नेपाल टेलिकमले केन्द्रीय कार्यालय प्रांगणबाहिर हाल केही व्यक्तिले धर्ना दिइरहेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।
टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गरी आफनो धारणा सार्वजनिक गरेको हो।
कम्पनी अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहलको सरसफाईको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ।
विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको कम्पनीको भनाइ छ
हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भईसकेको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहेको कम्पनीले स्पष्ट पारेको छ।
'नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाई लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसोर्सिङको माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको छ। सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ,' विज्ञप्तिमा भनिएको छ।