श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचल पुगेर आफू र कर्मचारीहरूको मेहनतका कारण ताहाचल कार्यालयमा भीडभाड हटेको बताएका छन्।
शुक्रबार कार्यालयमा आयोजित अनलाइन प्रणालीमा आधारित संस्थागत श्रम स्वीकृति सेवा सुभारम्भ गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
‘बाहिर हजारौंको खचाखच भीड हुन्थ्यो आज देखिएन। बदनामी खेपिरहेको कार्यालय सुधारिएको छ। गरे के सम्भव हुँदैन र भन्ने कुरा प्रमाणीत गरिदिएको छ,’ उनले भने।
वैदेशिक रोजगार सेवा फेशलेस्, पेपरलेस र क्यासलेस बनाउन मन्त्रालय, विभाग र मातहतका कार्यालयबाट सक्दो पहल भइरहेको उनले बताए।
मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि मन्त्रालयले अनलाइन श्रम स्वीकृति दिन सुरू गरेसँगै कार्यालयमा भीडभाड घटेको बताए।
केही समय अघिदेखि ताहाचल कार्यालयले पुनः श्रम स्वीकृति अनलाइनमार्फत प्रदान गर्न थालेको छ।
आजदेखि भने संस्थागतमार्फत हुने सबै प्रकारका (नयाँ तथा पुनः) श्रम स्वीकृति औपचारिक रूपमा अनलाइन प्राणालीमार्फत दिन सुरू गरिएको हो।