अमेरिकी प्रविधि कम्पनी गुगलले आज सोमबार 'एन्ड्रोइड ओ' अपरेटिङ सिस्टम सार्वजनिक गर्ने भएको छ।
प्रविधि सम्बन्धी समाचारमाध्यममा उल्लेख भएअनुसार यो अपरेटिङ सिस्टम नेक्सस ५ एक्स, नेक्सस ६ पी, नेक्सस प्लेयर, गुगल पिक्सेल, गुगल पिक्सेल एक्स्ट्रा लार्ज र गुगल पिक्सेल सी मोडलका लागि उपलब्ध हुनेछ।
एन्ड्रोइड ओको नामबारे निकै चर्चा भइरहेकोे छ। केही समयअघि बाहिर आएको खबरअनुसार यसको नाम अक्टोपस हुने भनिएको थियो। बाहिरिएको तस्बिरमा अक्टोपसको लोगो देखिएका कारण यो अनुमान गरिएको थियो। खानेकुराको नामबाट आफ्नो अपरेटिङ सिस्टमको नाम राख्दै आएको गुगलले यसपटक अलग गर्ने विश्लेषण गरिएको थियो।
हाल आएर भने ओबाट 'ओरियो' नाम हुने अनुमान गरिएको छ। तर, यसबारे आधिकारीक घोषणा वा जानकारी भने छैन।
नयाँ अपरेटिङ सिस्टम ओमा निकै रोचक सुविधा हुने बताइएको छ। यसमध्ये एक हो, पिक्चर इन पिक्चर। यसबाट स्मार्टफोनमा कुनै भिडियो हेर्दा हेर्दै अरु काम गर्न सकिनेछ। यसले ब्याट्रिको क्षमता बढाइएको छ भने ब्लुटुथ अडियो सिस्टममा पनि सुधार गरिएको छ।
केही घण्टापछि सार्वजनिक हुने बताइएको एन्ड्रोइड ओबारे जान्न सबै उत्सुक छन्। गुगलले आफ्ना प्रयोगकर्ताका लागि के के सुविधा थप्नेछ त्यो हेर्न बाँकी नै छ।