श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो।
मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस)सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्याउन राजदूत पार्कसँग आग्रह गरे। राजदूत पार्कले इपिएस सम्बन्धी सम्झौतापत्र छिटो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए। सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको इपिएस सम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको थियो। त्यसयता नवीकरणको प्रकृयाअघि बढ्न सकेको छैन।
भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार नेपाली कोरिया जाने प्रकृयामा रहेकोले उनिहरुलाई छिटो लैजाने व्यवस्था गर्नसमेत मन्त्री श्रेष्ठले आग्रह गरे।
इपिएसअन्तर्गत कोटा बढाउन पनि उनले आग्रह गरे। दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ। इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु कोरियामा श्रम गर्छन्। इपिएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताए।
सन् २०१८ मा इपिएसअन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रकृयामा सहभागि हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रकृयामा सहभागि गराउन आग्रह गरे। उनले इपिएसअन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए।