७ सय बढी टावरबाट फोरजी दिँदै एनसेल


निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ७ सय भन्दा बढी टावर जडान गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ। माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तीय विवरण अनुसार एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य) सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ।

ग्राहकलाई दु्रतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो। प्रथम चरणमा काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याएको फोरजी हाल देशका विभिन्न १९ शहरमा संचालनमा आएको कम्पनीले जनाएको छ। सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा यो सेवा पुर्याउने लक्ष्य रहेको कम्पनीले बताएको छ।

प्रतिवेदनका अनुसार, जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी सेवा र विभिन्न अफरहरुले गर्दा पहिलो त्रैमासिकको तुलनामा डाटाको आयमा ११.५ प्रतिशतले वृद्घि भएको छ। यसले एनसेलको आय ३.९ प्रतिशतले बढाएको छ। दोस्रो चौमासिकमा एनसेलको खुद नाफा ३५ प्रतिशतले बढेको जनाइएको छ।

दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन्।
प्रतिवेदनका अनुसार, एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका गर्ने गरेका छन् । गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि थियो।

पछिल्लो समयमा पनि फोरजी सेवाको विस्तारसँगै एनसेलले डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ। यस अन्र्तगत ग्राहकले कुनै पनि डाटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्न सक्छन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डाटा सेवाको मज्जा लिन सक्छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.