्टाइलले नै भन्छ, तपाईं कति वर्ष हुनुभयो!
यो जेन-जी स्टाइल अपनाउँदा तपाईंले लगाउने लुगा र जुत्तासँग मोजाको रंग र डिजाइन मेल खाएको छ कि छैन भन्ने चाहिँ ख्याल गर्नुपर्छ।
सामान्यतया गोलीगाँठोभन्दा अलिकति माथिसम्म आउने 'क्रप्ड' प्यान्टमा क्रिउ मोजा बढी मेल खान्छ। जिन्स प्यान्ट लगाउनुभएको छ भने त्यसको तल्लो भाग दुई-तीनचोटि फोल्ड गर्दा पनि मोजा आकर्षक देखिन्छ।
रंगको कुरा गर्ने हो भने सेतो, कालो, कलेजी लगायत एउटै रंगको सादा मोजा बढी फेसनमा छ। यसबाहेक रंगीबिरंगी गाढा मोजा, छिरबिरे, धर्का भएको, कोठा-कोठा भएको वा थरीथरीका बुट्टा भरिएको मोजा पनि हामी छानी छानी लगाउन सक्छौं।
यो स्टाइलमा मौसमअनुसार पातलो वा बाक्लो मोजा लगाउन सकिन्छ। ब्रान्डेड मनपराउने कतिपयले ब्रान्डको लोगो कुँदिएको डिजाइन पनि प्रयोग गर्छन्।
जेन-जी पुस्ताले त गर्मी महिनामा पनि चौबीसै घन्टा यस्तो मोजा लगाउँछन्। हाफ-प्यान्टमा त झन् क्रिउ मोजाको विकल्प नै छैन। हाफ-प्यान्टमा चप्पल लगाएर हिँडेको छ भने एउटा कुरा, नभए हाफ-प्यान्ट र जुत्ता लगाउँदा एंकल मोजा सुहाउँदा पनि सुहाउँदैन।
क्रिउ मोजाको फेसन केटाभन्दा केटीहरूले बढ्ता अपनाएको पाइन्छ। खासमा यो फेसनको सुरूआत केटीहरूबाटै भएको हो। उनीहरूकै देखासिकी केटाहरूले पनि यो स्टाइल पछ्याउन थालेका हुन्।
यसै वर्षबाट स्नातक पढ्न थालेकी असनकी दीक्षिता मल्लले यो स्टाइलको मोजा लगाउन थालेको करिब दुई वर्ष भइसक्यो। प्लस-टू पढ्दा नयाँ मोजा लगाएर कलेज गएको दिन उनी खुसी हुँदै साथीहरूलाई देखाउँथिन्।
दीक्षिताका अनुसार यो स्टाइलले मोजालाई पनि हाम्रो आउटफिट वा पोसाकको अभिन्न अंग बनाउँछ।
'हामी अब मोजामा पनि विभिन्न खालको फेसन गर्न सक्छौं,' उनी भन्छिन्, 'मोजालाई पनि पोसाकको हिस्सा मानेर रंग मिलाएर लगाउन सक्छौं।'
'हामी आफूले लगाउने हरेक कुरा स्टाइलिस होस् भन्ने चाहन्छौं। हामीलाई सर्ट स्टाइलिस हुनुपर्छ, प्यान्ट स्टाइलिस हुनुपर्छ, जुत्ता-चप्पलदेखि चस्माको फ्रेम र कानमा लगाउने झुम्कादेखि कपाल बाँध्ने क्लिपसम्म स्टाइलिस हुनुपर्छ। त्यसो भए मोजालाई मात्र किन हेला?' दीक्षिताको प्रश्न छ।
'क्रिउ मोजा बाहिरबाट देखिने गरी लगाउने फेसनले त जुत्ताकै शोभा बढाइदिन्छ। हामीले लगाउने लुगामा चमक दिन्छ,' उनी अगाडि भन्छिन्, 'सबभन्दा ठूलो कुरा त, यसले हाम्रो व्यक्तित्व नै 'कूल' देखिन्छ।'
क्रिउ मोजाको फेसन नेपालमा मात्र होइन, संसारभरिकै जेन-जीमा लोकप्रिय छ। टिकटक, इन्स्टाग्राम रिल्स लगायत सामाजिक सञ्जालहरूमा जेन-जीका धेरै किशोर-किशोरीले नयाँ स्टाइलमा क्रिउ मोजा लगाएर भिडिओ हालेको पाइन्छ। त्यसले अरूलाई पनि यो स्टाइल पछ्याउन प्रेरित गरेको छ।
कतिपय अन्तर्राष्ट्रिय सेलेब्रिटीहरूले पनि यो स्टाइल अपनाएको उनीहरूको भिडिओबाट देखिन्छ।
यो त भयो फेसनको कुरा, यो फेसनले बजारमा चाहिँ कस्तो प्रभाव पारेको छ त?
यही जान्न हामीले असन, इन्द्रचोक र न्यूरोडमा मोजा व्यापार गर्ने केही बिक्रेतासँग कुरा गर्यौं। उनीहरूका अनुसार बजारमा एंकल र क्रिउ दुवै खालका मोजा बराबर चल्तीमा छन्। तर ग्राहकको उमेरअनुसार उसले किन्ने मोजाको डिजाइन फरक पर्छ।
'सामान्यतया २५ वर्षभन्दा माथिका युवा एंकल मोजा खोज्छन्। त्योभन्दा कम उमेरका किशोर-किशोरी क्रिउ मोजा खोज्न आउँछन्,' असनका बिक्रेता विकासले भने, 'क्रिउ मोजा लगाउने स्टाइल पनि बदलिएको छ।'
विकासले मोजा बेच्न थालेको १० वर्षभन्दा बढी भयो। उनी नाइकी र एडिडास ब्रान्ड लेखिएका मोजा बढी बेच्छन्। तर ती वास्तविक नाइकी वा एडिडास होइनन्। काठमाडौंमा खपत हुने धेरैजसो मोजा चीनबाट आउने उनी बताउँछन्।
'चाइनिज मोजा हो भन्ने सबैलाई थाहा छ। तैपनि नाइकी वा एडिडास लेखिएका मोजाको माग बढी छ,' उनले भने, 'धेरैजसो मान्छे सेतो र कालो मोजा खोज्न आउँछन्। छिर्केमिर्के वा बुट्टेदार मोजाभन्दा सादा मोजा नै धेरैको रोजाइमा पर्छ।'
उनका अनुसार पछिल्लो समय घुँडा-घुँडासम्म आउने क्रिउ मोजाको माग एकदमै बढेको छ। 'यस्ता मोजा खोज्न आउनेमा केटीहरू धेरै छन्,' विकासले भने।
करिब तीन वर्षदेखि खिचापोखरीमा मोजा बेच्दै आएका प्रणय पनि क्रिउ मोजाको बढ्दो लोकप्रियतासँग सहमत छन्। डिजाइनमा भने सादाभन्दा बुट्टेदार मोजा चल्न थालेको उनको अनुभव छ।
‘हिजोआज नयाँ पुस्ताका केटाहरू पनि केटीहरूले जस्तै बुट्टेदार मोजा खोज्छन्,' उनले भने, 'बरू ठुल्ठूला ब्रान्डहरू एडिडास, नाइकी, पुमा लेखिएका मोजा खोज्नेहरू धेरै हुन्छन्। उनीहरूलाई त्यो ओरिजिनल हो कि होइन मतलब हुँदैन, ब्रान्ड लेखिएको भने चाहिन्छ।'
मोजाको इतिहास हेर्ने हो भने ढुंगेयुगका मान्छेले आफ्नो खुट्टा तातो राख्न मोजा लगाउन थालेको कथा पाइन्छ। त्यति बेला उनीहरू जनावरको छाला काटेर त्यसबाट मोजा बनाउँथे भन्ने इतिहासकारहरूको भनाइ छ। त्यसपछि इसापूर्व आठौं शताब्दीमा जनावरको रौंबाट बनेका मोजा प्रयोगमा आएको पाइन्छ। यही क्रममा पछि ऊन वा अन्य धागोले बुनेर मोजा बनाउने चलन सुरू भयो।
यसरी जनावरको छाला हुँदै रौं र ऊनी धागोसम्म आइपुग्दा मान्छेले मोजा लगाउनुको एउटै उद्देश्य खुट्टालाई चिसो हुनबाट बचाउनु थियो। तर आज मोजाको प्रयोजन खुट्टा न्यानो राख्नुसँग मात्र छैन। जुत्ताले खुट्टा नबिझाओस् भनेर मोजा लगाउने चलन पनि अब पुरानो भइसक्यो।
जेन-जी पुस्ता मोजा लगाउँछ फेसनको निम्ति, स्टाइलको निम्ति र ट्रेन्डी देखिन।
प्यान्टबाट बाहिर देखिने गरी लगाइने क्रिउ मोजा जेन-जीको स्टाइल सिम्बोल बनेको त्यसैले हो।
***