रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ४१ लाख ५० हजार ठगेको अभियोगमा वैदेशिक रोजगार विभागले दुईजना व्यक्ति उपर मुद्दा दायर गरेको छ।
विभागले कास्की जिल्लाका सदीक्षा गुरुङ र उनकी आमा खिनशोभा गुरुङ उपर ठगी अभियोगमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो।
सदीक्षा र निजकी आमा खिनशोभाले पोखराका एक व्यक्तिलाई क्यानडा पठाइदिने नाममा ४१ लाख ४२ हजार ५ सय रकम लिएर ठगेको पुष्टि विभागले गरेको छ। ठगी भएको रकममा २० लाख ९१ हजार २ सय ५० हर्जना सहित कुल ६२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ असुल उपरको दावीसहित विभागले मुद्धा दायर गरेको हो।
विभागका महाानिर्देशक शेषनारायण पौडेलका अनुसार ठगी भएको आरोपमा विभागमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा छानबिन गरी अभियुक्तलाई गत चैतमा पक्राउ गरिएको हो।