हामीकहाँ २०७२ सालमा नाकाबन्दीपछि इन्डक्सन चुलोको माग ह्वात्तै बढ्यो। त्यसअघि धेरै सर्वसाधारणले यसबारे थाहै पाएका थिएनन्।
अहिले समय फेरिइसकेको छ। बिजुलीको सहज आपूर्ति र नयाँ प्रविधि भित्रिने क्रम बढेसँगै खाना पकाउन पहिलेजस्तो ग्यासकै मात्र भर गर्ने अवस्था छैन। इन्डक्सनको विकल्प छँदै थियो, अहिले बजारमा 'इन्फ्रारेड' चुलो पनि भित्रिसकेको छ।
भारतीय र केही चिनियाँ ब्रान्डकासहित नेपालकै चौधरी ग्रुपद्वारा उत्पादित इन्फ्रारेड चुलो बजारमा धेरै देखिन्छ।
धेरैलाई जिज्ञासा हुन सक्छ- यो चुलोमा खाना पकाउँदा करेन्ट लाग्छ कि? सबै नयाँ भाँडा चाहिन्छ कि? वा यसमा निश्चित खानेकुरा मात्र पकाउन मिल्ने हो कि?
यसबारे हामीले चौधरी ग्रुपका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीसँग कुराकानी गरेका छौं।
नगरकोटीका अनुसार इन्फ्रारेड चुलोमा छुँदा करेन्ट लाग्दैन। यो चुलोले ग्यासमा जस्तो आगो उत्पादन गर्दैन। त्यसैले पड्किने वा आगो लाग्ने सम्भावना कम हुन्छ।
हेर्दा इन्डक्सनझैं देखिए पनि यसको काम गर्ने तरिका अलि फरक हुन्छ। सामान्यतया इन्फ्रारेड चुलोको बाहिरी सतह कडा र विशेष प्रकारको सिसाले बनेको हुन्छ जसले अत्यधिक ताप धान्न सक्छ। यो सतहमुनि हामीले छुन नमिल्नेगरी क्वाइल राखिएको हुन्छ।
बिजुलीमा जोडेपछि उक्त क्वाइल तात्छ र त्यही ताप भित्रबाट बाहिरी सतहको भाँडो राख्ने ठाउँसम्म आउँछ। चुलोमा भाँडो राख्ने ठाउँको संकेत हुन्छ। चुलो तातेपछि यो संकेत भएको गोलो भाग रातो हुन्छ। इन्डक्सन चुलोमा भने रातो देखिँदैन।
मोडलअनुसार इन्फ्रारेड चुलोको तलपट्टि एक धर्कोले छुट्टाएर वा छेउमा डिस्प्ले, अन-अफ, तापक्रम नियन्त्रण र अन्य केही बटनहरू दिइएको हुन्छ। यो भाग चुलो चलाएका बेला पनि तात्दैन। खानेकुरा पकाइरहँदा आवश्यकता अनुसार बटनहरू थिच्न सकिन्छ।
इन्डक्सनमा जस्तै यसमा पनि रोटी-भात पकाउँदा, पानी-दूध-सूप तताउँदा, फ्राइ गर्दा, तातो बनाइराख्दा तापक्रम सन्तुलन गर्न सकिने सुविधा छ। कम्पनी र मोडलअनुसार यो सुविधा फरक-फरक हुन्छ।
'चुलोको तल्लो भागमा सबै कुरा चित्रमा देखाइएको हुन्छ। आफूलाई के पकाउन परेको हो, त्यही बटनमा थिच्नु पर्छ,' नगरकोटीले भने, 'जस्तै दूध तताउन परे, देखाइएको चित्रमा थिच्ने। यति गरिसकेपछि चुलोले दूध तात्न आवश्यक तापक्रम सन्तुलन गर्छ र दूध उम्लिएर पोखिन पाउँदैन।'
चौधरी ग्रुपको 'सिजी' इन्फ्रारेड चुलो दुई मोडलमा पाइन्छ। दुवै मोडल एउटा भाँडा राखेर पकाउन मिल्ने 'सिंगल' चुलो हुन् जो दुई हजार वाटका छन्। यिनमा पकाउने-तताउने बटनमा सात वटा विकल्प दिइएको छ।
इन्फ्रारेड चुलोमा हामीलाई सामान्यतया चाहिने सबैथोक पकाउन सकिन्छ।
यसको सबभन्दा राम्रो पक्ष भनेको यसमा ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरी खाना पकाउन सकिन्छ। इन्डक्सन चुलोमा भने खाना पकाउन विशेष प्रकारका भाँडा आवश्यक पर्छ।
'यो चुलोमा हामीले ग्यासमा प्रयोग गर्दै आएका सबै किसिमका भाँडा प्रयोग गर्न सक्छौं। इन्डक्सनमा जस्तो छुट्टै भाँडा किन्न पर्दैन,' इन्डक्सनभन्दा मुख्य भिन्नता यही भएको बताउँदै उनले भने, 'इन्फ्रारेडको यही विशेषताले यसको माग बढिरहेको छ।'
त्यस्तै यो चुलो छिटो तात्ने र समान रूपमा तापक्रम दिने हुनाले खाना चाँडै र राम्ररी पाक्छ। यसलाई विद्युत खपत घटाउने, गन्धरहित र प्रदूषणरहित पनि मानिने नगरकोटीले बताए। माथिको सतह चिल्लो हुने भएकाले सफा गर्न सजिलो र प्रयोग गर्दा सुरक्षित भएको कम्पनीको दावी छ।
चुलोमा तापक्रम नियन्त्रण प्रणाली भएकाले निश्चित तापक्रमपछि चुलो आफैं बन्द वा ताप कम हुन्छ। यसरी खाना धेरैबेर पाक्ने वा डढ्ने सम्भावना कम रहेको नगरकोटी बताउँछन्।
'तापक्रम सेट गरेर खाना नबसाले वा खाली भाँडा बसालेर धेरैबेर छाडे, चुलोले संकेत दिन्छ। संकेत पालना नभए चुलो आफैं बन्द हुन्छ,' उनले भने, 'ग्यासमा जस्तो खाना बसालेर कुरेर बसिरहन पर्दैन। चुलोमा पोखिएको खाना डढ्ने वा सुक्ने हुँदैन। सजिलै सफा गर्न सकिन्छ।'
इन्फ्रारेड चुलोको भाउ कम्पनी र मोडलअनुसार फरक फरक छ। इन्डक्सनको तुलनामा केही महँगो पर्ने इन्फ्रारेड चुलोको मूल्य सामान्यतया चार हजार रूपैयाँबाट सुरू हुन्छ। दुइटा भाँडा राखेर पकाउन मिल्नेको भने करिब आठ हजार रूपैयाँ हाराहारीबाट सुरू हुन्छ। पसलअनुसार यसमा थपघट हुनसक्छ।
सिजीले आफ्ना दुई मोडलका सिंगल इन्फ्रारेड चुलोको मूल्य पाँच हजार बीस र पाँच हजार दस रूपैयाँ तोकेको छ। दुवैमा एक वर्षको वारेन्टी दिइन्छ।
'तपाईंले चुलो कति समय र कसरी चलाउनु हुन्छ भन्नेमा त्यसको आयु भर पर्छ,' नगरकोटीले भने, 'जथाभावी चलाउँदा, माथिबाट खसाउँदा बिग्रिन्छ, फुट्छ। जतन गरी चलाउँदा ६–८ वर्ष टिक्छ।'
इन्डक्सनजस्तै सिंगल इन्फ्रारेड चुलो सानो र छरितो हुन्छ, सानो ठाउँमा अटाउँछ। यो चुलो झोलामा राखेर सजिलै आवश्यक परेको ठाउँमा लैजान पनि सकिन्छ।
यति फाइदाका बाबजुद यसमा केही सावधानी अपनाउनैपर्छ।
चुलो चलाएर बन्द गरिसकेपछि पनि यसको माथिल्लो सतह धेरै समय तातै रहन्छ। त्यसैले यो नसेलाएसम्म छुन हुँदैन र कपडा-कागजजस्ता केही सामान राख्नु हुँदैन। केही मोडलमा भाँडो निकालेपछि 'हट' भन्ने संकेत आइरहन्छ। यस्तोमा त्यो संकेत आउन्जेल त्यसलाई छुन वा सफा गर्न हुँदैन।
त्यस्तै यसको ताप कम गर्न भित्र पंखा जोडिएको हुनाले पंखा बन्द नहुन्जेल यसलाई झ्याप्प बन्द गर्नु हुँदैन। पंखा चलिरहेको आवाज बाहिरै सुनिन्छ। सेलाएर पूर्ण रूपमा बन्द भएपछि मात्र प्लगबाट निकाल्नुपर्छ।
इन्फ्रारेड चुलो सफा गर्न पानी हाल्नु वा झुस-मस्कोले घोट्नु हुँदैन। सुख्खा-नरम कपडाले पुछ्दा नै राम्ररी सफा हुन्छ। चुलोलाई नखस्ने र बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ।