जाडोयाम सुरू भएसँगै बजारमा बाक्लो कपडाको बिक्री पनि सुरू भएको छ। यसपालि जाडोको लागि नयाँ डिजाइनको ज्याकेट बजारमा भित्रिएका छन्। महिला र पुरुषहरूको लागि भिन्न-भिन्न डिजाइन र रंगको ज्याकेट छन्। बजारमा ग्राहकहरूको घुँइचो पनि बढ्न थालेको छ।
यसपालि जाडोमा तपाईं कस्तो ज्याकेट किन्ने सोचमा हुनुहुन्छ? ज्याकेट खरिद गर्दा त्यसको इन्सुलेसन कस्तो छ भन्ने विचार गर्नुपर्छ। अर्थात् ज्याकेटमा प्रयोग भएको कपडा के हो र त्यसले शरीरको न्यानोपन बाहिर जान दिन्छ वा दिँदैन भन्ने जाँच गर्नुपर्छ। ऊन, डाउन (हाँसको प्वाख) र पोलिस्टर फ्लिसले धेरै मात्रामा इन्सुलेसन प्रदान गर्छ जसले गर्दा यी कपडाहरू लगाउँदा हामीलाई न्यानो महशुस हुन्छ।
बजारमा यस्तै ऊन, डाउन र फ्लिस भएका ज्याकेट पाइन्छ। बजारमा उपलब्ध चिसो मौसममा न्यानो राख्ने केही ज्याकेटको प्रकार यस्तो छः
१. पफर ज्याकेट
पफर ज्याकेट र कोटले शरीरलाई न्यानो राख्छ। गत सालदेखि पफर डिजाइनको ज्याकेट बजारमा धेरै देखिन थालेको हो।
व्यवसायीहरूका अनुसार यसपालि जाडो मौसममा अझ बढी ग्राहक पफर ज्याकेट खरिद गरिरहेका छन्। पुक्क फुलेको जस्तो देखिने पफर ज्याकेटमा पर्याप्त मात्रामा इन्सुलेसन हुन्छ। जसले गर्दा शरिरको न्यानोपन कपडा बाहिर निस्कन दिदैँन र शरीरलाई न्यानो राख्न मद्दत गर्छ। डाउन प्रयोग गरिएको पफर ज्याकेट महँगो भएपनि धेरै बढी न्यानो हुन्छ।
२. पार्का
पार्का अहिले बजारमा चलेको ज्याकेट हो। यो लगाउँदा कम्मरभन्दा मुनीसम्म आउँछ। यसमा फर (भुवा)को टोपी पनि हुन्छ। पार्का उच्च हावा, भारी हिउँ वा वर्षापछिको अत्याधिक चिसोबाट बच्न लगाइन्छ। यो वाटरप्रुफ (पानी नछिर्ने) र ब्रिदेबल कपडाले तयार पारिन्छ। पार्काको बाहिरी भाग नाइलनको बनाइन्छ भने भित्री भाग सय प्रतिशत पोलिस्टर माइक्रोफ्लिस हुन्छ। यसले गर्दा अत्याधिक चिसोमा पनि पार्का ज्याकेट लगाउँदा न्यानो महशुस हुन्छ।
३. स्नोबोर्ड
स्नोबोर्ड ज्याकेट झट्ट हेर्दा सामान्य विन्डचिटर (हावा नछिर्ने ज्याकेट) जस्तो देखिएपनि भित्री कपडा निकै न्यानो हुन्छ। स्नोबोर्ड ज्याकेटलाई स्की ज्याकेट पनि भनिन्छ। यदी तपाईं हिउँ खेल्न जाँदै हुनुहुन्छ वा स्की गर्न जाँदै हुनुहुन्छ भने यस प्रकारको ज्याकेट उपयुक्त हुन्छ। स्नोबोर्ड ज्याकेट वाटरप्रुफ र इन्सुलेटेड डिजाइनमा तयार पारिएको हुन्छ। त्यस्तै लगाएर हिँडडुल गर्न सहज हुने तरिकाले यसलाई डिजाइन गरिएको हुन्छ। यसको भित्री भागमा फ्लिस हुन्छ। फ्लिसको मात्रा जति धेरै हुन्छ, त्यति नै ज्याकेट लगाउँदा न्यानो हुन्छ।
४. थ्री इन वान ज्याकेटः
थ्री इन वान ज्याकेट दुई सेटमा हुन्छ। भित्रपट्टी फ्लिसको ज्याकेट हुन्छ भने त्यसको बाहिर लगाउन विन्डप्रुफ ज्याकेट हुन्छ। तपाईंले गर्मी मौसममा बाहिरको ज्याकेटलाई विन्डचिटरको रूपमा मात्रै पनि लगाउन सक्नुहुन्छ। ठिक्क चिसो मौसम छ भने फ्लिसको मात्रै ज्याकेट लगाउन सकिन्छ। र, अत्याधिक चिसो मौसममा भने दुवै एकैपटक लगाउँदा शरीरलाई न्यानो राख्छ।
५. विन्डब्रेकरः
गुणस्तरीय ब्रान्डको विन्डब्रेकरले तपाईंको शरिरमा हावा छिर्न दिँदैन। कतिपय समयभित्र कुनै हाइनेक, स्वेटसर्ट वा स्विटर लगाएर विन्डब्रेकर लगाउन सकिन्छ। विन्डब्रेकर प्रायः नाइलन र पोलिस्टरको बनाइन्छ। यस प्रकारको ज्याकेट सामान्य हिँडडुल गर्न, हाइकिङ र साइकलिङको लागि पनि उपयुक्त हुन्छ।
यी बाहेक बजारमा विभिन्न डिजाइन र प्रकारको ज्याकेट पाउन सक्नुहुन्छ। ग्राहकले कुनै पनि ज्याकेट खरिद गर्नुअघि ज्याकेट कुन कपडाले बनेको हो भन्ने थाहा पाउन जरुरी छ। महँगो मूल्य तिर्दैमा राम्रो र सस्तो मूल्यमा नराम्रो ज्याकेट मात्रै पाइन्छ भन्ने होइन। ज्याकेटमा प्रयोग हुने कपडाले नै कुनै पनि ज्याकेटको गुणस्तर निर्धारण गर्छ।
त्यस्तै ज्याकेट खरिद गर्नुअघि त्यसको जिपर (चेन), सिलाई, कतिवटा खल्ती छ, टोपी छ वा छैन, टोपी भएमा तपाईंलाई फिटिङ छ वा छैन भन्ने मूल्यांकन गरेर मात्र खरिद गर्दा उचित हुन्छ।