अर्थतन्त्रमा जारी सुधार
कोरोना महामारीपछि हाम्रो अर्थतन्त्र निरन्तर संकटमा रह्यो, चुनौतीहरू सामना गर्यो, आर्थिक वृद्धि सुस्त भयो।
लामो समय शिथिल जस्तै रहेको अर्थतन्त्रमा पछिल्ला केही महिनायता सुधारका संकेत देखिन थालेका छन्। केही आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन्।
के अर्थतन्त्रले अब सुधारको बाटो पक्रिएको हो? यसका आधार र कारण के हुन्? कहाँ कहाँ समस्या बाँकी छन्? यो सुधार दिगो होला? यो सुधारलाई थप अघि बढाउन सरकार, निजी क्षेत्रले के गर्नुपर्छ?
'अर्थतन्त्रमा जारी सुधार' शृंखलामा सेतोपाटी बिजनेस टिमले यिनै प्रश्नहरू सरोकारवालाहरूलाई सोधेको छ।
शृंखलाको यो भागमा प्रस्तुत छ राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः
१. अर्थतन्त्र अहिले सुधारको बाटोमा गएको हो?
पछिल्ला आर्थिक वर्षहरूको तुलनामा अहिले अर्थतन्त्रमा केही सुधार भएको छ। बाह्य क्षेत्रमा निर्यात र आयातमा सुधार भएको छ। कर्जा प्रवाहमा पनि सिमान्त सुधार भएको छ। कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा सुधार भएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय लेखा तथ्यांक अनुसार अर्थतन्त्रका सबै क्षेत्रहरूको वृद्धिदर धनात्मक छ। पछिल्लो दुई वर्ष ऋणात्मक रहेको उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको वृद्धिदर पनि चालु आर्थिक वर्ष धनात्मक रहने देखिएको छ। मूल्यवृद्धि पनि सामान्य अवस्थामा छ।
तैपनि सरकारको पुँजीगत खर्चमा खासै सुधार हुन नसकेको, ब्याजदर उल्लेख्य घटे पनि कर्जा प्रवाह अपेक्षित रूपले नबढेकाले अर्थतन्त्रको समष्टिगत माग खासै बढ्न सकेको छैन। केही नयाँ उद्योगहरू खुले पनि लगानी बढ्न सकेको छैन। अर्थतन्त्रको गति बढाउन थप सुधारका कार्य गर्नुपर्ने छ।
२. के के सूचकांकले अर्थतन्त्रमा सुधार देखाएका छन्?
माथि उल्लिखित केही सूचकांकले अर्थतन्त्र सुधारको दिशामा रहेको देखाउँछ। थप भन्नु पर्दा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म निर्यात ५७.२ प्रतिशतले र आयात ११.२ प्रतिशतले बढेको छ। जब कि गएका दुई आर्थिक वर्ष आयात र निर्यात दुवैको वृद्धिदर ऋणात्मक थियो।
पछिल्लो राष्ट्रिय लेखा तथ्यांकले पनि आर्थिक वृद्धिदरमा सुधार भएको देखाएको छ। शिथिल रहेको कर्जा प्रवाह ७ प्रतिशत भन्दा बढीले बढेको छ। पर्यटक आगमनमा सुधार छ। सेयर सूचकांक पनि अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।
३. के कारणले सुधार भएको हो भन्ने लाग्छ तपाईंलाई? कि एउटा 'बिजनेस साइकल' पार गरेर स्वाभाविक रूपमा आएको सुधार हो यो?
बजार अर्थतन्त्रमा व्यापार चक्र चलिरहेको हुन्छ। बजारमा मूल्य र ब्याजदरले माग र आपूर्तिबीच सन्तुलन ल्याउने काम गरिरहेको हुन्छ।
अर्थतन्त्रका आर्थिक गतिविधिहरू भविष्यको अपेक्षाले पनि प्रभावित हुन्छन्। चालु आर्थिक वर्षको सुरूसँगै दुई ठूला राजनीतिक पार्टी मिलेर संयुक्त सरकार बनाएकाले राजनैतिक स्थिरता कायम हुने अपेक्षाले सकारात्मक प्रभाव पारेको छ। सरकारले तिर्न बाँकी केही भुक्तानी गरेको छ।
अर्कोतर्फ पछिल्ला वर्षहरूमा युवाहरू वैदेशिक रोजगारीमा उल्लेख्य संख्यामा गएको कारण विप्रेषण आप्रवाह उच्च तहमा भइरहेकाले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र ब्याजदरहरू घटेकाले बचतकर्ताहरूले उपभोग बढाउन थालेका र कर्जा प्रवाहमा पनि सुधार भएको छ।
सरकारले आर्थिक सुधारलाई प्राथमिकतामा राखेको स्थिति छ। भारतको भन्सार नीतिले गर्दा नेपालबाट भारततर्फको निर्यातमा सुधार भएको छ। त्यससँगै जोडिएर आयात पनि बढेको छ। लगानी बढाउन केही कानुनहरूमा पनि सुधार गरिएको छ।
४. कुन कुन क्षेत्रमा वा कहाँ कहाँ अझै समस्याहरू बाँकी छन्?
घरजग्गा बजारमा सुधार हुन बाँकी छ। विगतमा उच्च रूपमा घरजग्गाको मूल्य बढेको र खरिद गर्न सक्ने क्षमता अभावले पनि यो बजारमा सुधार हुन सकेको छैन। बढ्दो अन्तर्राष्ट्रिय बसाइँसराइले गर्दा घरजग्गाको माग भन्दा आपूर्ति बढी छ। त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाहरूको समस्या समाधान भइसकेको छैन।
त्यस्ता सहकारी संस्थाहरूमा बचत राखेका बचतकर्ताहरूले आफ्नै पैसा उपयोग गर्न पाएका छैनन् जसले गर्दा माग संकुचित भएको छ। सानो स्तरको कर्जा प्रवाह सहकारी संस्थाहरूबाट हुन्थ्यो तर त्यो पनि सहज भएको छैन। साना व्यवसायीहरूले थप लगानी गर्न सकिरहेका छैनन्। अर्थतन्त्रको समष्टिगत माग अझै पर्याप्त बढ्न नसकेकाले आर्थिक गतिविधि फस्टाउन सकेका छैनन्। कर्जा असुलीमा सुधार हुन बाँकी छ।
यसले गर्दा बैंकिङ प्रणालीको निस्क्रिय कर्जा अनुपात बढ्दै गएको छ। ऋणी असुली कम हुँदा बैंकहरूको गैर बैंकिङ सम्पत्ति बढ्दै गएको छ। बैंकहरूको आम्दानीको स्थिति कमजोर छ। वित्तीय स्थायित्व जोखिममा छ। कर्जा प्रवाह अझै पनि शिथिल छ।
अर्थतन्त्रमा पर्याप्त लगानी बढ्न सकेको छैन। सरकारको पुँजीगत खर्चमा सुधार हुन बाँकी छ। सरकारले गर्नुपर्ने भुक्तानी अझै केही बाँकी छ। निर्माण क्षेत्र पनि पर्याप्त सुधार भएको छैन।
५. यो सुधार क्रमिक रूपले अघि बढ्छ वा दिगो हुन्छ भन्नेमा तपाईंलाई कति विश्वास छ?
अर्थतन्त्र सुधारोन्मुख भए पनि यसलाई दिगो बनाउँदै अघि बढाउन संरचनात्मक सुधारको कार्य अगाडि बढाउँदै अर्थतन्त्रमा माग सिर्जना गर्दै जानुपर्ने हुन्छ। यो गर्न सके मात्र अर्थतन्त्रमा थप सुधार र दिगो हुन्छ। सरकारले आर्थिक सुधार गर्न प्रतिबद्धता जनाएको सन्दर्भमा अर्थतन्त्र निरन्तर सुधार हुने अपेक्षा गर्न सकिन्छ तर प्रभावकारी कार्यान्वयनको खाँचो हुन्छ।
६. अर्थतन्त्रमा देखिएको सुधारलाई थप अघि बढाउन सरकारले के गर्नुपर्छ?
समष्टिगत आर्थिक स्थायित्वका साथै बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदर कम रहेको स्थिति लगानी बढाउन लागि उपयुक्त अवस्था हो। यस्तो अवस्थामा निजी क्षेत्रले लगानी बढाउन सक्ने वातावरण तयार गर्नुपर्छ।
सरकारले सरल र सहज ढंगले लगानी गर्न सक्ने कानुनी र संस्थागत व्यवस्था गर्नुपर्छ। साथै, सही ढंगले पुँजीगत खर्च बढाएर एकैचोटि अर्थतन्त्रमा माग र अर्थतन्त्रको उत्पादन क्षमता बढाउने काम गर्नुपर्छ। समष्टिगत माग कम भइरहेको अवस्थामा अहिले पनि तीन तहको सरकारको करिब ४ खर्ब रूपैयाँ बचत छ।
तीनै तहको सरकारले सही ढंगले उपलब्ध स्रोतको खर्च गर्नुपर्छ र व्यवसाय फस्टाउने वातावरण बनाउनुपर्छ। लागत कम गर्दै निर्यात बढाउने र आयात प्रतिस्थापन गरेर पनि समष्टिगत माग बढाउन सकिन्छ।
बढी भन्दा बढी पर्यटकहरू भित्र्याएर, गैर आवासीय नेपालीहरूलाई स्वदेश फिर्तीको वातावरण बनाएर पनि अर्थतन्त्रमा माग बढाउन सकिन्छ। सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखी सूचना प्रविधिको निर्यात बढाउने काम गर्नुपर्छ। उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएमा अर्थतन्त्रले गति लिन्छ।
विश्व अर्थतन्त्रमा आएको परिवर्तन र छिमेकी देशहरूको आर्थिक नीतिहरूलाई मध्यनजर राख्दै रणनीतिक ढंगले सरकार र निजी क्षेत्र अघि बढ्नुपर्ने आवश्यकता छ।
७. अब सरकार, निजी क्षेत्रले के गर्नुपर्छ? आगामी बाटो के हो?
सरकारले लगानी योग्य वातावरण बनाउनुपर्छ। यसका लागि कानुनी र संस्थागत सुधार र सहजीकरण गर्नुपर्छ।
निजी क्षेत्रमैत्री नियम कानुनहरू तर्जुमा गर्ने वा सो अनुरूप सुधार गर्नुपर्छ। यसको साथै सरकारले अर्थतन्त्रमा उत्पादकत्व र उत्पादन बढाउने गरी भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्दै सक्षम जनशक्ति उत्पादन गर्ने, अनुसन्धानमा आधारित भएर तथ्यगत नीतिहरू निर्माण गर्ने, विनियोजन कुशलता बढाउँदै बजेट कार्यान्वयन प्रभावकारी बनाई पुँजीगत खर्च बढाउने काम गर्नुपर्छ।
त्यस्तै, निजी क्षेत्रले उद्यमशीलता बढाउने, नवीन र सिर्जनात्मक क्षमता बढाउने, बदलिँदो विश्व परिवेशमा निर्यात बढाउने र आयात प्रतिस्थापन गर्ने खालको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ। नियामकीय निकायहरूले वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रमा लगानी प्रर्वद्धन गर्ने गरी नियामकीय नीतिहरू तर्जुमा गर्नुपर्छ।
सरकारको विनियोजन कुशलताको सुधार गर्नेबाहेक वित्तीय प्रणालीले परिचालन गरेको वित्तीय साधनको पनि उत्पादनशील प्रयोग बढाउने गरी बैकिङ क्षेत्र र पुँजी बजार लाग्नुपर्ने हुन्छ। अर्थतन्त्रमा आइरहेको परिवर्तन अनुरूप समस्या समाधान गर्दै आर्थिक वृद्धिदर बढाउने काम नै अबको बाटो हो।
यी पनि पढ्नुस्ः
के अर्थतन्त्र अब सुधारको बाटोमा लागेको हो– चन्द्र ढकालसँग अन्तर्वार्ता
अर्थतन्त्रको यो सुधार अस्थायी हो, दिगो बनाउन धेरै गर्नुपर्छ– पवन गोल्यान
बन्द कोठाभित्र बस्दा अर्थतन्त्र ठप्प नै जस्तो लाग्छ, त्यो सही होइन– डा. गुणाकर भट्ट