नेपालमा आइफोन ८ र ८ प्लसको प्रि-बुकिङ खुल्यो, मूल्य कति ?


एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि­बुकिङ खुल्ला गरिएको छ।

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले विभिन्न स्टोरहरु मार्फत प्रि­बुकिङ खुलाइएको जनाएको छ। यद्यपी औपचारिक रुपमा नेपालमा फोन सार्वजनिक भने भइसकेको छैन।

एप्पलको आधिकारिक विक्रेता मध्येको एक ओलिज स्टोरका निर्देशक लोकेस ओलीले आइफोन ८ र ८ प्लसको अनलाइन बुकिङ लिन थालिएको जानकारी दिए। उनले यी दुई फोन तिहारको आसपासमा आइसक्ने भन्दै प्रिबुकिङ सुरु गरिएको बताए।

यी दुई फोनबाहेक एप्पलले आइफोन उत्पादनको दशौँ वर्ष पुगेको अवसरमा ‘आइफोन एक्स’ (आइफोन टेन) समेत सार्वजनिक गरेको थियो। यस फोनको भने अन्तराष्ट्रिय बजारमै बुकिङ खुलिसकेको छैन।

कस्ता छन् फिचर्स ?
आइफोन ७ र ७ प्लसका विस्तारित संस्करण आइफोन ८ र ८ प्लस सिसाले बनाइएको छ। यो सिसा हालसम्म स्मार्टफोनमा प्रयोग भएको सबैभन्दा बलियो भएको एप्पलले दाबी गरेको छ।

यी नयाँ फोनको स्वरुपमा भने खास परिवर्तन गरिएको छैन। यी हेर्नमा ७ र ७ प्लस जस्तै देखिन्छन्। आइफोन ८ मा ४.७ इन्च र ८ प्लसमा ५.५ इन्चको रेटिना एचडी डिस्प्ले छ।

दुवैमा पछाडि १२ मेगापिक्सेलको क्यामरा छ। आइफोन ८ प्लसमा भने दुई वटा लेन्स छन्। त्यस्तै सेल्फीका लागि दुबै सेटमा ७ मेगापिक्सेलका क्यामेरा राखिएको छ। यी दुबै फोनले फोरके भिडियो खिच्न सक्छन्।

यी फोनको होम बटममा फिंगरप्रिन्ट सेन्सर राखिएको छ। धुलो र पानीले असर नगर्ने यी फोनमा नयाँ चिप छ। यसमा भएको ‘ए११ वायोनिक’ चिपले फोनलाई तीव्र बनाएको छ।

ताररहित चार्जिङ सुविधा भएका यी फोन ६४ र २५६ जिबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छन्। सिल्भर, स्पेस ग्रे र ब्लस गोल्ड गरी तीन रङमा उपलब्ध छन्। यी फोनमा आइओएस ११ अपरेटिङ सिस्टम डाउनलोड गर्न मिल्छ।

मूल्य कति ?
ओलीले दिएको जानकारी अनुसार आइफोन ८ को ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको ९८ हजार ५ सय तथा २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै आइफोन ८ प्लसको ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १२ हजार ५ सय र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख ३३ हजार रुपैयाँ मूूल्य तोकिएको छ।

यसबाहेक यी फोनहरुको खरिदमा टेलिकम सेवा प्रदायक एनसेलको सहकार्यमा ८ महिनासम्मलाई प्रति महिना २ जीबीका दरले निशूल्क डाटा प्राप्त गर्न सकिने छ।

प्रि– बुकिङ गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.