श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको छ। सो अवसरमा श्रममन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य बनेको साउदी अरेबियामा नेपालीहरू विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गरे।
सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो।
नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए। श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानवश्रोत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उनले बताए।
रजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताए। मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव गरे।
अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ती उत्पादन गर्न सीप परिक्षण परियोजना संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए। करिब चार लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूको लागि आकर्षक गन्तव्य हो। नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।